नख्खु घटनाबारे गृहमन्त्री र रक्षामन्त्री हायलकायल

हिमाल प्रेस १५ असोज २०८१ २०:१५
36
SHARES
नख्खु घटनाबारे गृहमन्त्री र रक्षामन्त्री हायलकायल

काठमाडौँ– ललितपुरको नख्खु खोलाको बीचमा रहेको टहरोमा उभिएर चार घण्टासम्म गुहार माग्दा पनि बचाउन नसकेको विषयमा गृहमन्त्री रेमश लेखक र रक्षामन्त्री मानवीर राई सांसदहरुसामु लाचार भएर प्रस्तुत भएका छन्।

संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका मन्त्रीद्वयमाथि सांसदहरुले नागरिकले बचाऊ भनेर लामो समय गुहार माग्दा पनि मन्त्रालय मातहत रहेका सुरक्षा संयन्त्र परिचालन गर्न नसक्नुको कारण सोधेर र्यार्खाती पारेका थिए।

जबाफमा उनीहरुले मौसम खराबीका कारण हेलिकोप्टर परिचालन गर्न नसकिएको भनेर पन्छिएका हुन्। शनिबार नख्खुखोलामा रहेको टहरोको छानामा बसेर चार घन्टासम्म गुहार माग्दा पनि उद्धार नभएपछि तीनजनाको बगेर ज्यान गएको थियो।

कांग्रेसका गगनकुमार थापाले नख्खु घटनाबारे छानबिन गर्नुपर्ने प्रस्ताव गरे। उनले उद्धारमा कसले काम नगरेको? राजनीतिक नेतृत्व, प्रहरी, प्रशासन जो भए पनि दोषी सजायको भागीदार हुनुपर्ने बताए।

सांसद प्रकाश अधिकारीले प्रश्न गरे, ‘काठमाडौँमै छानोमा चार घन्टा गुहार माग्दा भिजिबिलिटी पुगेन भनेर कसले पत्याउँछ?’ उनले त्यति ठूलो क्षति भएको देख्दादेख्दै पनि राज्यले बेवास्ता गरेको आरोप लगाए।

पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौँको भिजिबिलिटी राम्रो थिएन भने गृहमन्त्रीले हचुवामा जबाफ दिएको शंका व्यक्त गरे।

उनले भने, ‘भिजिबिलिटी छैन भनेर चित्तमा लागेर भन्नुभएको हो, कि डेटामा, डेटामा छैन। एभियसन अथोरिटीअनुसार ११ सय थियो। एक हजार भिजिबिलिटीमा हेलिकप्टर उडेको छ। चार घण्टासम्म गुहार माग्दा भिजिबिलिटी भएन भन्ने कहाँबाट आयो?’

गृहमन्त्री लेखकले नख्खुमा दुःखद घटना भएको बताए। उनले भने, ‘हामीले प्रयत्न गरेको हो। हेलिकप्टरबाट गर्दा प्रतिकूल मौसमका कारण हुन सकेन।’

मन्त्री लेखकले प्रत्यक्ष प्रभावित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताए। उनले भने, ‘राहत र खोजी जारी छ। राहत दिने कुरामा कुनै कमजोरी हुनेछैन। समन्वयात्मक हिसाबले तीनै तहबाट राहत दिइनेछ।’

रक्षामन्त्री मानवीर राईले प्रतिकूल मौसमका कारण माग हुनेबित्तिकै हेलिकोप्टर उडान नसकिएको बताए। उनले हेलिकप्टर नगइदिएको थप क्षति हुने बताए।

प्रकाशित: १५ असोज २०८१ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =