इजरायल-लेबनान संंघर्ष : आरजुको फेरिएको बोली

धैर्यकान्त दत्त २० असोज २०८१ १९:०१
14
SHARES
इजरायल-लेबनान संंघर्ष : आरजुको फेरिएको बोली परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ- इजरायल र हिज्बुल्लाबीच जारी संघर्षका कारण पछिल्लो समय लेबनान आक्रान्त बनेको छ। हिज्बुल्लालाई लक्षित गरेर इजरायली सेनाले लेबनानको राजधानी बेरूतसहित अन्य स्थानहरूमा लगातार हवाई हमला गरिरहेको छ।

इजरायलले गरेको आक्रमणमा परी केही दिनअघि हिज्बुल्लाका प्रमुख नेता हसन नसरल्लाहको मृत्यु भएपछि त्यहाँको स्थिति थप तनावपूर्ण बनेको छ। इजरायलले लेबनानमा हिज्बुल्लाको उपस्थिति भएका ठाउँलाई निरन्तर निशाना बनाइरहेको छ।

हिज्बुल्लाहलाई निशाना बनाएको भने पनि इजरायलको आक्रमणमा परी कैयौँ सर्वसाधारणले पनि ज्यान गुमाउनु परेको छ। इजरायल–हिज्बुल्लाह संघर्ष बढ्दै गएपछि धेरै राष्ट्रहरूले लेबनानबाट आफ्ना नागरिकलाई फिर्ता आउन निर्देशन दिइसकेको छ।

इजरायल र हिज्बुल्लाहबीच आक्रमण तीब्र बनेपछि सबैभन्दा पहिले बेलायतले आफ्ना नागरिकहरूलाई तत्काल लेबनान छोड्न निर्देशन दियो। बेलायतका साथै अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जापान, सउदी अबर, दक्षिण कोरिया र अमेरिकासहित अन्य देशहरूले पनि आफ्नो नागरिकलाई लेबनान छोड्न भनिसकेको छ।

लेबनानमा रहेका हिज्बुल्लाहले समेत इजरायलमाथि लगातार जवाफी कारबाही गरिरहेको छ। शनिबार अबेर रातिमात्रै उसले इजरायललाई लक्षित गरेको ३० वटा रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसका साथै इजरायल र इरानबीच पनि संघर्ष सुरु भएको छ।

पछिल्लो समय जारी त्रिपक्षीय संघर्षमा त्यहाँका स्थानीयका साथै रोजगारका लागि पुगेका नेपालीहरू पनि त्रसित बनेका छन्। त्रिपक्षीय युद्ध सुरू भएपछि ती मुलुकमा रोजगारीका लागि गएका नेपाली कामदारहरू आफूलाई असुरक्षित महसुस गर्न थालेका छन्।

इजरायलको राजधानी तेलअभिवस्थित एउटा घरमा कार्यरत झापा चारआलीकी कविता क्षेत्रीले मिसाइल आक्रमण भएपछि बंकरभित्र लुकेर ज्यान जोगाएको हिमालप्रेससँग बताइन्।

लेबनानमा जारी तनावका कारण सबै राष्ट्रहरूले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै फिर्ता हुन र सतर्कता अपनाउन निर्देशन जारी गरे पनि नेपाल सरकारले त्यसतर्फ खासै चासो दिएको छैन।

इजरायल र लेबनानमा रोजगारीका लागि पुगेका नेपाली कामदारहरूको सुरक्षा वा त्यहाँबाट फिर्ता बोलाउने सवालमा सरकारले हालसम्म चासो नदिएको हो।

क्यानाडा, अमेरिका र कतारको १९ दिने लामो विदेश भ्रमण सकिएर स्वदेश फर्किएकै दिन परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल-लेबनानबीच जारी संघर्षसम्बन्धी प्रश्नको सामना गर्नुपर्‍यो।

भदौ ३१ मा विदेश भ्रमणमा गएर असोज १८ मा स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले इजरायल-लेबनान संघर्षमा नेपाली कामदारहरूको सुरक्षाबारे प्रश्न गरेका थिए।

जवाफमा राणाले ‘लेबनानमा विकसित परिस्थितिबारे सरकार जानकार रहेको र त्यहाँका नेपालीहरू सुरक्षित रहेको’ बताएकी थिइन्।

क्यानडामा महिला परराष्ट्रमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा र कतारमा ‘एसियन को-अपरेटिभ डाइलग’ सम्बन्धी बैठकमा व्यस्त भएकी उनको इजरायल-लेबनान संघर्षबारे पत्रकारहरूले जिज्ञासा पोखेको प्रश्नमा ‘कूटनैतिक’ जवाफमात्रै थियो।

राणाले भनेकी थिइन्,‘लेबनानमा विकसित परिस्थितिबारे सरकार जानकार छ। त्यहाँका नेपालीहरू सुरक्षित हुनुहुन्छ। नेपाल फर्कन चाहनेका लागि दूतवासमार्फत हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको छ।’

जबकि लेबनानमा विकसित पछिल्लो परिस्थितिबारे परराष्ट्रमन्त्री राणाले आइतबारमात्रै त्यहाँस्थित राजदूतहरूसँग जानकारी लिएकी छन्।

असोज १८ मा लेबनामा विकसित परिस्थितिबारे सरकार जानकार रहेको बताएकी परराष्ट्रमन्त्री राणाको बोली दुई दिन नबित्दै फेरिएको छ। आइतबार इजरायल र लेबनानस्थित नेपाली राजदूतहरूसँग भर्चुअल बैठक गरेर नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन भनेकी छन्।

लेबनानमा विकसित परिस्थितिबारे सरकार जानकार रहेको बताएकी मन्त्री राणाले त्यहाँको अवस्थाबारे ‘अपडेट’ भइरहन राजदूतहरूलाई दिएको निर्देशन विरोधाभाषपूर्ण देखिएको छ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरूको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न उनले निर्देशन दिएकी छन्।

राजदूतहरूसँगको बैठकमा राणाले भनिन्, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नू, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नू र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नू।’

मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसार ‘हेल्प डेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी छन्। परराष्ट्रमन्त्री राणाले भने विदेश भ्रमणबाट स्वदेश फर्किएकै दिन स्वदेश फर्कन चाहनेका लागि राजदूतावासमार्फत ‘हेल्प डेस्क’ स्थापना भइसकेको बताएकी थिइन्।

लेबनानमा नेपाली दूतावास छैन। इजिप्टका लागि नेपाली राजदूतावासले लेबनानलाई हेर्ने गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानमा रहेका नेपालीहरूलाई अहिले कुनै समस्या नरहेको बताएका छन्।

लेबनानमा करिब एक हजार दुई सय नेपाली रहेको अनुमान गरिएको छ। उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेका छन्। लेबनानको राजधानी बेरूतमा रहेका तीन जना सम्पर्कमा आएको र आफूहरू सुरक्षित रहेको जानकारी दूतावासलाई गराएको छ।

गत वर्ष इजरायलमाथि हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। एक जना विपिन जोशीको अवस्था अझै अज्ञात छ। हमासले बन्धक बनाएको भनिए पनि जोशीको वास्तविक अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन। त्यो घटनापछि तीनपटक परराष्ट्रमन्त्री परिवर्तन भइसकेका छन्।

विपिनका परिवारले सबै परराष्ट्रमन्त्रीहरूलाई भेटेर छोराको अवस्थाबारे जानकारी गराउन अनुरोध गरिसके पनि सरकारले कुनै उपलब्धि हासिल गर्न सकेको छैन।

पछिल्लो समय लेबनानसँग जारी संघर्षमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाबारे पनि चिन्ता देखिएको छ। इजरायलमा हाल करिब चार हजार पाँच सय नेपाली रहेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ। इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको कार्यवाहक राजदूत कुमार श्रेष्ठले जानकारी गराएका छन्।

प्रकाशित: २० असोज २०८१ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =