
सप्तरी- केही दिन अगाडिको बाढीले घरविहीन भएका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ। खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले समस्यामा परेका छन्।
कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाको शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको गुनासो छ।
कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्युबेलको पानी खाने गरेका छन्। पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ। सदाको भनाइ छ,‘बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हुँदा खाने कुरा छैन। चर्को घाममा खुला ठाउँमा बसेका छौँ।’
कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढीपीडितको बिचल्ली भएको छ। हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढीपीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताए।
तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन्।
बाढीपीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उनले बताए।