काठमाडौँ- गत वर्ष नै निर्माण घोषणा गरिएको फिल्म ‘मायाका रङहरु’ को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन्।
निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो। ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष फिल्ममा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो।
अभिनेता राउतको जन्मदिनको अवसरमा सोमबार फर्स्टलुक पोस्टरसहित फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको हो। यसअघि फिल्मको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरु अनुबन्धित भएका थिए। निर्माण टिमले उनीहरु फिल्ममा हुने, नहुनेबारे कुनैपनि जानकारी दिएको छैन। डेव्यु निर्देशक केवल तामाङकाअनुसार फिल्म पूर्ण रुपमा नयाँ शिराबाट निर्माण गर्न लागिएको छ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ। पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
सिनेमाको सह–निर्मातामा आरबी थाङदेन, जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन्। तिहारपछि छायांकनको तयारीमा रहेको फिल्म नयाँ वर्ष २०८२ मा प्रदर्शन गर्ने टिमको तयारी छ।