चाडपर्व नजिकिएपछि बिग्रिएका सडक मर्मत तीव्र बनाउँदै स्थानीय तह

हिमाल प्रेस २१ असोज २०८१ १०:४४
16
SHARES
चाडपर्व नजिकिएपछि बिग्रिएका सडक मर्मत तीव्र बनाउँदै स्थानीय तह सडक

बागलुङ- चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतलाई तीव्र बनाएका छन्। वर्षामा बाढीपहिरोका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन्।

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिका मुकाम जोड्ने स्थानीय सडक मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले बताए।

‘दसैँमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउँदैछौँ’, उनले भने,‘हामीले सबै वडामा काम थालेका छौँ, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको काम भइरहेको छ।’

जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा–सरङ्गे खण्ड बिग्रिएका ठाउँमा मर्मतको काम सकेको छ। बरेङ गाउँपालिकाले पनि दसैँ लक्षित सडक मर्मतको काम थालेको छ। हरेक वर्ष बर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि मर्मतको काम थालेको हो।

‘खहरे खोलाले खोलेका ठाउँमा सवारी चल्नै नसक्ने अवस्था छ, कच्ची सडक भलबाढीले क्षतविक्षत बनाएको छ’, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘चाडबाडका बेला नागरिकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौँ।’

काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख बजेट दिएर सडक मर्मत गर्न लगाएको छ। वडाले नै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्यायोजन गरेको हो।

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ। नगरपालिकासँग जोडिएका,अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ।

यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाट समेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरोमा सडक खुलाउने विषयमा प्रदेश सरकारसँग सहकार्य भइरहेको नगरले जनाएको छ। चार वर्षअघि खसेको पहिरो नरोकिँदा हरेक वर्ष बागलुङ–कुश्मिशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ।

प्रकाशित: २१ असोज २०८१ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =