‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

हिमाल प्रेस १८ असोज २०८१ १८:०५
8
SHARES
‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौँ– सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दुतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजानिक गरेका हुन्। पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो।

कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताए। उनले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि जर्नलिजम एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गरे। साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरु महत्वपूर्ण हुनेमा जोड दिए।

लेखिका हेगडर्नले पकडकास्टिङको महत्वको विषयमा प्रकाश पारेकी थिइन्। पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभुतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन्। त्यसका साथै पडकास्टिङबाट के कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन्।

कार्यक्रममा सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरुसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान संचालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबृद्धिको कार्यक्रमलाई जोड दिएको बताए। नेपाल फ्याक्टचेक सुरु गरेर मिथ्या सूचनाको तथ्यजाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरुलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजीटल सुरक्षा, र तथ्याजाँचलगायतका तालिम दिने कार्य गरेको बताए।

एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारहरुलाई तालिम दिइसकेको उल्लेख गरे।

एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन्।

कार्यक्रममा साइडेलले एकेडेमीमा पत्रकारका लागि डिजिटल सुरक्षा कोर्सका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: १८ असोज २०८१ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast