काभ्रे- केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ। घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन्। मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो।
घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन्। घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन्। मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ।
यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ।
बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ।
भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो।
पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन। बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए।
बाढीपहिरोले खानेपानी आपूर्तिमा समस्या
अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ।
खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ। धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको हो।
संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजनासमेत बन्द भएको छ। दुवै नगरको मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानीको आपूर्तिमा समस्या भएको चौलागाईँले बताए। उनका अनुसार क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने छ।
आवश्यक मर्मतकार्य सम्पन्न नहुञ्जेल खानेपानी आपूर्तिमा समस्या भएको संस्थानले जानकारी गराएको छ। एकीकृत खानेपानी आयोजनाको करिब दुई किलोमिटर पाइप बगाएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताए। उनले क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना पुनःनिर्माण गर्न समय लाग्ने भएकाले केही दिनमै विकल्पमा खानेपानी उपलब्ध गराउन प्रक्रिया थालिएको बताए।
धुलिखेल नगरमा विसं २०४७ देखि सञ्चालित खानेपानी आयोजनाको खारखोलास्थित मुहान–इन्टेकमा बाढीपहिरोले क्षति पुर्याउँदा तीन दिनदेखि खानेपानी वितरण रोकिएको छ।
पनौतीमा गएको पहिरोका कारण विभिन्न स्थानमा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण अवरुद्ध भएको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ।