
काठमाडौँ- असोज शुक्ल पञ्चमी आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ।
स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यिनलाई स्कन्दमाताका नामबाट पुकार्ने गरिन्छ।
चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख छ।
आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ। –रासस
प्रकाशित: २२ असोज २०८१ ६:३८
प्रतिक्रिया