
काठमाडौँ– नेपालले दैवीप्रकोप प्रतिकार्यका लागि भन्दै सहयोग संकलन तीव्र पारेको छ। पीडितहरूका लागि राहत र पुनर्वासको टुंगो भने लागेको छैन। सरकारले दैवीप्रकोप प्रतिकार्यका लागि विश्व बैंकसँग १९ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग लिएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७० करोड रुपैयाँ जम्मा भएको छ। यसअघि एक अर्ब ५२ करोड रकम जम्मा रहेको उक्त कोषमा अहिले सहयोग प्राप्त हुने क्रम जारी छ।
मन्त्रिपरिषद् बैठकले बाढीपहिरो पीडितलाई दुई किस्तामा २५/२५ हजार गरी ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। मृतकका परिवारलाई भने २ लाख रुपैयाँ क्षतिपूर्ति दिने क्रम सुरु भएको छ। तर बाढीपहिरो पीडितलाई राहत कहिलेबाट र कसरी दिने टुंगो लागेको छैन।
यसैबीच सरकारले विश्व बैंकसँग १५० मिलियन डलर अर्थात् साढे १९ अर्ब रुपैयाँ दैवीप्रकोप प्रतिकार्यका लागि ऋण लिएको छ। विश्व बैंकको सहयोगले नेपालमा विपद् प्रतिकार्यका लागि काम गर्ने संस्थाहरूको सशक्तीकरण गर्नुका साथै जोखिममा रहेका समुदायको विपद् जोखिमसँग प्रतिरोधका लागि उत्थानशीलता विकास गर्ने बताइएको छ।
संस्थागत सुदृढीकरण, नियामकीय व्यवस्थाका अतिरिक्त अत्यावश्यक पूर्वाधार निर्माणका लागि तयारी बढाइनेछ। ‘क्याटास्ट्रोफिक ड्र डाउन स्किम; अन्तर्गतको ऋण भएकाले तत्काल सरकारले तरलतासमेत प्राप्त गर्न सक्नेगरी विश्व बैंकले ऋण दिएको हो।