पहिरोले अवरुद्ध सडक : कहाँ बन्यो, कहाँ बनाइँदै छ?

हिमाल प्रेस १५ असोज २०८१ १६:४१
18
SHARES
पहिरोले अवरुद्ध सडक : कहाँ बन्यो, कहाँ बनाइँदै छ?

हेटौंडा- बागमती प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौँलाई जोड्न छोटो दूरीका आधा दर्जनभन्दा बढी सडक छन्। ती सडक सामान्य अवस्थामा हेटौंडाबाट काठमाडौँ आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ। तर यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोका कारण ती अधिकांश सडक यतिबेला अवरुद्ध छन्।

अवरुद्ध भएकामध्ये त्रिभुवन लोकपथ सडक खण्डअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौँ जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। एकतर्फी रुपमा सञ्चालनमा आएको सो सडकको अधिकांश भाग ग्राभेल र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले आउजाउ गर्नेले ठूलो सास्ती भोग्नुपरेको छ। काठमाडौँ जान धेरैले हेटौंडा–भीमफेदी–दक्षिणकालीको सडक प्रयोग गर्दछन्।

घरमा बुबा बिरामी परेकाले जतिसक्दो छिटो चाँडो घर फकिर्ने सोचमा थिए रौतहटको चन्द्रपुर नगरपालिका–८ का दुर्गेश साह। चित्लाङको बाटो खुल्यो भनेर थाहा पाएपछि उनी यही बाटो भएर घर फर्किने योजनाका साथ आफ्नो मोटरसाइकलमा निस्किए। बाटो छोटो र राम्रो होला भनेर मोटरसाइकलमा यही बाटोबाट आएका साहले पनि साह्रै दुःख पाएको सुनाए।

‘यस्तो बाटो होला भनेर मैले कल्पना नै गरेको थिइनँ’, उनले भने,‘बाटोको अवस्थाका कारण आठ घण्टामा पनि घर पुग्न सकिएन।’ अहिले हेटौंडा–काठमाडौँ यात्रा गर्ने सबै यात्रुको पीडा उस्तै छ। बाढीपहिरोले अवरुद्ध भएका सडक खुलाउन पालिकाका जनप्रतिनिधि, बागमती प्रदेश सरकारका सचिवदेखि मन्त्रीसम्म आफैँ खटिएका छन्।

हेटौंडा र काठमाडौँबीच सडक सम्पर्क जोड्न बागमती प्रदेश सरकारले मन्त्रीको नेतृत्वमा सडक मर्मत गर्ने काम थालेको छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिएको छ।

हेटौँडा–काठमाडौँ जोड्ने सबै सडकहरू बन्द रहेकाले तत्काल कुलेखानी–फाखेल फर्पिङ सडक सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ। सोहीअनुसार मन्त्री मास्के पूर्वाधार विकास कार्यालय ललितपुरको समन्वयमा दुई वटा जेसिवीसहित सडक खुलाउने काममा लागेका छन्।

भीमफेदीबाट कुलेखानीतर्फको सडकको पहिरो गत शनिबार नै प्रहरीले पन्छाएको र सो खण्डमा खासै समस्या नरहेकाले कुलेखानीसम्म सडक खुलाउने मन्त्रालयको योजना रहेको निर्देशक पोखरेलेको भनाइ छ। कुलेखानीबाट हुमानेसम्मको खण्डमा भने केही पहिरो रहेकाले आजसम्ममा सडक खुलाउने लक्ष्य रहेको उनले बताए।

फाखेलतर्फको बाटो खुलाउन हुमानेबाट कुलेखानी खण्डमा अर्को टोली परिचालन गरिएको छ। मन्त्रालयका इन्जिनीयर दीपेन्द्र रैतालाई फिल्डमा खटाएर हुमानेबाट मकवानपुरतर्फ महालक्ष्मी खोलासम्म सडकको पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

एकातिर पहिरो पन्छाउने र अर्कोतिर त्यही सडकमा पुनः सुख्खा पहिरो आउने क्रम पनि जारी रहेकाले काम गर्न समस्या भइरहेको उनको भनाइ छ। ‘हामीले भैंसे–भीमफेदी सडकमा खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारीमा थियौं’, निर्देशक पोखरेलले भने,‘तर हिजो अचानक फेरि सोही सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पुनः ठूलो पहिरो जाँदा सडक सञ्चालन गर्न समस्या भयो।’

उनका अनुसार आज रातोमाटोको पहिरो पन्छाउन टोली परिचालन गरेका छौं,आज पहिरो पन्छाएर यातायात सञ्चालन गराउन सकिन्छ कि भने अनुमान गरिएको छ।

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको हेटौंडा–काठमाडौँ जोड्ने सडकमध्ये मकवानपुरको हेटौंडा–काठमाडौँ र हेटौंडा–धरान चतरा जोड्ने दुई वटा सडक पुनः सञ्चालनमा आएको छ भने पाँच वटा सडक अझै अवरुद्ध छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौँ जाने सडक हिजोबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालनमा आएको जिप्रका मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। सो सडक खण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो‍।

यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली–धरान चतरा सडक पनि सञ्चालन भएको छ। पहिरो पन्छाएर सञ्चालन भएको केही छिनमै पुनः ठूलो पहिरो खसेपछि हेटौंडा–भैंसे–भिमफेदी सडक अवरुद्ध भएको छ।

कान्ति लोकपथ सडक खण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक अझै पूर्णरुपमा अवरुद्ध छ। दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए।

दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कुलेखानी–मार्छु भित्री सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्णरुपमा अवरुद्ध छ। भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

यता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उपत्यका बाहेकको १० जिल्लाका २६ वटा सडक अझै अवरुद्ध रहेको जनाएको छ । बाढीपहिरोका कारण अवरुद्ध भएकामध्ये मकवानपुरका ११ वटा, सिन्धुलीका आठ, रसुवाका सात, सिन्धुपाल्चोकका तीन, काभ्रे र रामेछापका दुई/दुई वटा सडक अझै अवरुद्ध रहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

प्रकाशित: १५ असोज २०८१ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =