‘अझै बढ्छ’ तरकारीको भाउ

हिमाल प्रेस २२ असोज २०८१ १६:४५
18
SHARES
‘अझै बढ्छ’ तरकारीको भाउ

काठमाडौँ- काठमाडौँमा हरियो तरकारीको भाउ दोब्बर बढेको छ। दुई साताअघिको तुलनामा तरकारीको मूल्य दोब्बर बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिएका हुन्। उनी तरकारी भाउ अझै बढ्ने बताउँछन्।

ब्रोकाउली, स्थानीय काउली, तने बोडी, डल्लो भाण्टा, भेडे खुर्सानीलगायत तरकारीको भाउ बढेको छ। दुई साताअघि केजीको ६० रुपैयाँमा पाइने तरकारी अहिले ११० रुपैयाँमा बिक्री भइरहेको श्रेष्ठले बताए। काउली, तुनेबोडी, पालुंगो सागको भाउ केजीमा ६० देखि ७० रुपैयाँसम्म बढेको छ। यी तरकारीको भाउ प्रतिकेजी १४० देखि दुई सय रुपैयाँसम्म पुगेको छ। दुई साताअघि काउली, तुनेबोडी, पालुंगो साग प्रतिकेजी क्रमशः ५०, ७० र ९५ रुपैयाँमा बिक्री भएको थियो।

यसैगरी गालभेडा, भिण्डी, भटमासकोसाको भाउ केजीको क्रमशः ७०, ७५, ११० रुपैयाँ रहेकोमा ४०/४० रुपैयाँका दरले बढेको श्रेष्ठले बताए। उनका अनुसार हरियो साग प्रतिकेजी २२० रुपैयाँमा बिक्री भइरहेको छ। भेडे खुर्सानीको भाउ केजीमा ८६ रुपैयाँले बढेको छ। दुई साताअघि केजीको १९० रुपैयाँमा पाइने भेडे खुर्सानीको भाउ अहिले २७६ रुपैयाँ पुगेको छ।

प्रतिकेजी ६५ रुपैयाँ रहेको डल्लो भाण्टाको भाउ ३० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ। दुई साताअघि धार्नीको १५० रुपैयाँ रहेको आलु २२० रुपैयाँ पुगेको छ। समितिका अनुसार बाढीपहिरोका कारण ५२ प्रकारका तरकारी र फलफूलको मूल्य धेरै बढेको छ। गान्टे मूला, कागती, तरबुजा (हरियो), भुइँकटहर, काँक्रो (लोकल), नासपाती (चाइनिज), किबी, अदुवा, हरियो खुर्सानी, हरियो धनियाँलगायतको मूल्य बढेको छ।

मकै बोडी, घिउ सिमी, टाटे सिमी, तिते करेला, लौका, चिचिन्डो, घिरौँला, फर्सी, बन्दा, सखरखण्ड, बरेला, पिँडालु, प्याज हरियो, च्याउ, कुरिलो, सेलरी, पुदिनाको पनि मूल्य बढेको छ। काठमाडौँको बजारमा दैनिक ७ सय टन हाराहारीमा तरकारीको माग छ।

अहिले जसोतसो दुई टन मात्र भित्रिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। थोरै तरकारीले बजार धान्नुपरेका कारण पनि मूल्य बढेको उनले बताए। ‘बजारमा धेरै तरकारी अभाव भयो। उपत्यकाभित्रकै तरकारीले अहिले बजार धानेको छ। तरकारीको भाउ केही दिन अझै बढ्छ’, उनले भने।

कालीमाटीमा असोज ११ गतेअघि दैनिक पौने ६ सय टन तरकारी भित्रिन्थ्यो। १२ को बाढीपहिरोपछि दैनिक दुई टन भित्रिइरहेको समितिले जनाएको छ। असोज २० गतेयता १ सय ९१ टन हाराहारीमा मात्रै तरकारी भित्रिएको समितिले जनाएको छ।

प्रकाशित: २२ असोज २०८१ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =