काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको आकांक्षा पूरा नहुँदा बेचैनी बढाएको बताएका छन्। दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले नारायणहिटी छाडेको दुई दशक पुग्दा पनि जनताको आकांक्षा पूरा हुन नसकेपछि बेचैनी बढेको बताएका हुन्।
उनले भनेका छन्, ‘हामीले नारायणहिटी दरबार छोडेका थियौं। तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ।’
खुसी हुन र रमाउन दसैँ नै पर्खनुपर्ने नियितबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा आफूलाई दुःख लागेको सन्देशमा उल्लेख छ।
उनले नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको औँल्याएका छन्। ‘निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ। हाम्रो गाउँबस्ती र सहरी क्षेत्र युवाशक्ति विहीन बन्दै गहिरहेको छ। आज मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन।’ युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम मुलुकले कहालीलाग्दो अवस्था भोगिरहेको शुभकामना सन्देशमा उल्लेख छ।
उनले भनेका छन्, ‘रोजगारीका निमित्त बिदेसिनुपर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेतबरी मात्र बाँझो तुल्याएको होइन हरेक बाबुआमाको मन पनि काँडाले बिझाएको छ।’
आफूले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धिबाहेक अर्को इच्छा कहिल्यै नराखेको स्पष्ट पार्दै पूर्वराजा ज्ञानेन्द्रले देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने चाहना रहेको बताएका छन्। उनले भनेका छन्, ‘बाह्रय शक्तिराष्ट्रहरुको दबाब र दुष्प्रभाव हामीकहाँ नबढोस्, यो देशमा अरुको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैँ हुनुपर्दछ।’
पूर्वराजाले एकाइसौँ शताब्दीको पहिलो दशकदेखि नै क्षेत्रीय एवम् अन्तराष्ट्रिय तनाव झन् गहिरो हुँदै गएको उल्लेख गर्दै यसको प्रभावबाट नेपाल पनि चोखिन नपाएको औँल्याएका छन्। राष्ट्रराष्ट्रहरुको बीचमा विश्वासको संकट चुलिँदै गएको परिदृष्य प्रस्ट नै छ। भूराजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन।’ यसैगरी उनले महाशक्तिहरु बीचको तनाव र स्वयं घोषित नवशक्तिहरुको अहमता बढ्दै गएकाले यस्तो अवस्थामा नेपाल शान्त राष्ट्रका रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने आफ्नो मान्यता र आग्रह रहेको सन्देशमा लेखेकमा छन्।