‘ज्वाइँ साब’ मा मध्यमवर्गीय युवकको भूमिकामा छु : हिमेश पन्त

हिमाल प्रेस २२ असोज २०८१ ११:३३
4
SHARES
‘ज्वाइँ साब’ मा मध्यमवर्गीय युवकको भूमिकामा छु : हिमेश पन्त

काठमाडौँ- कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट उदाएका कलाकार हिमेश पन्त यही बिहीबार फूलपातीदेखि प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन्। डेब्यु फिल्म ‘वर एन्ड बधु’ पछि हिमेशको यो दोस्रो फिल्म हो।

‘वर एन्ड बधु’ मा अनुबन्धित भएपछि बीचको केही समय उनी राजनीतिमा आबद्ध भए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व गर्दै उनी धादिङबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार नै भए । तर उनले चुनाव जित्न सकेनन्।

‘राजनीतिमै हुँदा मलाई फिल्मको अफर आएको हो। उहाँहरुले ‘तपाईं त राजनीतिमा हुनुहुन्छ, अब फिल्म गर्नुहुन्न कि के छ? कमव्याक हुने कि नहुने? भनेर सोध्नुभयो। मेरो चाहना कमेडीमा कमब्याक  हुने नै थियो। फिल्म भनेको त ठूलो पर्दाको कुरा भयो। केही सो गर्ने पनि योजना थियो। अहिले कमेडी दरबार गरिरहेको छु। यही क्रममा ‘ज्वाइँ साब’ को कुरा आयो र फिल्ममा जोडिएँ’, हिमेश भन्छन्।

‘ज्वाइँ साब’ आफ्नो लागि फरक रहेको हिमेशको बुझाइ छ। ‘ज्वाइँ साबको स्क्रिप्ट पढ्दा हाँसेको हाँसेकै भएँ। फिल्मले राम्रै गर्ला जस्तो महसुस भएर यसमा जोडिएँ। ज्वाइँ साबको जस्तो कथा मैले यसअघि सुनेको थिइनँ र कथा कमेडी क्रिएट गर्ने किसिमको छ। कमेडीमा फर्मुला हुन्छ तर यसमा अलिकति बढी केही निस्कियो भने त्यसले कमेडी क्रिएट गर्छ’, उनले भने।

हिमेशका अनुसार फिल्ममा उनी ‘घने’ क्यारेक्टरमा छन्। ‘घनेसँगै जितु नेपाल दाई, बुद्धि तामाङको पारिवारिक पृष्ठभमि फरक हुन्छ। त्यो पात्र विदेश जाने सोच बनाउँछ, तर जाँदैन। उसको मिसन नै फरक हुन्छ। मैले मध्यम वर्गीय परिवारको अनेक समस्या भोगेको युवकको भूमिकामा छु’, हिमेश भन्छन्।

फिल्मको ट्रेलरमा हिमेशले ज्वाइँ बन्नका लागि अन्य कलाकारसँगै प्रतिष्पर्धा गर्छन्। उनले ज्वाइँ बन्न निकै संघर्ष गर्नु परेको खुलाए। तर वास्तविकतामा भने त्यस्तो संघर्ष अहिलेसम्म गर्नु नपरेको उनले बताए। ‘म आफ्नो फिल्डमा केही न केही राम्रै गरिरहेको मान्छे हुनाले सजिलो पनि छ। प्रस्तावहरु पनि टन्नै आउँछ। म आफैं त्यसमा जान चाहन्नँ । काममा फोकस छु’, उनी भन्छन्।

हिमेश कमेडी पछि एक्सन फिल्म गर्न चाहन्छन्। ‘कमेडीबाहेक मलाई एक्सन जनरामा सुट गर्छ जस्तो लाग्छ। मैले फिल्म ‘शमशेर’ मा अनुहारको आधा भाग चलेको क्यारेक्टरमा अभिनय गर्न साइन गरेको थिएँ तर फिल्म बनेन्। मेरो चासो एक्सनमा पनि छ’, उनी भन्छन्।
हिमेशलाई फिल्ममा ‘हिरो’ अथवा ‘लिड क्यारेक्टर’ मा काम गर्ने इच्छा छ। ‘अहिले तुरुन्तै भन्ने छैन। कामको अनुभव लिएपछि भविष्यमा म आफूले बबालै गर्न सक्छु भन्ने लागे पछि मात्र हिरो अथवा लिड क्यारेक्टरमा काम गर्छु’, उनी भन्छन्।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २२ असोज २०८१ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =