चाडपर्वमा भाडा बढाउँदैनौं : यातायात व्यवसायी

हिमाल प्रेस २१ असोज २०८१ २०:१३
8
SHARES
चाडपर्वमा भाडा बढाउँदैनौं : यातायात व्यवसायी

पोखरा – चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिने विषयमा यातायात व्यवसायी सहमत भएका छन्।

प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकमा गण्डकीका यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन्।

बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए।

यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारी साधनले यात्रु टिकट अनिवार्य काट्नुपर्ने, उपभोक्ताको अधिकारलाई ध्यान दिएर व्यवसायिक मूल्य–मान्यतालाई कायम गर्दै तोकिएको भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सेवालाई प्रभावकारी बनाउने, यातायात कार्यालयले आ–आफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने निर्णय बैठकले गरेको छ।

विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय बैठकले गरेको मन्त्री केसीले बताए।

बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने समस्या रहेको र प्रदेश सरकारका संरचना आफ्नो कार्यक्षेत्रभित्र रहेर त्यसलाई समाधान गर्न चाडपर्वको अवधिमा पनि सक्रिय रहने मन्त्री केसीले बताए। बढी भाडा लिने, भनेअनुसार भाडा नदिए गन्तव्यसम्म नलैजाने गरेर दुःख दिने काम यातायात व्यवसायीबाट भएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेलले राजमार्गमा खाल्डाखुल्डी धेरै रहेकाले त्यसलाई समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गरे। कम जनघनत्व भएका ठाउँमा गाडी चलाउँदा निकै घाटा रहेको भन्दै उनले सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने बताए।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बाढीपहिरोजस्ता दुर्घटनाले पछिल्ला दिनमा बसमा यात्रुको चाप कम रहेको सुनाए। उनले चालक तथा सहचालकलाई प्रशिक्षण, समय–समयमा अनुगमन, सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रमुख एसपी जनकबहादुर शाहीले लामो दूरीमा २ जना चालक अनिवार्य राख्नुपर्ने बताए। उनले आफूहरुले चालक राखे/नराखेको विषय कडाइका साथ अनुगमन गर्ने सुनाए।

एसपी शाहीले लामो दूरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण गर्न यातायात व्यवसायीलाई सुझाव दिए। उनले कुनै सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न आग्रह गरे।

प्रकाशित: २१ असोज २०८१ २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =