सर्लाही- गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ। पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे। आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन्। ‘स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो। अब फेरि स्कुलले दिने हो कि होइन?’उनलाई चिन्ता छ।
विपन्न परिवारका महतोलाई किताब किनेर दिन सक्ने अवस्थामा परिवार छैनन्। बाढी र डुबानले घरमा पनि पूर्ण क्षति पुर्याएको छ। रामकुमारसँगै अध्ययन गर्ने साथी वीरेन्द्र पनि विद्यालयको कपी किताब बगाएको गुनासो गर्न आइपुगे। ‘मेरो त स्कुलको पोशाकसमेत बाढीले लगेछ’, उनले भने, ‘अब स्कुल कसरी जाने? बुबाआमासँग किन्न पैसा नभएको उनको गुनासो थियो।’
शनिबार पसेको बाढीले उनीहरू जस्तै हजारौँ बालबालिकाको शैक्षिक भविष्य अन्योलमा परेको छ। अधिकांश विपन्न परिवारका बालबालिकाको विद्यालयका पुस्तक, पोशाकलगायत सामग्री बाढीमा डुबेको छभने केहीको बाढीले बगाएको छ। विद्यालय पानीमा डुबेका कारण कहिलेसम्म स्कुल जान नपाइने हो?भन्ने चिन्ता बालबालिकाले व्यक्त गरिरहेका छन्।
बालकक्षामा धेरै क्षति
जिल्लाको रामनगर गाउँपालिका र बलरा नगरपालिकामा गरी दुई दर्जन बढी विद्यालयमा पानी पसेर क्षति गरेको छ। अधिकांश विद्यालयमा बालविकास कक्षामा पानी पसेर क्षति गरेको बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले जानकारी दिए। ‘बालबालिकाको सुविधाका लागि ठूलो रकम खर्च गरेर ओच्छाएको कार्पेट, म्याटलगायत सामान पूर्ण रूपमा काम नलाग्ने भएका छन्’, उनले भने,‘सिकाइ सामग्रीसमेत बगाएका छन्, बाँकी पनि काम लाग्ने अवस्थामा छैनन्।’
नगरको वडा नं १, २, ३ र ४ का प्राथमिक विद्यालयमा चारदेखि पाँच फिटसम्म पानी जमेको नगरप्रमुख कुशवाहाले जानकारी दिए। विद्यालयमा पानी जमेका कारण बालबालिकाको पठनपाठन नै प्रभावित बनेको बलरा नगरपालिका–१ स्थित प्राथमिक विद्यालय सेडवाका प्रधानाध्यापक जंगबहादुर सहनीले बताए। ‘अहिले चाडबाडको छुट्टी छ, तर महिनौँसम्म पठनपाठन हुने अवस्था छैन’, उनले भने।
विद्यालयसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय विनय यादवले बताए। विद्यालय डुबानमा पर्दा विपन्न दलित, मुसहरलगायत समुदायका बालबालिका मर्कामा परेका हुन्। शैक्षिक सामग्रीसमेत बगाएका कारण बालबालिकासँगै अभिभावक समेत चिन्ता व्यक्त गरिरहेका नगरप्रमुख कुशवाहाले बताए। पालिकाले समेत क्षति विवरण संकलन गरेर व्यवस्थापन गर्ने प्रयास गरिरहेको उनको भनाइ छ। सरकारी तथा गैरसरकारी संघसंस्थासँग यस विषयमा सहयोगका लागि अपिल गरिएको उनले बताए।
नगरप्रमुख कुशवाहका अनुसार विभिन्न वडाका गरी १८ वटा विद्यालय डुबानमा परेका छन्। सबै विद्यालयमा फेरि बालबालिकाका लागि बसाइ व्यवस्थापन गर्नुपर्ने अवस्था छ। यस्तै रामनगर गाउँपालिकामा पनि विभिन्न वडामा गरी नौवटा विद्यालयमा बाढी पसेर डुबाएको छ। विद्यालय पूर्ण रूपमा क्षति नभए पनि आंशिक क्षति पुगेको पालिका अध्यक्ष राजाबाबु यादवले बताए। विद्यालयसम्म पुग्ने अवस्था नहुँदा तत्काललाई पर्व बिदा दिइएको उनले जानकारी दिए।‘अहिले पठनपाठन गर्न सक्ने अवस्था छैन’, उनले भने,‘पर्व पनि परेकाले बिदा दिएका छौँ, अब पानी सुकेपछि पठनपाठन सुरु हुन्छ।’
बाढीले शैक्षिक सामग्री बगाएको र लामो समय विद्यालय जाने क्रम रोकिँदा बालबालिका फेरि विद्यालय बाहिर पुग्ने चिन्ता रहेको उनले बताए। अर्कातर्फ विद्यालयको अवस्था पूर्ववत बनाउन ठूलो धनराशि खर्च गर्नुपर्ने अध्यक्ष यादवले बताए। बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि भन्ने चिन्ता शिक्षकले व्यक्त गरे। बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए।