कांग्रेस र एमालेले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०-५० लाख सहयोग

हिमाल प्रेस २० असोज २०८१ १७:०१
10
SHARES
कांग्रेस र एमालेले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०-५० लाख सहयोग

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०- लाख रुपैयाँ सहयोग गरेका छन्।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए।

उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए। नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

यस्तै एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे।

एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए।

प्रकाशित: २० असोज २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =