चाइना जर्नल

नयाँ चीनको ७५ औँ वार्षिकोत्सव : सङ र ख्वाइ ल चोङ् क्वो!

अजय अलौकिक १७ असोज २०८१ ८:०१
34
SHARES
नयाँ चीनको ७५ औँ वार्षिकोत्सव : सङ र ख्वाइ ल चोङ् क्वो!

यही अक्टोबर १ तारिख जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव हो। सर्वप्रथम, एक नेपाली नागरिकको हैसियतमा नयाँ चीनको ७५ औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई। जन्मोत्सवको शुभकामना। सङ र ख्वाइ ल चोङ् क्वो!

हिमाल र नदीले जोडेको चीन र नेपाल बीच भौगोलिक निकटतामा आधारित लामो समयदेखिको मित्रता, आपसी सम्मान तथा सांस्कृतिक आदानप्रदान रहँदैआएको छ। चीनको यो कोसेढुंगा चीन र चिनियाँ जनताका लागि मात्र नभई नेपाललगायत विश्वका अन्य देसहरूलाई पनि महत्त्वपूर्ण मान्न सकिन्छ। किनभने चीनले यी दशकहरूमा उल्लेखनीय यात्रा गरेको छ। एउटा गरिब तथा कृषिप्रधान देशबाट विश्वमा समृद्ध र आर्थिक शक्तिशाली देशका रूपमा आफूलाई रूपान्तरण गरेको छ।

अक्टोबर १, १९४९ मा स्थापित नयाँ चीनले आफ्नो ७५औँ वार्षिकोत्सव मनाउँदै गर्दा विगतका उपलब्धिहरू मात्र मनाइरहेको छैन, भविष्यतिर हेर्दै आगामी वर्षहरूमा राष्ट्रको योजना तथा आकांक्षा र लक्ष्य पनि निर्धारण गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्वमा चीन जनताको उत्थान र राष्ट्रिय स्वाभिमान पुनर्स्थापित गर्ने लक्ष्य राख्दै समाजवादको बाटोमा अघि बढेको छ।

विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि नै चीन नयाँ विकास दर्शनलाई लागू गर्न, उच्च गुणस्तरीय विकासको गतिशीलता, जीवन्तता र सम्भाव्यतालाई अगाडि बढाउने, विभिन्न जोखिम र चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न प्रतिबद्ध रहेको छ। चीनले आफ्नो शैलीको आधुनिकीकरणको बाटो मात्र खोजेको छैन, विश्व शान्ति र विकासमा पनि सकारात्मक ऊर्जा दिएको छ।

हाल चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र, सबैभन्दा ठूलो उत्पादक, सबैभन्दा ठूलो उत्पादक वस्तु व्यापारी, उत्पादक वस्तुको दोस्रो ठूलो उपभोक्ता हो र विदेशी मुद्राको सबैभन्दा ठूलो भण्डारक पनि हो। सन् १९४९ मा चीनले विश्व अर्थतन्त्रको ४ प्रतिशत मात्रै ओगटेको थियो। तर अभूतपूर्व आर्थिक वृद्धिका कारण चीनले आज विश्वको कूल गार्हस्थ उत्पादन (जीडीपी) को झण्डै १९ प्रतिशत हिस्सा ओगटेको छ।

सन् १९५२ मा चीनको जीडीपी ६७.९ बिलियन युआन (९.६८ बिलियन अमेरिकी डलर) र प्रतिव्यक्ति जीडीपी ११९ युआन मात्र थियो तर २०२३ मा चीनको जीडीपी १२६ त्रिलियन युआन (१७.९७ त्रिलियन अमेरिकी डलर) र प्रतिव्यक्ति जीडीपी ८९,३५८ युआन पुगेको छ।

चीनको व्यापारिक वस्तुको व्यापार सन् १९५० मा १.१३ अर्ब डलरबाट बढेर २०२३ मा ५.९ त्रिलियन डलर पुगेको छ। व्यापारमा भएको वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा चीनको हिस्सामा समानुपातिक वृद्धि भएको छ, सन् १९७८ मा १ प्रतिशतभन्दा कमबाट बढेर १२.४ प्रतिशतमा पुगेको छ। सन् १९७८ मा, तङ स्याओफिङले सुरु गरेको आर्थिक सुधारको खुलापन तथा सुधार नीतिबाट आर्थिक विकासमा फड्को मारेको देखिन्छ। यहीँबाट चीनको वैदेशिक व्यापारको आकारमा वृद्धि र करोडौँ गरिब चिनियाँलाई समृद्धिको पथमा ल्याइएको थियो।

राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार चीनले सुधार र खुलापनको सुरुवात गरेदेखि नै आफ्नो विकासमार्फत विश्व शान्ति र विकासमा ठूलो योगदान गरेको छ। विश्व आर्थिक वृद्धिमा राष्ट्रको योगदान सन् १९७९ देखि २०२३ सम्म औसत २४.८ प्रतिशत छ र विश्वमा शीर्ष स्थानमा रहेको छ।

चीन उत्पादन, व्यापार र प्रविधिका क्षेत्रमा विश्वव्यापी रूपमा शक्तिशाली र लोकप्रिय बनेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता पहलहरू विश्व मञ्चमा कनेक्टिभिटी बढाउने र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यान्वयनमा छ।

विश्व अर्थतन्त्रमा बढ्दो अस्थिरता र अनिश्चितता रहे पनि चीनले लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिमा करिब ३० प्रतिशत योगदान गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। वर्तमानमा चीनको आर्थिक विकासको आकारमा मात्रै वृद्धि भइरहेको छैन उच्च गुणस्तरको वृद्धितर्फ अग्रसर छ।

चीनको परराष्ट्र मन्त्रालयका अनुसार सन् २०१३ मा थालिएको बेल्ट एन्ड रोड इनिसिएटिभले २०१३ देखि २०२३ सम्म लगभग १ त्रिलियन लगानी जुटाएको छ, र ३ हजारभन्दा बढी सहकार्य परियोजनाहरू स्थापनासँगै ४ लाखभन्दा बढी स्थानीय रोजगारीहरू सिर्जना गरेको छ र लगभग ४ करोड मानिसहरूलाई गरिबीबाट हटाउन मद्दत गरेको छ।

गत जुलाईमा चीनको भन्सारको सामान्य प्रशासनले जारी गरेको एक तथ्यांकअनुसार चीनले लगातार सातौँ वर्ष विश्वको शीर्ष व्यापारिक राष्ट्रको रूपमा आफूलाई कायम राखेको छ र १५० भन्दा बढी देश र क्षेत्रहरूसँगको प्रमुख व्यापारिक साझेदारका रूपमा आफ्नो हैसियत बलियो बनाएको छ। भन्सार तथ्यांकका अनुसार वर्षौँदेखि चीनको आयातको मात्रा विश्वमा दोस्रो ठूलो रहेको छ। कुल आयात सन् २०१२ को ११.४९ त्रिलियन युआनबाट बढेर २०२३ मा १७.९९ त्रिलियन युआन पुगेको छ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोद्वारा प्रकाशित ७५ वर्षको चीनको विकास र समृद्धिको एक तथ्यांक यस्तो छ। सन् १९५२ देखि २०२३ सम्म चीनको जीडीपी ६७.९ बिलियन युआनबाट बढेर १२६ त्रिलियन युआन पुगेको छ जुन २२३ गुनाले बढेको छ र चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाएको छ।

सन् १९४९ मा चीनको कूल अन्न उत्पादन मात्रा ११३.१८ मिलियन मेट्रिक टन थियो। यो संख्या २०२३ मा उच्च रेकर्डको सिर्जना गर्दै ६९५ मिलियन मेट्रिक टन पुगेको छ र लगातार नौ वर्षसम्म ६५० मिलियन मेट्रिक टन माथि रहेको छ। यसैगरी सन् १९४९ को ५४१.६७ मिलियनबाट ७५ वर्षमा १.४० बिलियन जनसंख्या नाघेको छ।

चिनियाँ जनताको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ। सन् १९४९ को औसत आयुभन्दा दोब्बर बढि भएको छ। नयाँ चीनको स्थापनाको ३५ वर्षबाट २०२३ मा ७८.६ वर्ष पुगेको छ। नयाँ चीनको स्थापना हुँदा २०५ विश्वविद्यालय र १,१७,००० विद्यार्थी थिए भने २०२३ सम्ममा, १४ गुनाले वृद्धि हुँदै विश्वविद्यालयहरूको कूल संख्या ३,०७४ पुगेका छन्।

चीनको जलविद्युत्, वायु ऊर्जा र सौर्य ऊर्जा उत्पादनको कुल स्थापित क्षमता धेरै वर्षदेखि विश्वमा पहिलो स्थानमा छ। सन् १९४९ मा चीनको जलविद्युत उत्पादन १६०,००० किलोवाट थियो भने २०२३ मा ४२० मिलियन किलोवाट पुगेको छ। यसैगरी सन् १९४९ बाट चीनमा तीव्र सहरीकरण भएको छ। सन् २०२३ को अन्त्यसम्ममा यसको सहरीकरण दर ६६.१६ प्रतिशत छ, जुन सन् १९४९ को तुलनामा ५५.५२ प्रतिशत अंकले बढेको छ।

हाल, चीनसँग ४६,००० किलोमिटरको उच्चगतिको रेल ट्र्याकसहित १,६०,००० किलोमिटरको ट्र्याक छ। सन् १९५० मा निर्माण थाली सन् १९५२ मा सञ्चालनमा आएको ५०५ किलोमिटर लामो छङतु छोङछिङ रेलमार्ग नै नयाँ चीनको स्थापनापछि निर्मित पहिलो रेलमार्ग थियो।

चीनको सहरीकरण दर, जसले कुल जनसंख्याको सापेक्ष स्थायी सहरी बासिन्दाहरूको अनुपात मापन गर्दछ, सन् १९४९ को अन्त्यबाट ५५.५२ प्रतिशत बिन्दुले बढेर सन् २०२३ को अन्त्यसम्ममा ६६.१६ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांक ब्युरोको तथ्यांकले देखाएको छ।

विगत ७५ वर्षमा चीनले विश्व इतिहासमा सबैभन्दा ठूलो र द्रुत सहरीकरण प्रक्रिया पार गरेको प्रतिवेदनमा उल्लेख छ। सन् १९४९ मा चीनमा जम्मा १२९ सहरहरू थिए, जसको संयुक्त जनसंख्या ३९.४९ मिलियन थियो। सन् २०२३ मा सहरहरूको संख्या ६९४ पुगेको छ, र ५० लाखभन्दा बढी जनसंख्या भएका २९ सहर र एक करोडभन्दा बढी जनसंख्या भएका ११ वटा सहरहरू छन्।

चिनियाँ बासिन्दाहरूको आम्दानी विगत ७५ वर्षमा उकालो लागेको छ, जुन सन् १९४९ मा ४९.७ युआन (करिब ७ अमेरिकी डलर) बाट बढेर २०२३ मा ३९,२१८ युआन पुगेको छ। सन् २०२० मा, चीनले विश्वव्यापी गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान गर्दै राष्ट्रव्यापी रूपमा निरपेक्ष गरिबी उन्मूलन गर्ने आफ्नो लक्ष्य हासिल गरेको छ।

सन् १९४९ मा नयाँ चीनको स्थापनादेखि नै गरिबीविरुद्धको लडाइँ चिनियाँ कम्युनिस्ट पार्टीका लागि उच्च प्राथमिकतामा रहेको थियो। सन् २०१२ देखि २०२१ सम्ममा लगभग १० करोड ग्रामीण गरिबहरूलाई गरिबीबाट मुक्त गर्दै चीनले निरपेक्ष गरिबीमाथि विजयी भएको घोषणा गरेको थियो। हालका वर्षहरूमा, चीनले आफ्नो ग्रामीण जनताको उत्थान तथा गरिबी दोहोरिन नदिन प्रगतिलाई दिगो बनाउन लागिपरेको छ।

गरिबीबाट माथि उठेका ग्रामीण बासिन्दाहरूको प्रतिव्यक्ति डिस्पोजेबल आय निरन्तर बढ्दै गएको छ, जुन २०२० मा १२,५८८ युआनबाट बढेर २०२३ मा १६,३९६ युआन पुगेको छ, औसत वार्षिक ८.२ प्रतिशतको वृद्धि भएको प्रतिवेदनले देखाएको छ।

जनवादी गणतन्त्र चीनको स्थापनाको वार्षिकोत्सवको उपलक्ष्यमा बेइजिङको ग्रेट हल अफ द पिपलमा आयोजित रात्रिभोजमा आफ्नो भाषण दिएपछि टोस्ट गर्दै राष्ट्रपति सी चिनफिङ। तस्बिर : एपी/ रासस

सन् २०२३ मा प्रतिव्यक्ति उपभोक्ता खर्च २६,७९६ युआन पुगेको छ, मुद्रास्फीति समायोजन पछि, सन् १९५६ को तुलनामा ३५.५ गुनाले वृद्धि भएको छ। सन् २०२३ मा चिनियाँ बासिन्दाहरूको सेवामा प्रतिव्यक्ति खर्च १२,११४ युआन पुगेको छ, जुन प्रतिव्यक्ति उपभोग खर्चको ४५.२ प्रतिशत रहेको छ, जुन २०१३ को तुलनामा ५.५ प्रतिशत अंकले बढेको छ।

विगत ७५ वर्षमा चीनले विश्वमा आफूलाई उभ्याउँदै आफ्नो आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको छ। आमचिनियाँलाई अत्यावश्यक खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, सुविधामा पहुँच, यातायात, आवास, रोजगारीको उपलब्धता सँगसँगै विज्ञान तथा प्रविधिको क्षेत्रमा विकास तथा वातावरणीय सुधार र संरक्षणमा चीन निरन्तर लागिरहेको छ।

यसरी चीन आफ्ना नागरिकको जीवनको गुणस्तर वृद्धि गर्न मात्र नभइ अन्तर्राष्ट्रिय जगत्को पनि भलो खोज्दै साझा समृद्धि हासिल गर्ने प्रयासमा अग्रसर छ।

विगत ७५ वर्षमा चीनको नवप्रवर्तन क्षमतामा पनि वृद्धि भएको छ। विज्ञान र प्रविधिको क्षेत्रमा विश्वमै एक प्रभावशाली देश बनेको छ र विश्वव्यापी प्राविधिक विकासमा सकारात्मक योगदान दिएको छ। चीन अनुसन्धान तथा विकासमा खर्चिने रकममा सन् २०१३ देखि विश्वको दोस्रो स्थानमा रहेको छ र सन् २०३५ सम्ममा विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा विश्व कै एक सबल राष्ट्र बन्ने लक्ष्यका साथ लम्किरहेको छ।

चीनमा कृत्रिम बुद्धिमत्ता (एआई) आविष्कार प्याटेन्टको संख्या २०२३ मा ३,७८,००० पुगेको छ। चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (सीएनआईपीए) को अनुसार, चीनको वृद्धि दर विश्वव्यापी औसतभन्दा १.४ गुना बढी छ। एआई उद्योग चीनको डिजिटल अर्थतन्त्रको बलियो नवप्रवर्तन जीवन शक्ति बनेको छ। २०२३ मा डिजिटल अर्थतन्त्रका प्रमुख उद्योगहरूको जीडीपीमा १० प्रतिशत योगदान रहेको थियो।

चीनले अन्तरिक्षमा थ्येनकोङ अन्तरिक्ष स्टेसनको निर्माणका साथै उपग्रहहरूको प्रक्षेपण र चन्द्रमालगायत अरू ग्रहहरूको अनुसन्धानलाई पनि तीव्रता दिएको छ। चीनले सबैभन्दा छोटो समयमा कार्बन उत्सर्जनको शिखरबाट कार्बन तटस्थताको प्रक्रिया पूरा गर्दैछ। र एक जिम्मेवार प्रमुख देशको रूपमा विश्वव्यापी जलवायु परिवर्तनको प्रतिक्रियामा ठूलो योगदान गरिरहेको छ। हरित विकासमा चीनले फलदायी नतिजा हासिल गरेको छ।

यसैगरी नयाँ चीन स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको भूमिका उल्लेखनीय रहँदैआएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र विश्वव्यापी सुशासनमा भूमिका खेलिरहेको चीनले जलवायु परिवर्तन र जनस्वास्थ्यलगायत विश्वव्यापी चुनौतीहरूको बहुपक्षीयता र सहयोगात्मक समाधानको वकालत गर्दैआएको छ।

यसै वर्ष चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको ७०औँ वार्षिकोत्सव पनि मनाएको छ। मानवजातिका लागि साझा भविष्यको समुदाय निर्माण गर्ने दृष्टिकोण र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले एउटै भावनालाई अगाडि बढाउँछ। चीनले सधैँ मानवजातिको भविष्य र जनताको हितलाई ध्यानमा राख्दै विश्व मञ्चमा रक्षक, निर्माणकर्ता र योगदानकर्ताको रूपमा अपरिहार्य र भरपर्दो महत्त्वपूर्ण शक्तिको रूपमा आफूलाई उभ्याएको छ।

विगत एक दशकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने पहल, बेल्ट एन्ड रोड पहल, वैश्विक विकास पहल, वैश्विक सुरक्षा पहल, र वैश्विक सभ्यता पहललाई अगाडि बढाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले समान र व्यवस्थित बहुध्रुवीय विश्व र सबैलाई फाइदा पुग्ने समावेशी आर्थिक भूमण्डलीकरणको वकालत गर्न र साझा भविष्य समुदायको निर्माणलाई प्रवर्द्धन गर्न वैश्विक विकास पहल, वैश्विक सुरक्षा पहल, र वैश्विक सभ्यता पहलको कार्यान्वयनलाई अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। जनगणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउन बेइजिङको जन बृहत् सभाभवनमा आयोजित स्वागत समारोहमा सीले उक्त टिप्पणी गरेका हुन्।

अक्टोबर १ १९४९ मा स्थापित नयाँ चीनको वार्षिकोत्सव एउटा जन्मोत्सव मात्र होइन दशकौँको रूपान्तरण र उल्लेखनीय यात्राको प्रतिबिम्ब पनि हो। चीनले यो महत्त्वपूर्ण ७५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा विगतको सफलताको उत्सव मात्रै मनाइरहेको छैन, आगामी दिनहरूमा विश्वव्यापी गतिशीलतालाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य पनि राखेको छ।

नयाँ युगको नयाँ यात्रामा पार्टी र देशको केन्द्रीय कार्य भनेको चिनियाँ आधुनिकीकरणलाई पछ्याउँदै सबै मोर्चामा चीनलाई बलियो राष्ट्रको रूपमा निर्माण गर्नु र राष्ट्रिय कायाकल्प प्राप्त गर्नु रहेको सीको भनाइ छ। ‘यस अभूतपूर्व महान् कार्यलाई निरन्तर अगाडि बढाउनु नै चीनको वार्षिकोत्सव मनाउने उत्तम तरिका हो’, उनले भने ।

राष्ट्रपति सीले ७५ वर्षको अथक प्रयासपछि चिनियाँ आधुनिकीकरणका लागि आशाजनक सम्भावनाहरू देखा परेको र अगाडिको बाटोमा सम्भावित जोखिम र चुनौतीहरू विरुद्ध सचेत र तयार रहन आग्रह गर्दै भने, ‘हामी सम्भावित खतराहरूप्रति सजग रहनुपर्छ र राम्रोसँग तयार रहनुपर्छ।’

सीले आफ्नो सम्बोधनमा चीनको विकासको ख्याल राख्ने र सहयोग गर्ने मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय मित्रहरूलाई पनि हृदयदेखि कृतज्ञता व्यक्त गरेका थिए।

विगत ७५ वर्षको चीनको उल्लेखनीय यात्राले विश्वलाई प्रेरणा दिएको छ। नेपालको निरन्तर विकासमा पनि चीनको अनुभव धेरै नै लाभदायक र अत्यावश्यक पनि छ। चीनले प्रस्तुत गरेका विभिन्न पहलहरूमार्फत देश देश बीच सहकार्यका अवसरहरू प्रशस्त छन्, जसबाट समझदारी र सहयोगलाई प्रवर्द्धन गर्दै साझा चुनौतीहरूलाई सम्बोधन गर्ने र संयुक्तरूपमा साझा समृद्धिको भविष्यको मिलेर निर्माण गर्न सकिने छ। चीन र चिनियाँ जनतालाई ७५ औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई। नेपाल र चीन बीचको मित्रता अझै फस्टाउँदै जाओस्।

प्रकाशित: १७ असोज २०८१ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast