खुर्कोट पुगेर गृहमन्त्री लेखकले भने : बीपी राजमार्ग चाँडै खुल्छ

हिमाल प्रेस २२ असोज २०८१ १३:०६
14
SHARES
खुर्कोट पुगेर गृहमन्त्री लेखकले भने : बीपी राजमार्ग चाँडै खुल्छ

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढीपहिरोका कारण अवरूद्ध बीपी राजमार्ग चाँडै सञ्चालमा आउने बताएका छन्।

बाढीपहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा मंगलबार बिहान सिन्धुलीको खुर्कोट पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले बाढीपहिरोका कारण अवरूद्ध बीपी राजमार्ग आगामी एक साताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुुने बताए।
गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपीराजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि परेको उल्लेख गरे।

‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ,’ उनले भने,‘यहाँका अवरूद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठूलो भूमिका देखिएको छ। यो राजमार्ग चाँडै सञ्चालनमा आउँछ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

‘यो समस्यामा कहाँ जाउँला? के गरूलाँ? यो नसोच्नुहोला,’ गृहमन्त्री लेखकले भने,‘सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो। समस्या समाधानका लागि सरकार लागि परेको छ।’

विपद्को समस्या सबै मिलेर समाधान गर्न उनले आग्रह गरे। लेखकले भने,‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन। तीनवटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नुपर्छ।’

गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्रहीहरूको विवरण पठाउन आग्रह गरे।

‘लाभग्रहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रू.१५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार उपलब्ध गराउने निर्णय भइसकेको छ,’ उनले भने,‘त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरूले चाँडो लाभग्रहीको विवरण पठाइदिनुपर्‍यो।’

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेको छ।

प्रकाशित: २२ असोज २०८१ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =