बाढीपहिरो प्रभावित काभ्रेको बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै,सडक अवरुद्ध

हिमाल प्रेस २१ असोज २०८१ ७:०९
36
SHARES
बाढीपहिरो प्रभावित काभ्रेको बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै,सडक अवरुद्ध

काभ्रे- गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत राहत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत राहत सामग्री पठाउन थालेको हो। आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँको भनाइ छ।

उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको राहत सामग्री पठाइनेछ। भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो।

बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हो।

त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ। आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने छ।

पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो। सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म राहत सामग्री ढुवानी गर्न सकिनेछ।

प्रकाशित: २१ असोज २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =