पोखरा- बडादसैँको नवदुर्गा अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म नवदुर्गा महोत्सव आयोजना गरेको हो।
पहिलो दिन घटस्थापना परेकोले मन्दिर पूजाआजा गर्नेका बिहीबार बिहानैदेखि घुइँचो छ। घटस्थापनामा नवदुर्गाका नौ रूप सिंगारिएका नवकन्याले धेरैको ध्यान खिचेको थियो। समितिले १७ वर्षदेखि मन्दिरमा नवदुर्गा महोत्सव गर्दै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।
विगतमा नवदुर्गा शोभायात्रासँगै श्रीमद्भागवत् कथा प्रवचन हुने गरेकामा राष्ट्रिक शोक घोषणाले पूर्र्व निर्धारित शोभायात्रा भने स्थगित भयो। अन्य कार्यक्रमलाई निरन्तरता दिइएको समिति अध्यक्ष श्रेष्ठले बताए। बिहीबारदेखि नै महानवमीसम्म श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ सुरु भएको छ।
समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा टेवा मिल्ने विश्वास रहेको बताए।
मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको उनको भनाइ छ। २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरूपमा अध्यापन कार्य हुने गरेको छ।
यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ। यहाँ २०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालित छ। जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन्। हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ।
समितिले एम्बुलेन्स सेवा पनि सञ्चालन गरिसकेको छ। मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भर्याङ (लिफ्ट) व्यवस्था गरिएको छ।
समितिले पोखरामै २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय भर्खरै सञ्चालन गरेको छ। यसैबीच, नवदुर्गा सुरुसँगै पोखराको कास्कीकोटस्थित गुप्तकालिका मन्दिरमा पनि नवदुर्गा महोत्सव सुरु भएको छ।