काठमाडौँ- रामेछाप मन्थलीका उमेश कार्की बेरोजगारी र आर्थिक समस्या भएपछि दसैँको मुखमा वैदेशिक रोजगारीमा जानुपरेको बाध्यता सुनाउँछन्। दसैँ मनाउन नपाए पनि परिवारको भविष्यबारे सोचेर आफू रोमानिया हिँडेको उनले बताए। ‘आवेदन दिएको सात महिनापछि दसैँकै बेला भिसा आयो। बल्लबल्ल भिसा आएपछि कहाँ दसैँ भनेर बस्नु?’ त्रिभुवन विमानस्थलमा आइतबार भेटिएका उनले भने।
स्याङ्जा वालिङका विकास कुँवर यूएईतर्फ लागेका भेटिए। सुरक्षा गार्डमा काम गर्न हिँडेका कुँवरले अवसर गुम्छ भनेर दसैँ पनि नभनी विदेशतर्फ लागेको बताए। ‘दसैँकै बेला भिसा आयो। दसैँ त अरू बेला मनाउँदा हुन्छ भनेर परिवार छाडेर बिदेसिएको हुँ। देशमा केही गर्ने वातावरण छैन’, उनले भने, ‘कतारबाट फर्किएर देशमै केही गर्छु भनेर होटलदेखि किराना पसलसम्म गरेँ। नेपालमा जे गरे पनि नहुँदो रहेछ। त्यही भएर फेरि वैदेशिक रोजगारीमा हिँडेको हुँ।’
काभ्रे पाँचखालका जितेन्द्र सापकोटा अधिकांश नेपालीलाई दसैँ लागिरहेका बेला आफू भने देश छाड्नुपरेको बताउँछन्। उनले वैदेशिक रोजगारीमा माल्टा जान लागेको बताए। ‘तीन वर्ष तरकारीखेती गर्दा पनि केही प्रगति भएन। कुखुरापालन गरे बिचौलिया धनी भए। म ऋण तिर्ने बिदेसिनुपरेको छ’, उनले भने।
उनीहरुजस्तै अचेल दैनिक एक हजार पाँच सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। यसैगरी अध्ययनका लागि दैनिक तीन सयभन्दा बिदेसिरहेका छन्। दसैँ अवधिका लागि २० हजारभन्दा बढी श्रम स्वीकृति जारी भएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए।
गत वर्ष दसैँको बेला २५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए। दसैँजस्तो चाडपर्वमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति दुई–दिन रोक्नुपर्ने बिदेसिने कामदारले आवाज उठाउँदै आएका छन्।
दसैँ मनाउन विभिन्न देशबाट स्वदेश फर्कने र परिवारबाट बिछोडिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बराबारी रहेको सुवेदी बताउँछन्। ‘दसैँको टीकाको दिनसमेत नेपाली वैदेशिक रोजगारीमा जान्छन्। भिसा लागेर उडान टिकट लिएपछि जानुपर्ने अवस्था हुन्छ’, उनले भने।
चालु आर्थिक वर्षको भदौमा ५७ हजार ४९३ नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ। साउनमा ६० हजार विदेशिएका थिए। असोजको १८ गतेसम्म ४२ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।