१९ दिनपछि स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति प्रभावकारी रह्यो

हिमाल प्रेस १८ असोज २०८१ २०:५९
18
SHARES
१९ दिनपछि स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति प्रभावकारी रह्यो

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु देउवा राणा स्वदेश फर्किएकी छन्। १९ दिने लामो विदेश भ्रमण सकिएर उनी शुक्रबार साँझ स्वदेश फर्किएकी हुन्।

परराष्ट्रमन्त्री राणा महिला क्यानाडाको टोरन्टोमा परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुने ३१ भाद्रमा त्यसतर्फ प्रस्थान गरेकी थिइन्। सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी भएयता उनी स्वदेश फर्किएकी थिइनन्।

महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी भएर अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरेकी थिइन्। संयुुक्त राष्ट्रसंघको बैठकमा सहभागी भएर उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन्।

‘एसियन को–अपरेटिभ डाइलग’ विषयक कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री राणा अमेरिकाबाट कतार पुगेकी थिइन्। कतारको कार्यक्रममा सहभागी भएर उनी शुक्रबार स्वदेश फर्किएकी हुन्।

परराष्ट्रमन्त्री राणाले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको दाबी गरेकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्। राणाले भनिन्,‘संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छौँ।’

बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रूपमा सुनिने र देखिनेगरी उपस्थित भएको उनको भनाइ छ। उनले भनिन्,‘यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था होइन। तथ्य र तथ्यांकमा हेर्दा नेपालको अवस्था नाजुक छैन। हामी दिगो विकास लक्ष्यको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ। तर, कतिपय देशको त अहिले पनि १७ प्रतिशतमात्र प्रगति भएको पनि देखिएको छ। हाम्रो अवस्थालाई हामीले सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।’

भ्रमणका क्रममा भएका विभिन्न बैठकहरू मार्फत कूटनीतिक सम्बन्धको दायर विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण सहयोगका लागि अपिल गर्ने काम भएको उनले सुनाइन्।

राणाले महासभाका दौरानमा इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिइन्।

लेबनानमा विकसित परिस्थितिबारे सरकार जानकार रहेको र त्यहाँका नेपालीहरू सुरक्षित रहेको उनले बताइन्। राणाले अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिइन्।

प्रकाशित: १८ असोज २०८१ २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =