एनपीएल : सबै टिमले छान्यो १०-१० खेलाडी (कुन टिममा को परे?)

हिमाल प्रेस २० असोज २०८१ २२:५६
20
SHARES
एनपीएल : सबै टिमले छान्यो १०-१० खेलाडी (कुन टिममा को परे?)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का सबै आठ टिमले १०–१० खेलाडी पाएका छन्। आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने एनपीएलका लागि आठवटा टिमले निलामीमार्फत खेलाडीहरू पाएका हुन्।

निलामीका लागि ४२६ खेलाडीहरूले नाम दर्ता गराएको भए पनि एनपीएलले जम्मा १४२ जनालाई सर्टलिस्ट गरेको थियो।

निलामीका क्रममा सबैभन्दा बढी प्रतिस्पर्धा राष्ट्रिय टोलीका तीन खेलाडी गुलशन झा, अनिलकुमार साह र ललित राजवंशीका लागि भएको थियो।

काठमाडौँमा भएको खेलाडीहरूको लिलामीमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीलाई जनकपुर बोल्ट्सले खरिद गरेको छ। राजवंशीलाई जनकपुर बोल्ट्सले उच्चतम मूल्य १५ लाखमा खरिद गरेको हो।

राजवंशीलाई ६ वटा टिमले दाबी गरेका थिए। गोलाप्रथाबाट उनी जनकपुर बोल्ट्सको टिममा परेका हुन्।

त्यस्तै विकेटकिपर ब्याटर अनिलकुमार साहलाई पनि जनकपुर बोल्ट्सले १५ लाखमा खरिद गरेको छ। उनको न्यूनमत मूल्य रू. १० लाख राखिएको थियो। अनिललाई खरिद गर्न सबै ८ टिमले प्रतिस्पर्धा गरेका थिए। जसमा गोलाप्रथाबाट अनिललाई जनकपुरले पाएको हो। आठवटै टोलीले मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्।

गुलशनका लागि सातवटा टिमबीच प्रतिस्पर्धा भएको थियो। उनलाई गोलाप्रथामार्फत कर्णालीले पाएको छ। कर्णालीले गुलशनलाई १५ लाखमा खरिद गरेको हो।

राष्ट्रिय टोलीका बलर प्रतिश जिसीलाई विराटनगरले उच्चतम मूल्य १५ लाखमा खरिद गरेको छ। गोलाप्रथाबाट उनी विराटनगर टिममा पुगेका हुन्।

त्यस्तै नेपालका विकेटकिपर ब्याटर लोकेश बमलाई १५ लाख रूपैयाँमा विराटनगर किंग्सले खरिद गरेको छ। उनलाई खरिद गर्न सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए। उनका लागि जनकपुरले भने बोली लगाएको थिएन। गोलाप्रथाबाट उनी विराटनगरमा पुगेका हुन्।

बायाँ हातका स्पिनर सागर ढकाललाई १५ लाखमा पोखरा एभन्जर्सले खरिद गरेको छ। ग्रेड ‘ए’ मा रहेका उनलाई खरिद गर्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए। गोलाप्रथामार्फत पोखराले उनलाई पाएको हो।

लोकेश बमलाई विराटनगरले १५ लाखमा अनुबन्ध गरेको छ। विस्फोटक ब्याटरका रूपमा परिचित उनलाई खरिद गर्न जनकपुरबाहेक सबै टिमले प्रतिपस्पर्धा गरेका थिए।

मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन्। उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो। लिलामीमा उनलाई खरिद गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना गरेको लिलामीमा सहभागी आठ टिमले समान १० खेलाडी खरिद गरेका छन्। लिलामीका लागि १४२ जना खेलाडीलाई सहभागी गराइएको थियो।

एनपीएलमा प्रत्येक टिममा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट अनुबन्ध हुने व्यवस्था छ।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ शेख जनकपुर बोल्ट्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन्। मार्की खेलाडीले २० लाख पाउने क्यानले जनाएको छ।

क्यानले एक टिमले १० खेलाडी खरिद गर्न बढीमा ९० लाख खर्च गर्न पाउने प्रावधान राखेको छ। नियमानुसार श्रेणी ‘ए’ का २७ जना खेलाडीको न्यूनमत मूल्य १० लाख र उच्चतम मूल्य १५ लाख निर्धारण गरिएको थियो। उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेको अवस्थामा गोलाप्रथाबाट निर्धारण गर्ने नियम छ।

‘बी’ श्रेणीमा रहेका ३८ खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख निर्धारण गरिएको थियो। त्यस्तै श्रेणी ‘सी’ का लागि न्यूनतम मूल्य दुई लाख र उच्चतम मूल्य पाँच लाख राखिएको थियो।

विदेशी खेलाडी भने फ्रेन्चाइजीहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्ने क्यानले बताएको छ।

कुन टिममा को?

विराटनगर किंग्स

सन्दीप लामिछाने (मार्की), बसिर अहमद, दीपक बोहरा, नरेन भट्ट, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जिसी, लोकेश बम, सुभास भण्डारी

जनकपुर बोल्ट्स

आसिफ शेख (मार्की), ललित राजवंशी, अरनिको यादव, रूपेश सिंह, अनिलकुमार साह, सुभ कन्सकार, तुलबहादुर थापा मगर, किशोर महतो, सेर मल्ल, हमेन्त धामी, आकाश त्रिपाठी

काठमाडौँ गुर्खाज

करण केसी (मार्की), भीम सार्की, सुमित महर्जन, शंकर राणा, दिपेश कँडेल, बिबेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, रासिद खान, कृष्ण कार्की, साहब आलम

चितवन राइनोज

कुशल मल्ल (मार्की), रिजन ढकाल, विपिन रावल, रन्जीत कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह रौतेला, दीपक बोहरा, कमलसिंह ऐरी, सरद भेस्वाकर

पोखरा एभेन्जर्स

कुशल भुर्तेल (मार्की), किरण ठगुना, सागर ढकाल, नारायण जोशी, दिनेश खरेल, आकाश चन्द, अमृत गुरुङ, बिपिन खत्री, तीर्थराज दास, दिलिप नाथ, सुनम गौतम

लुम्बिनी लायन्स

रोहित पौडेल (मार्की), अशुतोष गिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तीलकराज भण्डारी, अभिषेक गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री

कर्णाली याक्स

सोमपाल कामी (मार्की), गुलशन झा, देव खनाल, अर्जुन घर्ती, युनिसविक्रम सिंह ठकुरी, भुवन कार्की, नन्दन यादव, मौसम ढकाल, दीपक डुम्रे, रित गौतम, दीपेन्द्र रावत

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी (मार्की), नरेशबुढा अयर, विनोद भण्डारी, भोजराज भट्ट, अमित श्रेष्ठ, आरिफ शेख, अभिनास बोहरा, खडकबहादुर बोहरा, नरेन साउद, अर्जुन कुमार, ईशान पाण्डे

प्रकाशित: २० असोज २०८१ २२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =