‘१२ गाउँ’ बारे यसो भन्छन्, विराज र समीर

सुस्मिता बजगाईं १९ असोज २०८१ ११:०७
22
SHARES
‘१२ गाउँ’ बारे यसो भन्छन्, विराज र समीर

काठमाडौँ- ‘साङ्लो’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका विराज भट्टले करिब चार वर्षपछि दोस्रो फिल्म ‘१२ गाउँ’ प्रदर्शनमा ल्याउँदैछन्। फिल्म यही असोज २४ गते फूलपातीदेखि देशैभर प्रदर्शन हुनेछ।

नाम सार्वजनिक हुँदा दर्शक फिल्मप्रति आकर्षित हुन सकेका थिएनन्। जब फिल्मको फस्ट लुकमा समीर भट्टको लुक्स सार्वजनिक भयो तब यो फिल्मप्रति दर्शक आकर्षित भएको देखिन्छ।

विशेषतः उनको ‘बडी’ लाई लिएर नेपाली सिने क्षेत्रमा एउटा एक्सन स्टार जन्मिएको भन्दै दर्शकले समीरको प्रशंसा गरिरहेका छन्। समीर उनै विराजका छोरा हुन्। उनले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा एक्सन हिरोको रूपमा डेब्यु गर्दैछन्। समीरकै अभिनय रहेको अर्को फिल्म बलिदान पनि छायांकन भइरहेको छ। उक्त फिल्मका निर्देशक सन्तोष सेन हुन्।

त्यस्तै १२ गाउँको फिल्मसँग सम्बन्धित युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘सिनेमा हेर्न जाऔँ’ र ‘कसो कसो’ बोलको गीत, फिल्मको टिजर र ट्रेलरले पनि भ्युजका आधारमा दर्शकको मन जितिरहेको छ भन्न सकिन्छ।

ट्रेलर सार्वजनिक भएको केही घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भयो। ट्रेलर हेरेर दर्शकले फिल्म हेर्न उत्सुक रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। फिल्म प्रदर्शनपछि भने विराजको डेब्यु निर्देशन ‘साङ्लो’ जस्तै हुने हो कि होइन भनेर असोज २४ पछि थाहा पाइनेछ।

मिडियामा पनि त्यति नआएका ‘१२ गाउँ’ को टिमले फूलपातीको दिन हात्तीसारस्थित नेपाल हाउसमा पत्रकार सम्मेलन आयोजना गरे। पहिलोपटक मिडियासामु आएका समीर गम्भीर देखिन्थे। ‘१२ गाउँ’ बाट फिल्म यात्रा सुरु गरेको भन्दै समीरले आफ्नो पहिलो तस्बिर सार्वजनिकपछि दर्शकको मायाले थप हौसला मिलेको समेत बताए।

उनले दर्शकले सोचेजस्तो फिल्ममा एक्सनमात्र नभएको पनि खुलाए। ‘ट्रेलर हेरेपछि फिल्मभरि धुमधडाका फाइटैफाइट छ, यता बुबा उडिराछ उता छोरा। स्टोरी केही छैन। यता चारजनालाई उडाएको छ उता आठजना भनेर झुक्किनुहोला,’ उनले भने, ‘एक्सनले मात्रै भरिएको छैन फिल्म। इमोसनसँगै एक्सनमा बगिरहेको छ।’

ट्रेलर एक्सन मोडको बनाएको भन्दै समीरले फिल्मको कथा अभिनयप्रधान र इमोसन पनि रहेको बताएका छन्। फिल्ममा समीर र विराजमात्र छैनन् दिया मास्केलगायतका कलाकार पनि छन्।

फिल्ममा एक्सन भूमिकामा अभिनय गर्न बुबाको ठूलो हात रहेको र उनकै मार्गदर्शनले सफल भएको समीर दाबी गर्छन्। ‘जीवनमा सही बाटो हिँड्न एक गुरुको आवश्यक पर्छ। मेरो जीवनको गुरु बुबा नै हुनुहुन्छ,’ उनी भन्छन्, ‘बुबाले यसरी गाइड गरिदिनुभयो, दर्शकलाई मेरो एक्सन, बडी मन पर्नुको पछाडि ८० प्रतिशत क्रेडिट मेरो बुबालाई जान्छ।’

पहिलो फिल्म भए पनि उनी आफूले त्यति ‘प्रेसर’ नलिएको जिकिर गरे। आफू भविष्यतिर धेरै योजना नबनाउने र वर्तमानमै रमाइरहने गरेको उनले बताए। ‘१२ गाउँ’ जस्तो फिल्म नेपालमा बन्न जरुरी रहेको भन्दै समीरले फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरोस् भन्ने कामना गरेको बताएका छन्।

‘फिल्ममा एक्सन विधा ब्युँताउन १२ गाउँ’

लामो समयदेखि नेपाली फिल्म क्षेत्रको एक्सन जनरामा काम गर्दै आएका विराज भट्टको छुट्टै पहिचान छ। उनले आफू पनि भोजपुरी फिल्मतिर व्यस्त भएको र नेपालमा एक्सन फिल्म हराउँदै गएको महसुस गरिरहेको बताए। उनले धेरै वर्षदेखि नेपाली दर्शकले साउथको एक्सन फिल्म हेरेर रमाइरहेको अवस्था देखे।

फिल्म क्षेत्रमा एक्सन विधामा भएको कमीकमजोरीलाई मनन गरेर आफूले नेपाली फिल्ममा एक्सन विधा ब्युँताउन ‘१२ गाउँ’ बनाएको उनी दाबी गर्छन्। ‘नेपाली फिल्म क्षेत्रमा बीचको समय मलाई एक्सन विधा हरायो। यो विधा नै ओझेलमा परेको जस्तो लाग्यो,’ उनले भने, ‘यो नेपाली फिल्म क्षेत्रका लागि दुर्भाग्य थियो। हामीले दर्शकलाई केही नयाँ कसरी दिने त? मैले दशकौँदेखि बच्चालाई ट्रेनिङ गराउनुको कारण पनि यही हो।’

विराजले ‘१२ गाउँ’ एक्सनको सुरुवात मात्र भएको बताएका छन्। एउटा फिल्म बनाएर अलिकति कमाइ गरौँ भन्नेमात्र आफ्नो सोच नभएको भन्दै उनी भन्छन्, ‘म जोखिमपूर्ण फिल्म बनाउन चाहन्छु। मेरो उद्देश्य नेपाली फिल्मलाई एक्सनको लेभलमा कसरी माथि लाने भन्ने नै हो। मसँग पैसा बढी भएर साउथको टेक्निसियनलाई राखेको होइन।’

‘एक्सन फिल्म बनाउन चुनौती छ’

विराजले नेपालमा एक्सन फिल्म बनाउन निकै चुनौती रहेको बताए। गत वर्षको ‘अगस्त्य’ देखि यही भदौमा प्रदर्शन भएको ‘रावायण’ सम्म केही फिल्म एक्सनप्रधान बनेको छ। तर ती फिल्म दर्शकको नजरमा पर्न सकेनन्।

विराजले भने एक्सन फिल्मलाई नेपालीले विदेशी फिल्मसँग तुलना गर्ने भएकोले यस्तो फिल्म बनाउन चुनौतीपूर्ण रहेको जिकिर गरे। ‘नेपाली जति पनि फिल्म बनिराखेको छ। कमेडी, अर्ग्यानिक, फ्यामिली ड्रामा भनिएको फिल्ममा दर्शक र मिडियाले कहिल्यै पनि बाहिरको फिल्मसँग तुलना गर्दैन,’ उनले भने, ‘तर हामी जब एक्सन फिल्म बनाउन थाल्छौँ ‘केजीएफ’, ‘पठान’ र ‘सालार’जस्तो छ भनेर तुलना गर्न थाल्छौँ। हामीलाई धेरै चुनौती छ।’

लगानी अभावका कारण विदेशी फिल्मजस्तो बनाउन नसक्ने उनी बताउँछन्। उनले १२ गाउँप्रति दर्शक उत्सुक हुनुमा छोरा समीरको बडीलाई ‘सालार’ र ‘केजीएफ’को हिरो भन्दा राम्रो लागेको हुन सक्ने भन्दै बलिउडसँग उनलाई तुलनासमेत गरे।

‘दसैँमा फिल्म जुधाएका होइनौँ, योजना पहिल्यै थियो’

दसैँमा ‘१२ गाउँ’सँगै ‘ज्वाइँ साब’ र ‘छक्कापञ्जा ५’ एकसाथ प्रदर्शन हुँदैछन्। सामाजिक सञ्जालमा तीन प्रतिष्ठित मानिएको फिल्म जुधाइएको भन्दै दर्शकले अनेक टीकाटिप्पणी र अड्कलबाजी गरिरहेका छन्। तर निर्देशक तथा अभिनेता विराज भने अचानक कसैसँग लड्न, ठोक्किन, भिड्न जाऔँ भन्ने आफ्नो कुनै योजना नभएको बताउँछन्।

‘१२ गाउँ पहिलेदेखि नै दसैँमा प्रदर्शन गर्ने योजना थियो। जतिखेर समीरले बलिदान साइन गरेको थियो, त्यतिखेर नै ‘बलिदान’ दसैँमा नआएमा ‘१२ गाउँ’ लगाउने भन्ने हामी दुई फिल्म निर्माण टिमबीच सल्लाह थियो,’ उनले भने।

दसैँतिहार राम्रो समय भएकाले दर्शकलाई आफ्नो रुचि छनोट गर्न फरक जनराको दुई फिल्म लाग्न जरुरी रहेको विराजको बुझाइ छ। ‘दसैँमा लाग्ने तीन फिल्म तीन फरक कथामा बनेको छ। दुईवटा फिल्म कमेडी जनराको छ। त्यो भन्दा हाम्रो फरक नै छ,’ उनले भने, ‘दर्शक हासौँ भन्न पनि सक्छन्। इमोसन र एक्सन हेरौं भन्नेहरूले छान्न सक्छन्।’

सामाजिक सञ्जालमा आएका फिल्मका क्लिपमा पनि फिल्मको निकै चर्चा भइरहेको छ। कतिपयले फिल्म प्रचारका लागि साइबर सेना खटाएको भनि प्रतिक्रिया पनि दिइरहेका छन्। तर विराज भने फिल्मबाट नसोचेको दर्शक पाइरहेकोमा प्रफुल्लित छन्।

उनी भन्छन्, ‘सुरुमा टिजर ट्रेन्डिङमा आउला भन्ने सोचेको थिएन, यसले  पछि थप हौसला दियो। दर्शकले गीत, टिजर, ट्रेलर हेरेर जे बुझ्नुभएको छ त्यो नै ‘१२ गाउँ’ हो।’ फिल्ममा एक्सनमात्र नभएको भन्दै उनले समीरसँगै अन्य कलाकारको काम पनि ‘नोटिसेबल’ हुने बताए।

विराजको पहिलो निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ चलेन। त्यसपछि उनले करिब चार वर्षपछि दोस्रो निर्देशनमा ‘१२ गाउँ’ प्रदर्शन गर्न लागेका हुन्। ट्रेलरअनुसार फिल्ममा १२ गाउँमा राज गरी बसेको मुरलीधरको साम्राज्य ध्वस्त पार्ने बदलाको कथामा आधारित छ।

एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा विराज भट्टकै कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। फिल्ममा डेब्यु कलाकार समीर भट्ट, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईसहित विराज भट्ट, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट सिल्भाको अभिनय छ।

प्रकाशित: १९ असोज २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =