कलाकारको दसैँ योजना : परिवारसँगै रमाउने

सुस्मिता बजगाईं २५ असोज २०८१ ७:००
12
SHARES
कलाकारको दसैँ योजना : परिवारसँगै रमाउने

काठमाडौँ– वर्ष दिनको ठूलो चाड दसैँमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, परिवार, साथीभाइ, आफन्त भेट्ने रहर कसलाई पो हुँदैन् र! भ्याएसम्म विजयादशमीअघि नभ्याए दशमीपछि पनि टीका लगाउन प्रायः मानिस आफन्तकहाँ पुग्छन्।

विगतझैँ यस वर्ष पनि दसैँको चहलपहल बढिसकेको छ। रोजगारी, अध्ययन व्यवसायका क्रममा सहर बस्नेहरु गाउँ फर्किएका छन्। केही साताअघिको बाढीपहिरोले कतिपयको घर जाने सपना अधुरो रह्यो। तैपनि उपत्यकामै नजिक भएका आफन्तसँग दसैँ मनाउने कतिको योजना छ।

त्यसो सबैको दसैँ मनाउने योजना फरकफरक हुन्छन्। व्यस्त दैनिकीले सेलिब्रेटीहरूको त झन् दसैँ मनाउने टुंगो नै हुँदैन। केही सांगीतिक कार्यक्रममा देशविदेशतिर व्यस्त छन्। केही दसैँ विशेष प्रदर्शन हुने फिल्मको प्रचारप्रसारमै व्यस्त देखिन्छन् त केही भने जसरी पनि परिवारसँग दसैँ मनाउँछन्, नयाँ ठाउँ घुम्न रुचाउँछन् र कामको बोझबाट मुक्त हुन चाहन्छन्। केही कलाकारले कसरी दसैँ मनाउँदै छन् त? उनीहरूकै शब्दमा :

राम भजन कामत (कलाकार)

यस वर्ष उपत्यकामै दसैँ मनाउनेछु। भाइ बितेकोले टीका लगाउँदैनौँ। प्लेन टिकट मिल्यो भने घर (मोरङ) मा बाआमालाई भेट्ने जाने योजना छ। टिकट पाउनै मुस्किल छ। दसैँ बढी बच्चाहरुका लागि रमणीय हुने भएकाले छोराछोरीसँगै रमाइलो गर्नेछौँ।

वर्षभरिको थकान मेटाउने समय हो यो। यतै रहेका साथीसँग भेटघाट रमाइलो गर्नेछाैँ। बिदा पनि छठसम्मै हुन्छ। हामी तराईबासी दसैँतिहारभन्दा बढी छठमा रमाइलो गर्छौँ। त्यसबाहेक छठपछि एउटा नाटक गर्ने योजना छ। त्यसैको तयारीतिर लागिन्छ होला।

लोनिभा तुलाधर (कलाकार)

म जन्मिएकै काठमाडौँमै हो। दसैँमा उपत्यका खाली हुन्छ। नीलो अनि खुलेको आकाश, खुला सडक, नो ट्राफिक जाम। प्रकृति पनि छुट्टै देखिन्छ। शान्त वातावरण मन पराउने मलाई दसैको मौसम निकै रमाइलो लाग्छ।

हाम्रो दसैँ मनाउने तरिका अलि फरक हुन्छ। मान्यजनले बोलाएको ठाउँमा टीका लगाउन जान्छौँ। हाम्रो निम्तो गनुपर्छ। हामी दसैँमा नखत्या पनि मनाउछौँ। परिवार जम्मा भएर कतै जाने पिकनिकजस्तो अनि रमाइलो गर्ने।

दुईवटा फिल्म ‘बेहुली फ्रम मेघौली’ र ‘ज्वाइँ साप’ प्रदर्शनमा छ। परिवार लिएर जाउँला भन्ने योजना छ तर अहिले डेंगीले सताएर नरमाइलोजस्तो लागिरहेको छ।

सुधाम सीके (नाट्यकर्मी तथा निर्देशक)

दसैँको उमंगसहित काम सक्काएर घर(धादिङ) पुगिसकेँ। बल्ल आराम पाएजस्तो लाग्छ। उपत्यका फर्केपछि फेरि कामको चटारो सुरु हुन्छ। दसैँ बिदामा परिवारसँगै गाउँमै बस्छु। आमालाई काममा सघाउँछु। मामाघर जाने र गाउँ घुम्ने तयारी छ। साथीभाइ त भेटघाट भइहाल्छ।

प्रियंका कार्की (अभिनेत्री)

दसैँ परिवारसँगै मनाउने हो। काठमाडौँ हुन्छु। अन्य कुनै कार्यक्रम र घुम्न जाने योजना छैन। दसैँमा परिवारबाहेक अरू कुनै योजना हुँदैन मेरो। परिवारलाई समय दिने हर्षले पर्व मनाउने हो।

एलिना चौहान (गायिका)

सांगीतिक कार्यक्रम र पारिवारिक भेटघाटमै बित्छ मेरो दसैँ। टीकाको अघिल्लो दिनसम्म कार्यक्रममै व्यस्त छु। त्यही दिन कार्यक्रम सकेर घर (बागलुङ) जान्छु। घरमा टीका लगाएर भोलिपल्ट माइती झापा जान्छु। त्यसै दिन राति झापामा पनि कार्यक्रम छ। दसैँमा पारिवारिक भेटघाट र कार्यक्रममै बित्छ समय।

सुरज पण्डित (गायक)

यस वर्ष दसैँ पोखरामा मनाउने योजना छ। ससुरालीघरमा। पोखराको रमणीय वातावरणसँग घुलमिल गर्दै। पहिरोको कारण घर जान सक्ने अवस्था छैन। आफन्त भेटघाट र रमाइलोमै बित्नेछ।

प्रकाशित: २५ असोज २०८१ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =