काठमाडौँ– बाढीपहिरोले अवरुद्ध सडक मर्मतगरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार चाडपर्वको बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माणगरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ।
बीपी राजमार्गका क्षतिग्रस्त विभिन्न स्थान मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीच छलफल भएको हो।
छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतका अधिकारीसमेत सहभागी थिए। सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालनगरी सवारी आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ।