बढ्यो दसैँको चहलपहल [तस्बिरहरू]

हिमाल प्रेस २३ असोज २०८१ ११:३५
6
SHARES
बढ्यो दसैँको चहलपहल [तस्बिरहरू] म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिंगेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीय र पृष्ठभूमिमा देखिएको नीलगिरी र अन्नपूर्ण हिमशृंखला। तस्बिर : रासस

काठमाडौँ- नेपालीको महान् चाड दसैँको देशभर चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको भीड लागेको छ। गाउँबाट बाहिर रहेका परिवारका सदस्य घर फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए।

यसैगरी शक्तिपीठहरूका दर्शनार्थीको घुइँचो देखिन थालेको छ। ताप्लेजुङको पाथीभरा, धनकुटाको छिन्ताङदेवी, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई, धनुषाको जानकी, सिन्धुलीको कमलामाई र भद्रकाली, दोलखाको कालिञ्चोक, सिन्धुपाल्चोकको पाल्चोकी, काभ्रेको पलाञ्चोक भगवती, हेटौँडाको भुटनदेवी मन्दिरमा पूजाअर्चना गर्नेको संख्या बढेको छ। यसैगरी राजधानीका चामुण्डा, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भाटभटेनी, शोभाभगती, इन्द्रायणी, कालिकास्थान, बगलामुखी, भद्रकाली र दक्षिणकालीमा बिहानैदेखि श्रद्धालुको लाम लागेको छ।

गोरखाको मनकामना, कास्कीको विन्ध्यवासिनी, बागलुङको कालिका, डोल्पाको त्रिपुरासुन्दरी, बाजुराको बडीमालिका, बाँकेको बागेश्वरीमा नवरात्रिको पहिलो दिनदेखि नै श्रद्धालुको भीड लागेको छ।

बजारमा नयाँ लुगा किन्नेको उत्तिकै चाप देखिन्छ। यसैगरी दसैँका लागि कुखुरा, राँगा, बोका, खसी, च्यांग्रा, हाँसको खरिदबिक्री पनि ह्वात्तै बढेको छ।

दसैँमा काठमाडौँ उपत्यकाबाहिर मासुको खपत बढी हुन्छ। काठमाडौँ उपत्यकाका लागि सरकारले हरेक वर्ष बाहिरी बजार मूल्यभन्दा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्दै आएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा खसीबोका र भेडाच्यांग्रा आइतबारदेखि बेच्न सुरु गरेको छ।

पहाडी क्षेत्रमा रातो माटो र कमेरोले पातेर घरलाई चिटिक्क पार्न थालिएको छ। यसैगरी ठाउँठाउँमा पिङ हालेर मानिसहरू रमाउन थालेका छन्।

नवरात्रको छैटौँ दिन बुधबार बिहान सप्तरीको छिन्नमस्ता मन्दिरमा भक्तजनको भीड।

 

काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन।

 

पोखरा महानगरपालिका–१ जौवारीमा दसैँका लागि मुस्ताङलगायतका हिमाली जिल्लाबाट ल्याएर बिक्रीका लागि राखिएका भेडाच्यांग्रा ।

 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित हटियामा बिक्री गर्न राखिएका दुर्गापूजाका सामग्री।

 

सुनसरीको इनरुवा बजारस्थित एक पसलमा दसैँका लागि कपडा किन्दै उपभोक्ता।

 

काठमाडौँको नयाँ बसपार्कमा बडादसैँका लागि घर जाने यात्रुहरुको घुइँचो।

 

जुम्लाको तातोपानी गाउँपालिका–७ का भेडापालक किसानले दसैँका लागि बिक्री गर्न जुम्ला सदरमुकाम खलंगा बजारमा ल्याएका भेडा खरिद गर्नका लागी छान्दै ग्राहक।

 

जनकपुरधामको रेल्वे स्टेसनमा बडादसैँको अवसरमा आवश्यक सामान खरिद गर्न भारतको जयनगरमा रेल चढेर जान बुधबार बिहान लागेको यात्रुको घुइँचो।

मोरङको सुन्दरहरैँचा नगरपालिका-९ स्थित नागदेवी मन्दिरमा बडादसैँको अवसरमा दुर्गा पूजाका लागि स्थापना गरिएको मूर्ति

तस्बिरहरू : रासस

प्रकाशित: २३ असोज २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast