घट्न थाल्यो रविको लोकप्रियता

धैर्यकान्त दत्त २२ असोज २०८१ २०:२२
124
SHARES
घट्न थाल्यो रविको लोकप्रियता

काठमाडौँ-  छोटो समयमै राजनीतिक उचाइ लिन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको लोकप्रियता बिस्तारै घट्न थालेको छ। दुई वर्षअघि चितवन क्षेत्र नम्बर २ बाट ६ महिनाको बीचमा दुई पटक भारी मतान्तरले निर्वाचित लामिछानेले यति बेला चितवनमै कालोझन्डा र विरोधको सामना गर्नुपरेको हो।

लामिछाने २०७९ मंसिरको निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। पहिलोपटक निर्वाचित भएका लामिछानेको सांसद पद दोहोरो नागरिकता प्रकरणमा अदालतले खारेज गरिदिएपछि उपनिर्वाचनमा जानुपरेको थियो।

टेलिभिजन प्रस्तोताबाट राजनीतिमा आउनुअघि लामिछानेमाथि पूर्वसहकर्मीको आत्महत्या दुरुत्साहन आरोपमा मुद्दा परेको थियो। २०७४ पुसमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि समर्थक विरोधमा उत्रिँदा चितवनको भरतपुरमा निषेध आदेश लगाउनुपरेको थियो। त्यति बेला उनी राजनीतिमा भने आइसकेका थिएनन्। हौसिएका उनी टेलिभिजन प्रस्तोताबाट राजनीतितिर फड्किएका थिए।

रास्वपा गठन गरेर २०७९ मंसिरमा संघीय संसद् सदस्यमा निर्वाचित भएपछि दोहोरो नागरिकता लिएको आरोपमा उनको उपप्रधानमन्त्री एवम् गृहमन्त्री पद र सांसद पदसमेत गएको थियो। यस्ता आरोप लागे पनि लामिछानेलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले २०८० वैशाखको उपनिर्वाचनमा निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै ४३ हजार मतान्तरले निर्वाचित गराएर संघीय संसद्‌मा फेरि पठाएका थिए। ६ महिनाभित्र सांसदमा दुईपटक निर्वाचित हुने उनी सम्भवतः पहिलो नेता हुन्।

पार्टी गठन गरेको छोटो अवधिमा संसद्‌मा बलियो उपस्थिति जनाएपछि लामिछानेको नेतृत्वको प्रशंसा नभएको होइन। यद्यपि उनले अवलम्बन गरेका गतिविधि सस्तो लोकप्रियताका लागि थियो भन्ने कुरा बिस्तारै स्पष्ट हुँदै गएको राजनीतिशास्त्रका जानकाहरू बताउँछन्।

दुईदुई पटक गृहमन्त्री हुँदा पनि जनतालाई अनुभूति हुने गरी काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ। साथै आफू गृहमन्त्री हुँदा सहकारीको रकम अपचलनको आरोप लागेका आफ्नै पूर्वसहकर्मी जीबी राईलाई संरक्षण दिएपछि रविले थप विरोधको सामना गर्नुपरिरहेको हो।

सहकारी प्रकरणमा मुछिएपछि लामिछानेका विरुद्ध केही सञ्चारमाध्यम पनि निरन्तर रुपमा लागिपरेका छन्। त्यसैले यति बेला जनमानसमा लामिछाने र कांग्रेस, एमाले, माओवादीका नेताबीच कुनै चारित्रिक भिन्नता नदेखिएको धारणा प्रबल हुन थालेको छ। संसदीय छानबिन समितिले सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नतालाई इन्कार नगरेपछि त राजनीति भनेको अनियमित रुपमा धन आर्जन गर्ने खेती रहेछ भन्ने बुझाइ नागरिकस्तरमा फैलिन थालेको छ।

सहकारी ठगी प्रकरणकै विषयमा  सभापति लामिछाने आफ्नै निर्वाचन क्षेत्रमा विरोधको सामना गरिरहेका छन्। सार्वजनिक सुनुवाइका लागि चितवनमा पुगेका उनीविरुद्ध सहकारीपीडितहरु विरोधमा उत्रिन थालेका हुन्। सभापति लामिछानेले शुक्रबार चितवनको मुग्लिनमा कालोझन्डाको सामना गर्नुपर्‍यो। यसअघि चिवतन पुग्दा ‘भव्य सत्कार’ पाउँदै आएका लामिछानेलाई सहकारीपीडितले कालोझन्डा देखाएका थिए।

सहकारीपीडितको विरोध थामिएको छैन। उनीहरू सहकारीमा बचतका लागि जम्मा गरेको पैसा फिर्ता गर्न माग गरिरहेका छन्। लामिछानेले शनिबार भरतपुरमा पनि विरोध झेल्नुपर्‍यो। भरतपुरको नारायणी कला मन्दिरमा पार्टीको प्रशिक्षण कार्यक्रममा पुगेका लामिछानेको विरोधमा प्रदर्शन भयो। लायन्स चोकबाट सुरु भएको सहकारीपीडितको प्रदर्शन नारायणीकला मन्दिर पुगेको थियो।

प्रशिक्षण कार्यक्रम चलिरहेकै बेला पार्टी सभापतिको विरोध भएपछि रास्वपाका कार्यकर्ताले प्रदर्शनकारीमाथि ढुंगा र पानीको बोतल प्रहार गरेका थिए। प्रदर्शनमा उत्रिएका केही सहकारीपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यक्रमस्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

उता रास्वपाले भने कांग्रेस र एमालेले कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएको छ। सहकारी ठगी प्रकरणमा मुछिएयता रास्वपा सभापति लामिछानेको राजनीतिक छविमा धक्का लागेको जानकारहरुको बुझाइ छ।

टेलिभिजनमा लामिछानेसँगै काम गरेका शालिकराम पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेपछि लामिछाने पक्राउ परेका थिए। आत्महत्या गर्नुअगाडि पुडासैनीले एक भिडियोमा आफूलाई लामिछानेले आत्महत्या गर्न बाध्य बनाएको बताएका थिए।

त्यही भिडियोको आधारमा प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउ गरेको थियो। १२ दिनसम्म चिवतनको हिरासतमा बसेका लामिछाने पाँच लाख धरौटीमा छुटेका थिए।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ पर्नु नै लामिछानेका लागि राजनीतिक जीवनको प्रारम्भ विन्दु बन्यो। हिरासतमा छँदा उनको पक्षमा हजारौँ नागरिकले प्रदर्शन गरे। हिरासतमुक्त भएपछि लामिछानेले नारायणी किनारमा सभा गरे।

सभामा सर्वसाधारणको उपस्थिति देखेरै नै उनी राजनीतिक कर्ममा प्रवेश गर्न हौसिए। लामिछानेको नेतृत्वमा २०७९ असारमा रास्वपा गठन भयो। पुराना र ठूला दलहरूप्रति नागरिकमा बढिरहेको वितृष्णाको फाइदा लामिछानेले राम्रैसँग प्राप्त गरे।

२०७९ मंसिरमा भएको चुनावमा रास्वपाले प्रतिनिधिसभामा २० सिट जित्यो लामिछाने चितवन-२ बाट जिते। अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा उदाएका लामिछानै एकैपटक उपप्रधान एवं गृहमन्त्री बने। उनको यो यात्रा धेरै दिन चल्न सकेन। दोहोरो नागरिकता प्रकरणमा सर्वोच्चले उनलाई दोषी ठहर गर्यो।

सर्वोच्चको त्यो फैसलाबाट लामिछाने पदमुक्त भए। नेपाली नागरिकता त्यागेको सूचनाका आधारमा परेको रिटमाथि सर्वोच्चले उनको सबै पद खोसिने गरी फैसला सुनायो। लामिछानेको पार्टी सभापति, सांसद, गृहमन्त्री सबै पद एकैपटक खोसियो।

पुडासैनीको आत्महत्या दुुरूत्साहन मुद्दामा पक्राउ पर्नुदेखि नागरिकता मुद्दामा भएका फैसलालाई लामिछानेले षडयन्त्र भन्ने गरेका छन्। जबकि एकपटक नागरिकता त्यागेको सकारेर अर्को नागरिकताको प्रमाणपत्र लिएका उनी राहदानी मुद्दामा जोगिँदै आएका छन्। दोहोरो राहदानीसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।

नागरिकता मुद्दामा लामिछानेको सबै पद त गुम्यो। तर उनले त्यसलाई राजनीतिक लाभ लिन प्रयोग गरे। नागरिकता प्रकरणपछि लामिछानेको लोकप्रियता झनै बढ्यो। २०८० वैशाख १० गते चितवन-२ मा भएको उपचुनावले लामिछानेको लोकप्रियता बढेको विषयलाई पुष्टि गर्‍यो।

उपनिर्वाचनमा उनी अझ बढी मतसहित मात्रै जितेनन् तनहुँ-१ को उपनिर्वाचनमा स्वर्णिम वाग्लेलाई पनि जिताए। लामिछानेकै लोकप्रियता र छविले पहिलोपटक चुनावी मैदानमा उत्रिए वाग्लेले पनि प्रतिनिधिसभासम्मको यात्रा तय गर्न सफल भए।

एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछाने दोहोर्‍याएर उपप्रधान एवं गृहमन्त्री बने।

उनको दोस्रोपटकको उपप्रधान एवं गृहमन्त्रीको यात्रा पनि धेरै लामो चल्न सकेन। सहकारी बचतकर्ताको रकम अपचलन गरेर उनी प्रबन्ध निर्देशक रहेका गोरखा मिडिया नेटवर्कमा प्रयोग गरेको आरोपमा मुछिए।

गोरखा मिडियका सञ्चालकमध्येका एकजना छविलाल जोशी बन्जारे पक्राउ परिसकेका छन् भने जीबी राई फरार छन्। सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले रास्वापाका सभापति लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ।

आफैँ उपस्थित भएर सहकारीको रकम नझिके पनि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक भएर रकम खर्च गरेकाले उनलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न समितिले सिफारिस गरेको हो।

सहकारीमार्फत गोरखा मिडियामा आएको रकम आफूले खर्च गरेको लामिछानेले स्वीकारसमेत गरेका छन्। शुक्रबार चितवनमा सार्वजनिक सुनुवाइकै क्रममा उनले गोरखा मिडियामा आएको पैसा खर्च गरेको जिम्मा लिन तयार रहेको र यसका लागि जेल जान परे जान तयार रहेको बताए।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल रास्वपा सभापति लामिछानेसामु चुनौती देखापरेको बताउँछन्। उनी भन्छन्, ‘उहाँको सामुन्ने चुनौती देखिन्छ। पुराना दलहरू खुइल्याउन चाहेका छन्। यो चुनौती उहाँले सामना गर्नुपर्नेछ।’

चुनावी परिणामबाट नेताको लोकप्रियता मापन हुने भएकाले इलामको उपचुनावका आधारमा त्यसमा कमी आएको भन्न सकिने उनले बताए। इलाम क्षेत्र नम्बर २ मा संघीय प्रतिनिधिसभा सदस्यका लागि भएको उपचुनावमा रास्वपाका उम्मेदवारको निकै कम मत आएको थियो।

‘लोकप्रियता जाँच्ने दुईवटा आधार हुन्छन्- पहिलो चुनाव र दोस्रो आमसभामा सर्वसाधारणको उपस्थिति,’ पोखरेलले भने, ‘इलामको उपचुनावमा उहाँहरूले सोचेजस्तो परिणाम आएन, संगठन कमजोर भएको पनि हुनसक्छ। दोस्रो, आमसभामा सर्वसाधारणको उपस्थिति। चितवनमा ढुंगामुढा र विरोध भएको छ।’

लोकप्रियता मापन गर्दा विरोध गर्ने र ढुंगामुढा गर्ने को हुन् त्यसलाई पनि ख्याल गर्नुपर्ने राजनीतिशास्त्री पोखरेलको भनाइ छ।

प्रकाशित: २२ असोज २०८१ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =