कूटनीतिलाई राज्यहरूबीच सम्बन्ध प्रवर्धन गर्ने एक विशिष्ट कला मानिन्छ। यो कलामा पोख्त अनुभवी व्यक्तिमा कूटनीति सञ्चालन गर्ने सीप, ज्ञान र गुण अनिवार्य हुनुपर्छ। यसका साथै गहन अध्ययनअनुसन्धान र कलासाहित्यप्रतिको लगाव तथा अन्य सिर्जनात्मक कार्यहरूको दक्षता भयो भने त झन् सुनमा सुगन्ध हुन्छ। बहुप्रतिभाशाली हुनु एक सफल कूटनीतिज्ञको परिचायक हुन्छ।
पृथ्वीनारायण शाहको पालाको जैसीकोठा कालान्तरमा मुन्सिखाना बन्दै नेपाली कूटनीतिको मूल संयन्त्र आजको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञहरू कूटनीतिक सीपका अतिरिक्त बहुआयामिक सिर्जनात्मक विधाहरूमा समेत दखल भएमा विश्वमा नेपालको हित प्रवर्धन गर्न थप सहायक हुन्छ। साहित्य, संगीत, कला र संस्कृतिलाई कूटनीतिक कर्मअन्तर्गत ‘सफ्ट पावर’ का रूपमा लिइने भएकाले आज सार्वजनिक कूटनीतिको एक अपरिहार्य तत्त्व मानिएको छ। यसकारणले पनि यस प्रकारको अतिरिक्त प्रतिभाको महत्त्व र गरिमा अझ बढ्न गएको छ।
साहित्य, संगीत र कलाका माध्यमद्वारा नेपाललाई विश्वमा चिनाउने र नेपालप्रति विश्वको ध्यान आकर्षित गराउने गरी मूल रूपमा समग्र राष्ट्रिय हितप्राप्तिको अभीष्टलाई सफलीभूत पार्न नेपालको कूटनीतिक संयन्त्रका धेरै अग्रजहरूको विशिष्ट योगदान छ। यहाँ सबै अग्रजहरूको योगदानका विषयमा लेख्न सम्भव छैन।
साहित्यका सिर्जनात्मक कार्यहरूद्वारा पनि नेपालको कूटनीतिक कर्मलाई विश्वमा थप पहिचान दिलाउने प्रमुख व्यक्तित्वहरूमा नेपाली कूटनीतिका महामनीषिहरू रामप्रसाद मानन्धर, यदुनाथ खनाल र वरिष्ठ कूटनीतिज्ञ कुमार ज्ञवाली, मुकुन्द ढुंगेल अग्रपंक्तिमा पर्दछन्।
परराष्ट्रसेवामा सेवारत वा सेवानिवृत्त भएर पनि कूटनीति, साहित्य, कविता, लेख आदिका पुस्तक लेख्ने र प्रकाशन गर्ने धेरै व्यक्तित्वहरूमा मुरारीराज शर्मा (हाल दिवंगत), हरिकुमार श्रेष्ठ, डा. खगनाथ अधिकारी, डा. दुर्गाबहादुर सुवेदी (दुवसु), प्रकाशकुमार सुवेदी, कृसु क्षेत्री आदि छन्।
आफ्नो कूटनीतिक कालका अनुभव र अनुभूति संगालेर संस्मरणात्मक, विश्लेणात्मक एवम् कूटनीतिक इतिहास आदिका विशिष्ट कृतिहरू प्रकाशन गर्ने केही कूटनीतिज्ञहरूमा डा. मदनकुमार भट्टराई, डा. निरन्जन बस्न्यात, मोहनकृष्ण श्रेष्ठ आदि पर्दछन्।
यसै सिलसिलामा आफ्नो कूटनीतिक सेवा अवधिमा देखेका, भोगेका र अनुभव गरेका विषयलाई कल्पनाको लेप लगाएर यथार्थका पेटाराहरू खोल्ने कार्यमा अग्रणी मानिन्छन् वरिष्ठ कूटनीतिज्ञ तथा पूर्वराजदूत मधुवन पौडेल। २०३५ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका पौडेल नेपाली साहित्यमा स्थापित एक वरिष्ठ कथाकार हुन्।
३६/३७ वर्षको कूटनीतिक सेवा अवधिमा उनले कलकत्ता (भारत), ढाका (बंगलादेश), न्युयोर्क (अमेरिका), अबुधावी (यूएई), सार्क सचिवालय (नेपाल) र कुवेत सिटी (कुवेत) आदिमा विभिन्न कूटनीतिक उच्च पद (राजदूतसमेत) मा रहेर राष्ट्रको प्रत्यक्ष सेवा गरे। मैनाली कथा पुरस्कारसहित आधा दर्जनभन्दा बढी पुस्कार र सम्मान पाएका लेखकले आफ्नो कूटनीतिक सेवा अवधिमा विभिन्न देशहरू पुग्दाको अनुभूति संगालेर नियात्रा पनि लेख्ने गरेका छन्। कूटनीतिक सेवामा देश वा विदेशस्थित नेपाली नियोगमा कार्यरत रहँदा प्राप्त अनुभव र अनुभूतिलाई कथाहरूमार्फत उजागर गर्नु उनको मूल उद्देश्य र विशिष्टता हो।
राजदूत एवम् कूटनीतिज्ञ कथाकार पौडेल नेपाली साहित्यमा एक विशिष्ट हस्ताक्षर हुन्। उनी २००८ मा ठूलाघर, लुभु, ललितपुरमा जन्मिएका हुन्। ७३ वर्षमा पाइला टेकेका पौडेलको पहिलो कथा कृति ‘बाच्नुको विवशता’ २०४१ मा प्रकाशित भयो भने त्यसपछि उनका कृतिहरू नलिनी भाउजू (२०४९), म र मेरो परिवेश (२०५०), चपाइएका दन्त्यकथा (२०५३), अवतरण र अरू कथाहरू(२०५८), आफ्नै अतीत दोहोरिएजस्तो (२०६७) गरी सातवटा कृति प्रकाशित भएका छन्।
अन्तिम कृति प्रकाशित भएको करिब १४ वर्षपछि २०८१ जेठमा उनको एक नयाँ तथा आठौँ कथासंग्रह ‘फाजिल जिन्दगी’ प्रकाशित भएको छ। संग्रहमा विभिन्न कालखण्डहरूमा लेखिएका २७ लघुकथाहरू संग्रहित छन्। यही कथासंग्रह ‘फाजिल जिन्दगी’ मा समावेश कथाहरू, तिनको रचना वर्ष, रचनागर्भ, विषय वस्तु, कथाले दिने संदेश, कथानक र कथ्य शैलीको बिषयमा संक्षिप्त रूपमा चर्चा गर्नु यस लेखको उद्देश्य हो। मैले पुस्तकमा समाविष्ट कथाहरूको रचना अवधिका आधारमा ४० देखि ७० दशक गरी ४ दशकमा लेखिएका कथाका अन्तरवस्तुबारे तुलनात्मक वा विश्लेषणात्मक नभई केवल परिचयात्मक ढंगले एक विवरणात्मक समीक्षा लेख्ने प्रयास गरेको छु।
चार दशकका कथा
४० को दशक : यो संग्रहमा समाविष्ट ४० को दशकमा लेखकद्वारा लेखिएको एउटा मात्र कथा हो- ‘निरर्थक वितृष्णा’ (२०४८)। यो कथा नेपालको वास्तविक राजनीतिक-सामाजिक परिवर्तनको दस्तावेज लाग्दछ। यसमा २०४६ को नेपालको राजनीतिक परिवर्तन र नयाँ व्यवस्था, नयाँ नेतृत्व, हिजोका व्यवस्थाका अटल समर्थकहरू रातारात छेपाराले जस्तो आफ्ना रङहरू फेर्ने वातावरणले निराश एक कलाकारको जीवन भोगाइको वर्णन छ।
उसले नेपालमा पाउनुपर्ने आत्मसम्मान नपाएर विदेश (फ्रान्स) पलायन भएको एक होनाहार कलाकारको नेपालप्रतिको वितृष्णा, त्यो पलायनले परिवारमा पारेको अन्योल, निजी महत्त्वाकांक्षाले परिवारलाई छिन्नभिन्न अवस्थामा पुर्याएको स्थितिको चित्रण सजीव ढंगबाट गरिएको छ।
५० को दशक : यो संग्रहमा लेखकले ५० को दशकमा लेखेका ६ वटा कथा समाविष्ट छन्। पहिलो कथा ‘ठुलेको छोरी'(२०५१) ले भारतको कलकत्तामा नेपाली अबोध किशोरीहरू देहव्यापारमा कसरी फसाइन्छन् र उनीहरू यौनशोषण र उत्पीडनमा पर्दा नेपाली नियोगको सक्रियताका बाबजुद कतिपय अवस्थामा विवश अधिकारी, विवश नेपाली युवतीहरूको दैनिन्दैन्य बनेको यथार्थको भोक्ता हुनुपरेको पीडादायी वर्णन छ। ३० वर्षअघि लेखिएको यो कथाको वास्तविकता आज पनि बदलिएको छैन।
न्युयोर्कको लंग आइल्यान्डको पृष्ठभूमि र त्यो ठाउँको सुन्दर वर्णन गरिएको ‘स्मृतिपटलभित्रको त्यो संसार’ (२०५१) कथाले एक आप्रवासी युवतीप्रति बढेको सम्मान र नजानिँदो आकर्षण मात्र दर्शाउँदैन, उनको कामप्रतिको लगन, मिहेनत र उनको पृष्ठभूमि खोतल्ने प्रयास गरिएको छ। यो कथामा लेखकले आफ्नो पहिलो अमेरिका भ्रमणको अनुभव व्यक्त गरेकोले नियात्राको छनक पनि दिएको छ।
‘विकृति र विवशता’ (२०५२) शीर्षकको कथामा भारतका कोठीहरूमा नारकीय जीवनचक्रमा फसेका नेपाली चेलीहरूको दुरावस्थाको दुष्चक्र भत्काउन नसकिएको विवशता देखाइएको छ। नेपाली निमुखा नारीहरू रहर, बाध्यता र करले कसरी यस्तो दुष्चक्रमा फस्छन् भन्ने देखाइएको छ।
नेपालमा २०५२ सालदेखि सुरु भएको ‘जनयुद्ध’ को पृष्ठभूमिमा लेखिएको ‘मेरो अधुरोपन'(२०५४) शीर्षकको कथाले आफूलाई हुर्काउने पढाउने दिवंगत दाजुभाउजूको चिनो भतिजाको दायित्व बोकेर आफ्नो प्रेमलाई समेत तिलाञ्जलि दिने एक व्यक्तिको समर्पण र दयालु हृदयको परिचय दिएको छ। तत्कालीन सामाजिक व्यवस्थामा प्रेम गरेकी प्रेमिकालाई नपाएर जीवनमा अधुरोपन भएको अनुभूति अभिव्यक्त भएको छ।
‘अमेरिका र मास्टर शिवप्रसाद’ (२०५४) कथा मास्टर शिवप्रसादको जीवन र त्यससँग पलाएका आशा र सपनाहरूको अवसानको वृत्तान्त हो। अमेरिकामा पढ्न जाने नेपालीको आमाबाबु छोडेर उतै बस्ने प्रवृत्ति बढ्ने क्रममा छ। यसले घर, परिवार र समाजको बनावट, संस्कृति र संस्कारको विघटन हुँदै गएको देखाइएको छ।
यसैगरी आमाबाबुको सन्तानप्रतिको स्नेह अव्यक्त हुन्छ। ठूलो भएपछि सन्तानले आमाबाबुप्रति कठोर बन्दै जान्छन् किनभने उनीहरूका बाध्यताले तिनलाई त्यस्तै बनाउँछ वा त्यसतर्फ डोर्याउँछ भन्ने भाव व्यक्त भएको ‘बाबु मेरो चिन्ता नगरेस्’ (२०५५) कथाले बाबु मृत्युशय्यामा पुग्दा पनि बाबुको छोराप्रतिको अमिट स्नेहका अभिव्यक्तिले त्यही दर्शाउँछ।
६० को दशक : यस कृतिमा लेखकले ६० को दशकमा लेखेका १२ कथा संग्रहित छन्।यो दशक लेखकका कथाहरू सिर्जनाको दृष्टिले निकै उर्वर रहेको देखिन्छ। यस दशकको पहिलो कथा ‘अत्तर, अस्मिता र उद्धारको कथा’ (२०६१) खाडीमा नेपाली महिला कामदारले भोग्नुपरिरहेको नाजुक अवस्था, शोषण र हिंसाको तस्बिर बन्न पुगेको छ।
वैदेशिक रोजगारीको आकर्षणले देखाएको मोहमा फसेर आफ्नै बाबुबाट बेचिएकी चेलीको कथा हो यो। वैदेशिक रोजगारीले नेपाली समाज र पारिवारमा ल्याएको विखण्डन र आगामी पुस्ताको जीवन विसंगतिपूर्ण र विरासतहीन बन्न जाने तितो यथार्थ कथाले इंगित गरेको छ।
आप्रवासनले ल्याएको विसंगतिको एक टड्कारो उदाहरण बनेको निराकार नामक पात्र र उसले श्रीमती बनाएर विदेश लगेको श्रीमतीबाट पाएको धोखाको नालीबेली भएको कथा ‘नियतिको पुनरावृत्ति’ (२०६२) मर्मस्पर्शी छ। नेपालबाट जाँदा ‘सियो’ बनेको मान्छे अमेरिका पुगेपछि त्यहाँको हावापानी र संगतले ‘हात्ती’ बन्न पुग्दछ र आफ्नो विगत अनि धरातल पनि बिर्सन समय लगाउँदैन भन्ने बोध गराउँछ।
आप्रवासन नेपालको सन्दर्भमा एक ज्वलन्त समस्या भएर रहेको छ। विदेश जाने रहर, बाध्यता, देखासिकी, अभाव र गरिबी जुनसुकै कारणले हुने विदेश पलायन एक महामारी रोग भएर फैलिएको छ। यसको चपेटामा परेर क्यानाडा पुगेका एक युवकको व्यथा, पीडा र निराशाको छबी ‘आजको यायावर'(२०६२) कथा मार्फत हाम्रो अगाडि आउँछ। कथाको पात्र शिशिर त एक प्रतिनिधि नेपाली पात्र मात्र हो।
‘गर्मी अनि गर्मागर्मी’ (२०६२) कथाले वैदेशिक रोजगारी आज नेपाल र बंगलादेशजस्ता देशहरूको निमित्त वैदेशिक मुद्राको आय गर्ने एक प्रमुख माध्यम बनेको यथार्थ भए तापनि यसबाट उत्पन्न विभिन्न विसंगति र सामाजिक विखण्डनले यो बाध्यता र अभिशापको पर्याय पनि बन्दै गएको अनुभव हुन्छ। खाडी राष्ट्रका भीमकाय भवनका सिसमका भित्तामा झुण्डिएर काम गरिरहेका युवाका सपना र यथार्थबीचको खाडलमा भासिएका आममानिसको पीडा सफलतापूर्वक दर्शाइएको छ यो कथामा।
नेपालको धर्मे होस् वा बंगलादेशी हारुन दुवैका आआफ्नै कथाव्यथा छन्। रक्सी खाने कुलतबाट पीडित नेपालीको पीडा होस् वा स्वास्नीले अर्काको पेट बोकेको थाहा पाएर आत्महत्या गर्न उद्यत बंगलादेशी हुन् वा नेपाली दुवै विदेश मोह र सपनामा फसेका श्रमिकहरूको प्रतिबिम्ब झल्किने पात्रहरू हुन्।
यस्तै वैदेशिक रोजगारीमा गएर धेरै कमाउने लालसामा इराक जस्तो द्वन्द्वग्रस्त देशमा पुगेर मृत्युवरण गर्नु पर्ने विवशतामा परेका एक युवाको कथा हो – ‘धरोधर्म इराक जान्न’ (२०६२)। यसले विदेशमा रोजगारी खोज्दै पुगेका नेपाली युवाको विवशता, दुर्दशा र कारुणिक अवस्थाको चित्रण गरेको छ।
वैदेशिक रोजगारीमा खाडी राष्ट्रहरूमा जाने नेपाली श्रमिकहरू गाडी दुर्घटनालगायत विभिन्न कारणले जेल पर्ने गरेका छन्। मान्छे मारेको अभियोगमा मृत्युदण्ड दिने प्रचलन रहेको एक दयालु शेखद्वारा ‘ब्लड मनी’ भुक्तानी भएर जेलमुक्त भएका एक नेपाली श्रमिकको कथा हो ‘कुशबहादुरले फेरि स्टियरिङ समात्यो’ (२०६३)।
विदेशी जेलमा अहिले पनि असंख्य नेपाली कामदार विभिन्न आरोपमा थुनिएको अवस्था छ र आफूले नगरेका तर परिबन्दले फसेका निर्दोष नेपाली नागरिकका पक्षमा लडिदिने बोलिदिने अभिभावकको अभावले नेपाली नागरिक विदेशमा टुहुरा बनेका छन्। खाडी राष्ट्रकै परिवेशमा लेखिएको अर्को कथा हो ‘मोनोटोनस दैनिकी’ (२०६६) जसमा नेपालबाट प्रेमविवाह गरी विदेशी भूमि त्यो पनि खाडी राष्ट्रमा पुगेका दम्पतीहरूका सम्बन्धमा आएको दरार, असमञ्जरस्य र खटपटले लिएको विकराल रूपको प्रतिबिम्ब देखाइएको छ।
देशमा आय राम्रो नभएर परिवार पाल्न धौधौ पर्ने अवस्थाबाट मुक्ति हुन् पाइने सपनामा खाडीमा कामदारकमा रूपमा गएका नेपाली श्रमिकहरूको दर्दनीय अवस्थाको चित्रण गरेको कथा हो-‘यसको अन्त्य कहिले?’ (२०६६)। वैदेशिक रोजगारीले परिवारमा ल्याएको विखण्डन, नेपालमा लोग्ने नहुँदा सिर्जना हुने असन्तोष, सामाजिक विकृति र परिवार छिन्नभिन्न मात्र होइन, आत्महत्या र दुर्घटनासम्म भएका घटनाको यथार्थ बनेको स्थिति र नियति भोग्नुपर्ने अवस्थामा आज नेपाल र नेपाली समाज पुगेको छ।
‘कालचक्र’ (२०६७) शीर्षक कथामा विदेश गएर पनि नेपाली एकल महिलाको पीडा, व्यथा, उत्पीडन र संघर्षबाट आफूलाई स्थापित गराउन पाएको सफलताले उत्प्रेरणाको काम गरेको देखिन्छ। किशोर/युवावस्थाका पुरुष-नारीबीचको सामान्य आकर्षण उमेर ढल्केपछि बुढेसकालमा जम्काभेट हुँदा उत्पन्न हुने एक प्रकारको मित्रता र स्नेहिल सम्बन्ध उजागर गर्दछ भने पुरुषको अहंमताले नष्ट नहुने नारी शक्ति र धैर्य पहिचान गर्न सकिने गरी रोचकतापूर्वक लेखिएको आमनेपाली महिलाको कथाजस्तो लाग्दछ।
‘पलायनको पीडा’ (२०६७) कथामा डीभी परेर अमेरिका पुगेका नेपालीको सपना र अमेरिकाको वास्तविकता बीचको मिलन नहुने खाडलबारे बुझ्न नसकेका नेपालीको व्यथा लेखिएको छ।यसमा अमेरिका भर्खर पुगेका नवदम्पतीले जिजीविषाका निमित्त गरेका संघर्ष र अमेरिका (खासगरी म्यानहाटन, न्युयोर्क सहर) को चित्रण गरिएको छ।
‘अर्काले लेखिदिएको नियति'(२०६८) मा लेखकले वैदेशिक रोजगारी नामको मिठो सपना र अदृश्य जालोमा परेर मृत्युवरण गर्न पुगेको एक युवक मुरलीधरको माध्यमबाट खाडी राष्ट्रहरूमा पुगेका बहुसंख्यक नेपालीको यथार्थ बताउँदै गर्दा यो त्यस प्रकारको नियति भोग्न नेपालीको प्रतिनिधिमूलक कथा बन्न गएको छ।
खाडी राष्ट्र कुवेत नेपाली महिला कामदारका निमित्त एक गन्तव्य बनेको छ। कामको प्रकृति नबुझी, भाषा र संस्कृतिको कुनै सामान्य ज्ञानसमेत नभएका युवतीहरू कुवेत जानु नै एक विकराल समस्या भएको छ। बाध्यताले विदेशीको घरमा घरेलु कामदार (हाउसमेड) भएर बस्दा पाएका अत्याचार, शोषण र ताडनाविरुद्ध उभिएर नेपाल फर्किन संकल्पित युवतीको मार्मिक कथा बन्न पुगेको छ ‘गलत सोच र दिशाहीन गन्तव्य’ (२०६९)।
७० को दशक: लेखकद्वारा ७० को दशकमा लेखिएका ८ वटा कथा यसमा संग्रहित छन्। यो दशकको पहिलो कथा ‘उहापोहबाट अलग एउटा मान्छे (२०७०) ले नेपाल ‘साधुलाई सुली, चोरलाई चौतारी’ हुने देश हुन पुगेको आभास दिन्छ। कर्तव्य, इमानदारी, बफादारिता, निडरपनाजस्ता गुणहरू यहाँको व्यवस्थामा मूल्यहीन छन्।
हिजो गुण्डाराज चलाउने मान्छे देशको बागडोर सम्हालेर बसेको देख्दा एक इमानदार कर्तव्यनिष्ठ प्रहरी अधिकृत आफ्नो मातृभूमिको भविष्य सम्झेर विदेशमा रहेर पनि मर्माहत हुन पुगेको परिदृश्य देखाएका छन् लेखकले यो कथामा। कथा ‘फर्स्ट ब्वाई’ (२०७१) ले एक होनहार किशोर (युवा) को पतनको कथा बताएको छ।
आफूले होस् सम्हालेदेखि नै बाउ मानेको व्यक्ति असली बाउ नभएको ज्ञात भएपछि जीवनमा गएको ठुलो पहिरोको चोटले दिग्भ्रमित भएर अमेरिकामा भौँतारिन बाध्य बनेको युवाको कथा पढ्दै जाँदा आँसु नै चुहिन्छ; मन छियाछिया पार्दछ।
‘शोभा म्याडम’ (२०७१) काठमाडौँ, बनारस र न्युयोर्कको पृष्ठभूमिमा लेखिएको कथाले एक संघर्षशील नारी कसरी पतिले त्याग गरे पश्चात साहस र हिम्मतसाथ आफ्नो अस्तित्व स्थापित गर्न सक्दछिन् भन्ने देखाएको छ। एक गहन उपन्यासजस्तो पढिरहुँ लाग्ने यो कथा भन्दाभन्दै कथाकारले सकाएको अनुभूत हुन्छ।
‘दुविधैदुविधाको संघारमा बाँचेको जिन्दगी'(२०७४) ले नेपाली समाजमा परिवारको परम्परागत परिभाषाको स्खलन हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। आफूलाई पर्दा हिजो सहयोग गरेको दाजुभाउजूप्रति गर्नुपर्ने दायित्व र विदेशको व्यक्तिवादी संस्कृतिबीच तादाम्य राख्न दुविधारत एक पात्रको मनोवैज्ञानिक उहापोहको चित्रण गरिएको कथा हो यो।
‘सपनाको संसार’ (२०७४) मा कथाकार नियतिले मानिसको जीवनलाई कहाँ पुर्याउँछ र जतिसुकै आशावादी भए पनि आफ्नो पीडा भित्रभित्रै लुकाएर बाँच्नुपर्ने बाध्यतामा परेको साथीलाई विदेशी भूमि (क्यानाडा) मा कसिंगर टिप्दै गरेको भेट्नुपर्दाको पीडा व्यक्त गर्दछन्।
अर्को कथा ‘अनिर्णयको पीडा'(२०७५) मा अविनाशमार्फत नेपालका ८० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व गराउँदै रोजगारी र अध्ययनका निमित्त विदेश जानुपर्ने बाध्यात्मक स्थितिमा नेपाली युवा एक प्रकारको कुजालोमा परेको विषय उठान गरिएको छ।
देशमा रोजगारीको अवसर उपलब्ध नहुँदा युवाहरूले यो दुर्दशा भोग्नुपरिरहेको अवस्था विद्यमान छ। उद्योगधन्दा, बन्दव्यापार गर्ने र आफ्नो मातृभूमिमा पसिना बगाउने उत्कट चाहना हुँदाहुँदै पनि बिदेसिनुपर्ने बाध्यतामा फसेका नेपाली युवाको मार्मिक कथा हो। साथै यो खाडी राष्ट्रमा मडारिएको राजनीतिक संकटका कारण स्वदेश फ़र्काइएका युवाको मनोस्थिति दर्शिएको कथा हो।
‘झरेको पातमा हराएको जिन्दगी’ (२०७६) बाल्यकाल किशोर अवस्थादेखि युवावास्थाका दुई मित्रहरूको यो कथाव्यथाले एक होनहार युवाको विदेश (क्यानडा) पलायन र अवसानको परिचय दिन्छ। यो कथाको प्रत्येक हरफ मन छुने तरिकाले कथाकार कथा बुन्छन्। उनले मानिसको नियति जहाँ गए पनि सँगै गएको हुन्छ भन्ने देखाएका छन्।
पुस्तकको नाम राखिएको कथा ‘फाजिल जिन्दगी’ (२०७६) मा आज सबै मानिसको सपना बनेको अमेरिकामा आफ्नो सपनाविपरीत अवैध आप्रवासी भएर बाँच्न गर्नुपरेको संघर्ष मात्र देखाउँदैन यसले युवावस्थाको १७ वर्ष अमेरिकी सहरहरूमा आफ्नो वैधानिक अस्तित्वको निमित्त भौँतारिँदै बाँच्नुपर्दाको पीडा व्यक्त छ। यो कथा विदेश पलायन भएका प्रत्येक नेपालीको वाध्यता र विवशताको प्रतिबिम्ब बनेको छ।
‘फाजिल जिन्दगी’ का विशेषता
पृथक् भावभूमि : कथा लेखनको भावभूमि अध्ययन गर्दा यसमा समाविष्ट कथाहरूलाई तीन प्रमुख खण्डमा बाँडन सकिन्छ। खाडी राष्ट्रहरूमा कार्यरत नेपाली श्रमिकका दु:खसुखलाई विषयवस्तु बनाएर लेखिएका कथा पहिलो खण्डमा पर्छन् जसलाई खाडी खण्ड भन्न सकिन्छ।
त्यस्तै अमेरिका-क्यानडाजस्ता देशहरूमा आप्रवासीका रूपमा पुगेका नेपालीका विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका कथा अमेरिका-क्यानडा खण्डमा पर्दछन्। अन्य खण्डमा भारतलगायतका देशहरूमा विभिन्न कारणले पुगेका नेपालीहरूलाई मूल विषयवस्तु बनाएर लेखिएका कथामा विभक्त गर्न सकिन्छ।
यो संग्रहमा अमेरिका-क्यानडालाई अधारभूमि बनाएर लेखिएका १५ कथा छन् भने खाडी राष्ट्रहरूमा रहेका नेपाली श्रमिकका विषयमा केन्द्रित भएर लेखिएका ९ वटा कथा छन्। त्यस्तै भारत आधारभूमि बनाएर लेखिएका ३ कथा छन् भने फ्रान्सलाई अधारभूमि बनाएर लेखिएको १ वटा कथा छ।
कूटनीतिक कार्य अनुभवको झल्को : विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा लेखक कार्यरत रहँदा देखेका, भोगेका, अनुभूत गरेका विषयहरूलाई कथानक बनाएर अनुभवजन्य कथा प्रस्तुत गरिएको देखिन्छ। कथाहरूबाट पाठकले लेखक कार्यरत रहेका देश, सहर र स्थानहरूका बारेमा विविध जानकारी मात्र पाउने नभई त्यहाँ पुगेका नेपालीको अवस्था, पीडा, आशा र हाँसो, रोदन आदि अनुभव गर्न पाउँछन् यी कथाहरूमा।
विविध कारणले विदेशमा नेपाली डायोस्पोराको संख्या बढेको कारणले नेपाली कूटनीतिक नियोगहरूको मूल कार्यक्षेत्र गैरआवासीय नेपालीसँग सम्बन्धित हुन गएको छ। लेखक यही नेपाली डायोस्पोरामा देश(नेपाल) खोज्ने प्रयास गर्दछन आफ्ना कथाहरूमा।
संस्मरण/नियात्राको प्रतिबिम्ब : संग्रहका सबैजसो कथाले विभिन्न देशका सहर, त्यहाँका मानिस, रहनसहन, संस्कृति, खानपान, सभ्यता, इतिहास, जीवनको चित्रण मात्र गर्दैन यथार्थवादी धारका कथाहरू भएकाले ती ठाउँमा नेपालीहरूले भोगेको दु:खसुख तितोमिठो अनुभूति पनि पस्किन्छन्।
साथै कथाहरूले लेखकले भोगेका वास्तविक परिस्थिति, समय र घटना लेखिएको जस्तो अनुभव हुँदा कतै लेखकले संस्मरण त कतै नियात्रा लेखनको आभास दिएको पाइनु कथाहरूका थप विशिष्टता हुन्।
सूत्रधार वा कथा वाचकमा लेखक : सबैजसो कथाका सूत्रधार वा ‘कथा-वाचक’ मा कूटनीतिक नियोगमा काम गर्ने कुनै अधिकारी वा व्यक्ति उल्लेख भएकोले ‘कथा-वाचक’(अर्थात, स्वयं लेखक?) को कूटनीतिक सेवाका अवसरमा विश्वका विभिन्न देश/सहरहरूमा कार्यरत रहँदा प्रत्यक्ष भोगेको वा देखेको वा अनुभूत गरेको विषयवस्तुलाई सिर्जनात्मक, कलात्मक र कथात्मक ढंगबाट प्रस्तुति गरिनु संग्रहका कथाका अर्को एक महत्त्वपूर्ण विशेषता हो।
बोधगम्य शैली : कथामा पात्र अभियोजन, कथानक, कथ्य बनोट, सहज वाक्य विन्यास र सरल शब्दमा सबैले बोध गर्न सक्ने गरी लेख्न कथाकार सिद्धहस्त छन्। संग्रहित कथाहरूको अध्ययन गर्दा यो तथ्य स्पष्ट हुन्छ। कथालाई सलल्ल बगाएर भन्न सक्ने खुबी भएका कथाकारको कथामा प्रयोग गर्ने शिल्पले पाठकलाई कौतूकमय बनाउँदै कथामा बाँध्न सक्षम हुनु कथाका थप विशेषता हुन्। कथानकलाई ‘कथा-वाचक’ ले डोर्याउँदै लैजाने र पाठकलाई उत्सुकतता थप्दै एक्कासि पटाक्षेप गर्नु पौडेलका लेखकीय शैलीका परिचायक हुन्।
नेपाली मनोविज्ञानको चित्रण : विदेशमा रहँदा देखिएका र भोगिएका त्यहाँ बस्ने नेपालीको कथाव्यथ कथ्ने सीपलाई आफ्नो विशेष शैली बनाएका पौडेलका कथाले नेपाल भित्र र नेपाल बाहिरको अवस्थामा नेपालीको मनोविज्ञानलाई केलाउन सशक्त प्रस्तुति कथाका प्रमुख विशेषतामध्ये एक हुन्।
विगत र वर्तमानको मिलन : कथाकार पौडेल कथा कथ्ने क्रममा फ्ल्यास ब्याकमा गएर विगतलाई वर्तमानसँग साक्षात्कार गराउँछन् जो कथाहरूका महत्त्वपूर्ण विशेषता लाग्दछ। विभिन्न रङका ऊनले एक सुन्दर स्वेटर बुनेजस्तो कथालाई उन्नु र भन्नु उनको खुबी हो। यो प्रत्येक कथामा स्पष्ट देखिन्छ।
पुरुष-नारी मनोविज्ञानको चिरफार : कथाकार पौडेल कथाहरूमा पुरुष र नारी बीचको सम्बन्ध र उनीहरूको मनोविज्ञानलाई राम्रोसँग चिरफार गर्ने कलामा सिपालु कथाकार हुन्।
तथाकथित आधुनिकताको होडमा नेपाली समाजमा परिरहेको अभिजातिय प्रभावलाई मिहीन ढंगमा पर्गेल्न पोख्त देखिन्छन् कथाकार। उनका कथाहरू आममानिसको वरिपरि घुमेको हुन्छ भने महिला-पुरुषको सम्बन्धलाई उनी विशेष महत्त्व दिएर समाजको दमित पक्षलाई उजागर गर्दछन्।
विदेशमा नेपालको परिदृश्य : कथाकार पौडेलले यस संग्रहमा समाविष्ट कथा लेख्दा खासगरी आफू कार्यरत रहेका वा भ्रमण गरेका विदेशी भूमिलाई नै आधारभूमि बनाएका छन् तर कथा भने नेपाल र नेपालीको लेखेका छन्। विदेशमा रहेका नेपालीहरूको बाध्यता, विवशता, सपना, आशा, निराशा, जिजीविषाका निम्ति गरिरहेको संघर्ष, हारजितको कथा लेख्नु नै उनको मूल उद्देश्य रहेको देखिन्छ।
खासगरी वैदेशिक रोजगारीमा गएका भुइँमान्छे भनिने श्रमिकहरूको कथाव्यथा होस् वा आप्रवासनका क्रममा अमेरिका-क्यानडा बसोबास गर्न पुगेर पनि विविध समस्या, जटिलता र विवशतामा परेका नेपालीको कथा लेख्नु उनको मूल विशेषता हो।
उपसंहार
‘फाजिल जिन्दगी’ कथा संग्रहमा कथाकार पूर्वराजदूत मधुवन पौडेलले २०४८ सालदेखि २०७६ सालसम्म लेखेका कथाहरू समाविष्ट छन्। संग्रहित कथाहरूको रचनाकाल हेर्दा पौडेलको कथाकारिताको ऊर्जाशील अवधि ६० को दशक देखिन्छ किनकि यो दशकमा लेखिएका सबैभन्दा बढी १२ कथा यस संग्रहमा समावेश हुनुले पनि सो पुष्टि गर्दछ।
यी कथाहरू विदेशमा नेपाल देखिएको झल्को दिन्छन् भने विदेश जानैपर्ने अवस्था र बाध्यतामा पुगेको नेपाली युवा र तिनले विदेशी भूमिमा पाएका प्रताडना र दु:खको साक्षी भएर रचिएका कथाहरूले पाठकको मन, मुटु र मस्तिष्क छुन्छन्।
यसैगरी आजको नेपालको अर्थतन्त्रको मूल आधार बन्न पुगेको वैदेशिक रोजगारीले देशमा विदेशी मुद्राको सञ्चिति मात्र बढाएको छैन नेपाली समाजको परम्परागत बनोट, मनोविज्ञान, परिवारका सदस्यहरूबीचको सम्बन्धमा नकारात्मक प्रभाव पारेको छ। कथाहरूले यस्ता विषयमा ध्यान दिन ढिला भइसकेको इंगित गर्दछन्।
सामाजिक सन्देश बोकेका यी कथाले वर्तमानमा नेपालीले भोगिरहेको वास्तविकताको चित्रण मात्र गरेको होइन, उनीहरूको विषयमा बुझ्न, अध्ययन गर्न र आवश्यक नीति निर्माण गरी उनीहरूलाई स्वदेशमा रोजगार उपलब्ध गराउन लिनुपर्ने पहलतर्फ पनि जोड दिएको महसुस हुन्छ।
पौडेल एक यथार्थवादी कथाकार हुन् र उनी काल्पनिकता वा स्वैरकाल्पनिक संसारमा रमाउनु भन्दा यथार्थलाई आफ्नो कथाको मूल केन्द्र बनाउँछन् र कथानकको लेप लगाउँछन्। उनी कथाका मूल पात्रहरू समाजमा नजरअन्दाज गरिएका वा सीमान्तकृत पारिएका ठूलो तप्कालाई प्रतिनिधित्व गर्ने पात्र बनाउन रुचाउँछन् जसको पक्षमा बोलिदिने लेखिदिने वा पैरवी गरिदिने कोही छैन।
कथाकार ती सीमान्तकृत श्रमिकहरूका प्रबल प्रवक्ता बनेको अनुभूति हुन्छ। गरिबी, शोषण र असमानताको चक्रबाट निस्कन वैदेशिक रोजगारमा जान बाध्य युवाले विदेशी भूमिमा पाएको पीडालाई ती देशहरूमा कार्यरत रहँदा कथाकारले नजिकबाट अनुभूत मात्र गरेका छैनन् तिनका वास्तविक कथाव्यथा उजागर गर्नु आफ्नो दायित्व ठानेर कथाहरू सिर्जना गरेको देखिन्छ।
कथाकार यी कथाहरूमार्फत विदेशी भूमिमा पसिना बगाइरहेका नेपाली श्रमिकका दु:खदर्दप्रति सरकारी, गैरसरकारी निकायका सम्बन्धित पक्षहरूको ध्यान आकृष्ट गराउन चाहन्छन्। यी कथाहरूको गहन अध्ययन गर्ने हो भने नीति निर्माताहरूले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका विविध प्रभावहरूबारे सहज रूपमा बोध गर्न सक्नेछन् र सोहीबमोजिम नेपाली श्रमिकको हितमा नीति निर्माण, निर्णय र कार्यान्वन गर्न मार्ग निर्देशन प्राप्त गर्न सक्दछन् भन्दा अतिशयोक्ति नहोला।
विगत केही समयदेखि युरोप, अमेरिका, अस्ट्रेलिया आदि देशमा नेपालीको आप्रवासन संख्या बढने क्रम रोकिनुको सट्टा बढेको देखिन्छ। विकसित देशहरूमा अध्ययन तालिममा गएका नेपालीहरू स्थायी रूपमा त्यतै बसोबास गर्ने प्रवृत्ति बढ्दै छ।
आप्रवासनले नेपाल व्यापक रूपमा प्रतिभा पलायनको चपेटामा पर्दै गएको छ। यसले गर्दा देशमा सक्षम जनशक्तिको अभाव हुनु अस्वाभाविक होइन। नेपालमा सामाजिक-आर्थिक रूपमा समेत बलियो स्थितिमा रहेका कतिपय शिक्षित युवाहरूको समेत विदेश गमन हुने प्रवृत्तिले देशको समग्र सामाजिक आर्थिक परिस्थितिमा असर पारेको छ।
आफू अमेरिकामा कार्यरत रहँदा वा छोटो भ्रमणमा ती देशहरूमा पुग्दा पाएको अनुभवका आधारमा ती देशहरूमा आप्रवासी नेपालीले भोगिरहेका विविध कठिनाइ र समस्याबारे कथाहरूमार्फत सचेत पार्न लेखकले खोजेको अनुभूति हुन्छ। युरोप अमेरिका आदिको सपनाको संसार त्यति रंगीन छैन जति सोचिएको छ भन्ने यथार्थ बोध गराउँदै कथाकारले वास्तविक स्थितिको चित्रण गर्न सफल भएको मान्नुपर्दछ।
कथाहरूमा नारी पात्रलाई सशक्त रूपमा पेस गर्न पनि लेखक सफल छन्। उनका कथाका नारी पात्रहरू विद्रोही छन्, निडर छन् र आफ्नो बाटो आफैँ बनाउन सक्षम छन्। यस अर्थमा लेखकले आफ्ना कथामार्फत नारी महत्ता स्थापित गर्न उनीहरूको मनोविज्ञानको सूक्ष्म रूपमा विश्लेषण गर्न सफल भएका छन्।
समयको पदचाप सुनेका परिवर्तनसँगै हिँड्न सक्ने जुझारु नारी पात्रहरूको जीवनको उहापोह, संघर्ष र सफलताको पक्षलाई कथाहरूले अंगीकार गरेका छन्। यो कथाकार पौडेलको सबल पक्ष हो।
विदेशमा वस्तुका रूपमा बेचिएका चेलीहरूको कथालाई उजागर गर्नु सायद आफ्नो परम कर्तव्य ठान्दछन् कथाकार। त्यसैले उनीहरूको पीडा, संघर्ष र शोषणको चित्र नेपाली नीति निर्माता र आममान्छेले पनि बुझ्नु जरुरी छ भन्ने उनको आग्रह र आसय सहजै बुझ्न सकिन्छ।
विदेशको रंगीन संसारको कल्पना, विदेशमा ‘मजासित हुने कमाइ’ र ‘नेपालमा भविष्य छैन’ भन्ने जस्ता भाष्यमा फसाउने बिचौलियाको मोह जालमा फसेर विदेश पुगेका कलिला किशोरी/युवतीहरूको दुर्दशा र दयनीय अवस्थाको चित्रण भएका कथाहरूले नीति निर्माताको तहमा बसेका वर्गहरूको अलिकति मात्र आँखा खुलाउन सक्यो भने पनि यी कथा सफल भएको मान्नुपर्दछ।
सारांशमा भन्ने हो भने नेपालको कूटनीतिक सेवामा ३६/३७ वर्ष कार्यरत रहेर धेरै समय विदेशमा व्यतीत हुँदा रोजगारी, अध्ययन र आप्रवासनका निमित्त गएका नेपालीको दैनिकीलाई मिहीन ढंगबाट अध्ययन गर्ने, उनीहरूसँग अन्तरक्रिया गर्ने र उनीहरूको दु:खसुखमा साथमा उभिने अवसर पाएका कथाकार पौडेलले नेपालीले आफ्नो अस्तित्व रक्षार्थ गरेका संघर्षमात्र देखेनन्, उनीहरूले देखेको सपना र यथार्थबीचको फरक पनि अनुभव गर्न पाए।
फलस्वरूप यो कथा संग्रहका कथाहरू विदेशमा नेपाल र नेपालीको वास्तविकतासँग साक्षात्कार गराउने परिदृश्यहरू मात्र नभएर आमपाठकलाई यथार्थसंग सादृश्य गराउन पनि त्यत्तिकै सफल लाग्दछन्। यो पुस्तक वैदेशिक रोजगार सम्बद्ध निकाय र नेतृत्व तथा आप्रवासनका निमित्त युरोप अमेरिकालगायतका देशहरूमा जान चाहने प्रत्येक नेपाली तथा कूटनीतिक कर्ममा खटिएर जाने अधिकारीहरूले पनि एक पटक अनिवार्य रूपमा पढ्नैपर्ने कृति बनेको छ।
कूटनीतिक कर्म गर्दागर्दै भोगिएका विविध स्थिति र परिस्थितिलाई कथात्मक ढंगमा अनुभवको गहन मिश्रण साथ लेखिएका यो पुस्तकमा समाविष्ट कथाहरू कुनै कूटनीतिक अनुभवको संगालो भन्दा कम महत्त्वको छैन भन्ने मेरो निष्कर्ष छ।
[कूटनीति र साहित्य लेखनमा रुचि भएका खनाल जर्मनीका लागि नेपालका पूर्वराजदूत हुन्।]