बाढीपहिरोबाट काभ्रेका ९२ विद्यालयमा क्षति,पठनपाठन अनिश्चित

हिमाल प्रेस २० असोज २०८१ ६:३०
30
SHARES
बाढीपहिरोबाट काभ्रेका ९२ विद्यालयमा क्षति,पठनपाठन अनिश्चित विद्यालय

काभ्रे- गत साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ। जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ।

अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छभने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन्।

एकाइ प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा १४, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको जानकारी दिइन्।

उनका अनुसार बाढीपहिरोबाट विद्यालयमा धेरै क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन्। ‘रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ती विद्यालय तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन’, उनले भनिन्। एकाइका अनुसार बाढीपहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेलमा एकजना विद्यार्थीकोे मृत्यु भएको छ।

एकाइ प्रमुख ढकालले जिल्लाका क्षतिग्रस्त विद्यालय के–कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे सरोकार भएका निकायसँग समन्वय गरेर मात्र निक्र्यौल गरिने बताइन्। रोशी–९ मंगलटारस्थित मंगल जनविजय माध्यमिक विद्यालय पूर्ण रूपमा क्षति भएको प्रधानाध्यापक बासु थापाले बताए।

उनले भने,‘विद्यालयको संरचनामा क्षति पुगेको छ, बाढीले क्षति पुर्‍याएपछि सूचना जारी गरेर विद्यालय बन्द गरिएको छ, विद्यालयलाई पुरानै संरचनामा नफर्काएसम्म पठनपाठन सुर गर्ने सम्भावना देखिदैन।’ उनका अनुसार विद्यालय पुनःनिर्माण गर्न दुई करोड लाग्नेछ।

बाढीपहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षतिको विवरण आइनपुगेको ढकालले जानकारी दिइन्। सडक अवरुद्ध भएको तथा विद्युत् सञ्चालनमा नआएकाले ती तहका विद्यालयमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण संकलन गर्न नसकिएको बताइन्।

प्रकाशित: २० असोज २०८१ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =