क्षणिक स्टन्टबाजी गरेर प्राकृतिक विपद् पीडितलाई अलपत्र नपारौं : भट्टराई

हिमाल प्रेस १८ असोज २०८१ ८:१४
94
SHARES
क्षणिक स्टन्टबाजी गरेर प्राकृतिक विपद् पीडितलाई अलपत्र नपारौं : भट्टराई पूर्वप्रधानमन्त्री डा‍.बाबुराम भट्टराई। फाइल तस्बिर।

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्राकृतिक विपद् पीडितलाई अलपत्र पार्न नहुने बताएका छन्।

प्राकृतिक विपद् पीडितलाई सरकारले पर्याप्त ध्यान नदिएको बेला डा.भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत उनीहरूलाई अलपत्र पार्न नहुने बताएका हुन्।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले लेखेका छन्,‘छेपारोको आहानझैं प्रत्येकपटक भन्ने एउटा गर्ने अर्को अनि रुने, कराउने, आरोप प्रत्यारोप गर्ने, क्षणिक स्टन्टबाजी गर्ने, विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं।’

डा.भट्टराईले अगाडि लेखेका छन्,‘नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशकयता मात्रै आइपरेका विनाशकारी भूकम्प, कोभिड, बाढीपहिरो, हवाई/सडक दुर्घटनाको बेला छताछुल्ल भइसकेका छन्!’

डा.भट्टराईले देशको अति विविधतायुक्त भूगोल, हावापानी, मनपरी प्राकृतिक सम्पदाको दोहन, निर्माण कार्य र सहरीकरण, तीव्र गतिको पर्यावरण विनाश आदिले आगामी दिनमा प्राकृतिक विपत्ति अरू थपिने निश्चित भएको बताएका छन्।

त्यसैगरी, डा.भट्टराईले अहिलेको गृह मन्त्रालयअन्तर्गत रहेको कमजोर र बेवारिसे विपद् व्यवस्थापन संयन्त्रलाई राज्यको प्रमुख कार्यकारीअन्तर्गत बलियो,अधिकारसम्पन्न, साधनश्रोतयुक्त, स्वायत्त,स्वचालित संयन्त्रमा रूपान्तरण गरेर संघ, प्रदेश र स्थानीय तहसम्म व्यवस्थित गर्नुपर्ने उल्लेख गरेका छन्।

विपत्ति आउने बित्तिकै तत्काल उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण स्वचालित ढंगले अघि बढ्ने संस्था र संस्कारको विकास गर्नुपर्ने उनले बताएका छन्।

प्रकाशित: १८ असोज २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =