काठमाडौँ- नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ । नेपालस्थित कोरियाली दूतावासले ५०औं वर्षगाँठका अवसरमा वर्षभरी नै सांस्कृतिक, कूटनीतिक, पर्वतारोहण, एक्सचेन्ज, आर्थिक एवं व्यावसायिक सम्बन्ध, शैक्षिक तथा श्रम सम्बन्ध, खेलकूद लगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ ।
मंगलबार १ अक्टुबरमा गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपाल र कोरियाबीच बहुआयमिक सम्बन्ध प्रगाढ भएको चर्चा गरे । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशका सरकारदेखि व्यवसायी र जनताको तहसम्म मजबुत सम्बन्ध स्थापित भएको उल्लेख गर्दै राजदूत थेयङले कोरिया नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रमुख स्रोत मुलुक भएको बताए।
दक्षिण कोरियाका लोकप्रिय एवं विख्यात कम्पनीहरू सामसुङ इलेक्ट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्ब्लिङ उद्योग स्थापना गर्नु नेपालमा लगानी, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनामा महत्वपूर्ण कोशेढुगा भएको भन्दै राजदूत थेयङले कोरियाली लगानीमा २१६ मेगावाटको अपर त्रिशुली १ परियोजना निर्माण भई नेपाललाई स्वच्छ ऊर्जा उत्पादनको केन्द्रका रूपमा विकास गर्ने अभियानमा कोरियाको साथ र समर्थन रहेको धारणा राखेका थिए । यसअघि मोदी खोला जलविद्युत परियोजना र चमेलिया जलविद्युत परियोजनामा पनि कोरियाली लगानी रहेको थियो ।
यसबाहेक साना तथा मझौला उद्यमहरूमा कोरियाली लगानीले नेपालमा मानवस्रोत विकास तथा रोजगारी सिर्जनामा योगदान पुगेको चर्चा गर्दै राजदूत थेयङले नेपालबाट कोरियामा निर्यात हुने विग एउटा प्रमुख उत्पादनको रूपमा विकास भैरहेको जानकारी गराए ।
नेपाल सरकारलाई कोइका मार्फत प्राविधिक र व्यावसायिक जनशक्ति विकासमा सहयोग गरेको कोरियाले एक्जिम बैंकमार्फत ऋण सहयोग समेत उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त कोरिया नेपालीहरूको श्रम गन्तव्य मुलुक पनि हो । हालसम्म एक लाख भन्दा धेरै नेपालीले इपीएस अर्थात् इम्प्लोइमेन्ट पर्मिट सिस्टम अन्तर्गत काम गर्ने अवसर प्राप्त गरेका छन् । गत वर्षमात्रै २० हजार नेपाली इपीएस अन्तर्गत कामका लागि कोरिया गएका थिए ।
नेपालसँग सीधा हवाइ सम्पर्क रहेको कोरियाले नेपालको पर्यटन विकासमा समेत सहयोग पुर्याउँदै आएको छ ।
५० औं वर्षगाँठका अवसरमा आज त्रिभुवन आर्मी अफिसर्स क्लबमा कोरियाली कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।