प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १५ असोज २०८१ १८:००
प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलीपकुमार गुप्तासहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रधानाध्यापक गुप्ताले आ.व. २०७१/०७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता हिनामिना गरेको, विद्यार्थीका नाममा विभिन्न शीर्षकमा आएको विभिन्न आर्थिक वर्षको छात्रवृत्ति रकम विद्यार्थीलाई नबाँडेको, आ.व. २०७३/०७४ मा निकासा भएको पीसीएफ अनुदानबापतको रकमसमेत शिक्षक नराखी हिनामिना गरेको, पाठ्यपुस्तक खरिदमा अनियमितता गरी विगत ५ वर्षदेखि विद्यालयको आयव्यय सार्वजनिक नगरी विद्यालय कोषको रकम हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गरेपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

गुप्ता प्रधानाध्यापक रहँदा विद्यालयको शौचालय निर्माणमा ६२,५८३.३६ रुपैयाँ छात्रवृत्तिको रकममा ३,१०,४०० रुपैयाँ, पाठ्यपुस्तकको रकम १,२६,२४७.२६ रुपैयाँ र पीसीएफ शिक्षक तलबभत्ता १,५०,६८६ रुपैयाँ निकासा लिई ६,४९,९.६२ रुपैयाँ मनोमानी ढंगले खर्च गरी गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। अख्तियारले गुप्ताबाट ६,४९,९.६२ रुपैयाँ बिगो असुल उपर गरेको छ।

शंकर माविका मुखिया श्रवणकुमार चौधरीले प्रधानाध्यापक गुप्तासँग मिलेर छात्रवृत्ति रकम ३,१०,४०० रुपैयाँ, पीसीएफ शिक्षक तलबभत्ताको १,५०,६८६ रुपैयाँ निकासा रकम मनोमानी गरेको र पाठ्यपुस्तकको नक्कली बिलसमेत बनाएर १,२६,२४७.२६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ। उनीसँग अख्तियारले ५,८७, ३००.३३.२६ रुपैयाँ बिगो असुल उपर माग गरेको छ।

अख्तियारले शंकर माविकै शिक्षक ह्रदयराम चौधरीले शौचालय निर्माणका लागि निकासा भएको २,००,००० रुपैयाँको चेकमा दस्तखत गरेको र उक्त निकासा भएको रकमबाट १,३७,४१६.६४ रुपैयाँ मात्र स्थलगत रुपमा काम भएको देखिएको र ६२,५८३.३६ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको छ। अख्तियारले चौधरीबाट ६२,५८३.३६ रुपैयाँ बिगो माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =