
काठमाडौँ- सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा आर्थिक सुधारका लागि सुझाव पेश गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले खनालको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, सर्वांगीण विकास अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धाता डा. कल्पना खनाल सदस्य रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले अर्थतन्त्रको संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसबारेमा अध्ययन गर्न आयोग बनाउने घोषणा गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको सरकारको एक सय दिने कार्ययोजनामा पनि आयोग बनाउने विषय समावेश गरेका थिए । सरकारले आर्थिक सुधारका लागि अध्ययन गर्न गठन गरेको आयोगमा निजी क्षेत्रका प्रतिनिधि सहभागी छैनन् । आयोग गठन गर्ने विषय सय दिने कार्ययोजनामा समावेश हुँदा निजी क्षेत्र जति उत्साहीत थियो आयोग गठनमा निजी क्षेत्र नसमेटिदाँ खल्लो महशुष गरेको निजी क्षेत्रका छाता संस्थाहरूले उल्लेख गरेका छन् ।
खनाल संयोजकत्वको आयोगले विभिन्न सरोकारवालाहरूसँग छलफल र परामर्श गरी सरकारलाई सुझाव दिने बताइएको छ ।