२०८१ का चर्चित दसैँगीत

सुस्मिता बजगाईं २६ असोज २०८१ ६:४५
22
SHARES
२०८१ का चर्चित दसैँगीत

काठमाडौँ– बडादसैँमा गाउँ फर्किने, परिवार, साथीभाइ भेटघाटले छुट्टै हर्ष ल्याउँछ। त्यस्तै घटस्थापनादेखि बझ्ने मालाश्री धुनले मानिसलाई दसैँको उमंगले छुन्छ।  गायक, गीतकार तथा संगीतकारलाई भने तीज सकिएलगत्तै दसैँको गीत रेकर्ड र तथा म्युजिक भिडियो बनाउन भ्याइनभ्याइ हुन्छ। युट्युब र टिकटक दसैँका नयाँ तथा पुराना गीतले भरिएको छ।

सुगम पोखरेलले पनि लामो समयपछि नवमी एल्बममा समावेश ‘सबैको हुन खोजेर’ बोलको दसैँगीत सार्वजनिक गर्ने तयारीमा छन्। उनको ‘दसैँ आयो’ बोलको पुरानो गीत चर्चित बन्यो। विगतझैँ उनको गीत कालजयी हुने हो होइन त्यो हेर्न भने बाँकी छ। तर प्रायः दर्शकलाई भने पुरानै गीतले दसैँको मौलिकपनलाई झल्काएको आभास गर्छन्।

यस वर्ष हेमन्त शर्मा, पुरुषोत्तम पौडेल, उग्रेन दोङ, मेलिना राई, सुनिता बुुढा क्षेत्री, विष्णु माझीलगायत गायकगायिकाका दसैँ गीत चर्चित बनेको छ। पीडाबोधभन्दा पनि दसैँमा गाउँमै रमाइलो हुने भन्ने सन्देश दिन खोजेका गीत श्रोतादर्शकको रोजाइमा परेका हुन्।

आउँथ्यो दसैँ

हेमन्त शर्मा र मेलिना राईको स्वरमा रहेको ‘आउँथ्यो दसैँ’ यस वर्षको चर्चित दसैँ गीत बन्न सफल भएको छ।  दसैँ आएको खुसी समेटिएको गीतको भिडियोमा हेमन्त शर्मा, रजनी गुरुङ, डोना थापामगर, लहना चिमोरिया र एलिसा राईको अभिनय छ। मोसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको गीत पवन सुसलिङको छायांकन र अमृत चापागाईंको सम्पादन छ।

हेमन्त शर्माकै शब्द र संगीत रहेको गीतमा राकेश सोनीको संगीत संयोजन छ। श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो।

आयो है दसैँ आयो

‘आयो है दसैँ आयो’ बोलको दोस्रो गीत चर्चित बनेको छ। विदेशबाट पाँच वर्षपछि नेपाल आउन पाउँदाको खुसी समेटिएको छ। पुरुषोत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा शिव पौडेल र नेत्रप्रसाद काफ्लेको शब्द छ। गायक पौडेलले नै संगीत भरेको गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन छ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका छन्। कपिल लामाको निर्देशन, करण चैसिरको छायांकन, शिव पौडेलको सम्पादनमा बनेको छ। वर्षौँपछि परिवारका सदस्य दसैँमा घर आउँदाको हर्ष समेटिएको गीतको भिडियोमा विमल अधिकारी, जुना विश्वकर्मा र नेत्रप्रसाद काफ्लेले नृत्य छ।

दसैँ लाग्यो

उग्रेन दोङको स्वर र संगीतमा यस वर्ष ‘दसैँ लाग्यो’ बोलको गीतले पनि चर्चाको तेस्रो नम्बरमा छ। गायक उग्रेन र र्‍यापर चर्चितको शब्द रहेको गीतलाई दर्शकले रुचाएका छन्। गीतमा उग्रेनको संगीत संयोजन छ।

विजय दोङले निर्देशन गरेको गीतको भिडियोमा दुर्गा लामा मोक्तान, पासाङ लामा। लक्की लामा मनिला राना, विजय दोङ, निमा लामा र सहदेव तामाङको अभिनय छ। दसैँमा मदिरासेवन गरेर रमाइलो गर्ने युवापुस्ता लक्षित गीतलाई १४ लाख ३४ हजार दर्शकले रुचाएका छन्।

दसैँ रमाइलो

राजेश पायल राई र मेलिना राईको स्वरमा सार्वजनिक ‘दसैँ रमाइलो’ बोलको गीत चर्चाको चौथो नम्बरमा छ। धनबहादुर कार्कीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतमा श्यामश्वेत रसाइलीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ छ।

गीतमा परदेशी घर फर्किएको, वर्खे झरी सकिएको, सयपत्री मुस्कुराएको प्रकृतिक सौन्दर्यको वर्णन गरिएको गीतले ९ लाख भन्दा बढि भ्युज बटुल्न सफल भएको छ।

भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज वलीको नृत्य छ। जेरी भण्डारीको निर्देशन र कोरियोग्राफी रहेको भिडियो भूपेन्द्र अधिकारीको सम्पादन, करण सिंह चैसिरको छायांकनमा बनेको छ।

परदेशी मेरो परदेशी

विष्णु माझी र सुन्दरमणिको स्वरमा यसवर्ष ‘परदेशी मेरो परदेशी’ बोलको गीत पाँचौ स्थानमा छ। गीतलाई ७ लाख १७ हजार दर्शकले रुचाएका छन्।

परदेशीलाई देश फर्किन आवहान गरिएको गीतमा सुन्दरमणिकै शब्द र संगीत छ। रागा स्टुडियोमा रेकर्ड गरिएको गीतको सारंगीमा धर्म गन्धर्व, बाँसुरीमा गोपालदेव घतानी, सहनाइमा शिशिर परियार, मादलमा लडक बुढा, ढोलक, तबला र धिमीमा भुवन गन्धर्व छन्।

आयो दसैँ तिहार

समीर खरेलको स्वर रहेको ‘आयो दसैँ तिहार’ बोलको गीतले पनि चर्चा पाएको छ। परदेसिएका दाजुभाइको दसैँको सम्झनालाई समेटेर तयार पारिएको गीतमा धनबहादुर कार्कीको शब्द छ। गीतमा गाय समीरले नै संगीत भरेका छन्। गीतमा दीक्षित पौडेलको संगीत संयोजन छ।

चर्चित टेलिसिरियल ‘सीता’ कलाकारहरुले अभिनय गरेको गीतको भिडियोमा सुनिशा बजगाईं, बालकृष्ण ओली, सुवास सुवेदी, सामिया कार्की, कृष्ण ढुंगाना, गोमा न्यौपाने र बाल कलाबार श्रीयान बोहोराको अभिनय छ।

भिडियो स्विमा ढकालको कोरियोग्राफी रहेको गीतको भिडियो विष्णु बुढाथोकीको निर्देशन, ओम खड्काको सम्पादन, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकनमा बनेको छ। गीतले करिब ७ लाख भ्युज बटुल्न सफल भएको छ।

दसैँतिहार आउँदा गाउँ घरै मज्जा

पशुपति शर्मा र सुनिता बुढा क्षेत्रीको ‘दसैँतिहार आउँदा’ गीतले दर्शकले रुचाएका छन्। गीतले दसैँतिहारमा गाउँघरमै मज्जा हुने खुसी व्यक्त गरिएको छ। नेत्र अर्यालको शब्द, रोशन परियारको संगीत, महेन्द्र भण्डारीको संगीत संयोजन छ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा विमल अधिकारी, जुनु एसडी, दिव्यानी ओली, तेजेन्द्र गौतम र बाल कलाकार रश्मि परियारको अभिनय गरेका छन्।

भिडियो स्मृति तिमल्सिना गुरुआमाको निर्देशन, सुरेश श्रेष्ठको छायांकन र विकास ज्ञवालीको सम्पादनमा बनेको छ। गीतको भ्युज ५ लाख छ।

गाउँ फर्क परदेशी

प्रमोद खरेलको स्वरमा सार्वजनिक ‘गाउँ फर्क परदेशी’ यस वर्ष चर्चित बनेको छ। ऋषि खड्काको शब्द र संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ।

आशिरप्रताप जंगले निर्देशन, अमृत चापागाईंको सम्पादन, राम केसी एन्ड टिमको छायांकनमा बनेको गीतको भिडियोमा आशिरप्रताप र स्मारिका ढकालको अभिनय छ। गीतमा चाडबाडमा घर फर्किन नपाएको परदेशीको पीडालाई प्रस्तुत गरिएको छ। गीतले तीन लाख १० हजार भ्युज पाएको छ।

आयो हाम्रो दसैँ यो राम्रो दसैँ

हिमाल सागर र मेलिना राईको स्वरमा सार्वजनिक ‘आयो हाम्रो दसैँ यो राम्रो दसैँ’ यसवर्षको चर्चित मध्ये एक हो। विमल अधिकारीको शब्द र संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ।

दसैँको शुभकामना र उमंग समेटिएको गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो। प्रशान्त मगरको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा विमल अधिकारी, उसा उप्रेती र सविन क्षेत्रीको अभिनय छ। गीतले ३ लाख भन्दा ८ हजार भ्युज बटुलेको छ।

शुभकामना दसैँकाे

पशुपति शर्मा, वसन्त थापा, कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक ‘दसैँको शुभकामना’ बोलको गीत हो। सूर्य न्यौपानेको शब्द र संगीतमा बनेको गीतमा एचबिएन किस्मतको संगीत संयोजन छ।

मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको गीत्को भिडियोमा गायक वसन्त, कुलेन्द्रसहित लोमस शर्मा, रजनी गुरुङ, नारायणी खत्री र जुना विश्वकर्माको नृत्य छ। करण चैसिरले छायांकन गरेको भिडियो नवीन घर्तीमगरले सम्पादन गरेका छन्। गीतले दुई लाख ९५ हजार भ्युज बटुलेको छ।

प्रकाशित: २६ असोज २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =