भौतिक मन्त्रालयले भन्यो : दसैँअगाडि बीपी राजमार्ग सञ्चालन सम्भव छैन

हिमाल प्रेस १७ असोज २०८१ १७:०५
12
SHARES
भौतिक मन्त्रालयले भन्यो : दसैँअगाडि बीपी राजमार्ग सञ्चालन सम्भव छैन बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिरोका कारण अवरूद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालन सम्भव नभएको बताएको छ।

गत साता लगातार तीन दिनसम्म भएको अविरल वर्षापछि सुनकोशी र रोशी खोलामा आएको बाढीपछि अवरूद्ध भएको बीपी राजमार्ग दसैँअगाडि खुलान नसकिने मन्त्रालयले जनाएको हो।

मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँअगाडि बीपी राजमार्ग खुल्ने अवस्था नरहेको बताएका छन्। बाढी र पहिरोका कारण राजमार्गमा ठूलो क्षति भएकाले अस्थायी रूपमा सञ्चालन गर्न सक्ने अवस्थासमेत नरहेको उनको भनाइ छ।

मन्त्रालयका अनुसार बीपी राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्डमा १८ किलोमिटर सडक क्षति भएको छ। जसमध्ये १२ किलोमिटर सडक पूर्णरूपमा बगेको छ। बाढीले पूर्णरूपमा सडक बगाएपछि बीचबीचमा अझै सवारी साधनहरू रोकिएका छन्।

राजमार्गको दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ। त्यस्तै रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी कम्तिमा अस्थायी रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य मन्त्रालयले लिएको छ।

वैकल्पिक उपाय अपनाउने प्रयास गरिरहे पनि दसैँअगाडि राजमार्ग सञ्चालनको सम्भावना आफूहरूले नहेरेको सचिव शर्माले बताए। उनले भने,‘डाइभर्सन बनाएर भए पनि राजमार्ग सञ्चालन गर्न सोचेका छौँ। तर, दसैँअगाडि खुल्ने अवस्था छैन।’

मन्त्रालयको टोलीले बुधबार हेलिकप्टरमार्फत बीपी राजमार्गको निरीक्षण गरेको थियो। बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षणपछि दसैँअगाडि बीपी राजमार्ग सञ्चालन गर्न नसकिने निष्कर्षमा मन्त्रालय पुगेको हो।

तीनचार ठाउँमा बाढीले पहाड छेउसम्मै जोडिएर सडक बगाएकोले अस्थायी रूपमा सञ्चालनका लागि समस्या देखिएको सचिव शर्माको भनाइ छ।

‘रोशी खोलाका वारिपारी गरेर ट्र्याक खोल्न सकिन्छ। तीनचार ठाउँमा पहाडसम्मै जोडिएर सडक बगेको अवस्था छ, त्यहाँ पुल हाल्नुपर्ने हुन्छ,’ उनले भने,‘अस्थायी रूपमा पनि दिन तोकेरै सार्वजनिक चल्छ भन्ने अवस्था छैन। दसैँअगाडि यातायात सञ्चालन हुने सम्भावना कमै देखेका छौँ।’

साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग बाढीले बगाएर ढप्प भएपछि यतिबेला त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा सवकारीको चाप बढेको हो। बीपी राजमार्गअन्तर्ग काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको चौकीडाँडादेखि सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झन्डै ९० प्रतिशत सडक क्षतविक्षत् छ।

कोशी प्रदेशको सबै जिल्ला, मधेश प्रदेशको बारा, पर्सा र रौतहटबाहेक बाँकी पाँच जिल्ला जाने मझौला तथा साना यातायातका अधिकांश सवारी साधन बीपी राजमार्ग प्रयोग गर्ने गरेका छन्। यसका साथै निजी सवारीसाधान प्रयोग गरे मधेश तथा पूर्वी जिल्लातर्फ जानेहरू पनि बीपी राजमार्ग नै प्रयोग गर्ने गरेका छन्।

बाढीपहिरोपछि यो राजमार्ग अवरूद्ध भएपछि अहिले अधिकांश साना सवारी साधनहरू पृथ्वी राजमार्ग प्रयोग गरिरहेका छन्।

पृथ्वी राजमार्गमा सवारी साधनको चापलाई न्यून गर्न भौतिक मन्त्रालयले पूर्वबाट आउने गाडीहरू बीपी राजमार्गको सित्खासम्म आएर रामेछापको मन्थली र दोलखा हुँदै काठमाडौँसम्म आउने विकल्प खोजेको थियो। तर, यो बाटो बढी घुमारो हुने देखिएपछि यातायात सञ्चालन सम्भव हुनसकेन।

सित्खाबाट मध्यपहाडी राजमार्ग हुँदै दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौँ आउने बाटो तुलनात्मक रूपमा छोटो देखिएको र अहिलेको विकल्प यही हुनसक्ने मन्त्रालयको भनाइ छ।

प्रकाशित: १७ असोज २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast