काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालले माल्दिभ्सलाई पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ तथा तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा नेपाल श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ सेटमा पराजित भएको थियो। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ। माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो।
विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ। अब नेपालले यही असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ। रासस