 
                             
                                            पोखरा- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी कसूरमा थप एक जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले गुल्मीको मुसिकोट नगरपालिका-४ स्थायी घर भई हाल ललितपुर-१५, खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई असोज १४ मा पोखराको गैह्रापाटनबाट पक्राउ गरेको हो।
पछाईले सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना एवं अपचलन गरी गितेन्द्रबाबु राईसँग मिलेमतो गरी ३ करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको पाइएको छ। उनलाई कास्की जिल्ला अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सोही सहकारीको रकम अपचलन मुद्दामा हालै पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीमाथि अनुसन्धान भइरहेको छ। गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक/सेयर होल्डर तथा सञ्चालकसमेत रहेका पूर्व डीआईजी जोशीको जिल्ला सरकारी वकिल कार्यालयसमक्ष जिल्ला प्रहरी कार्यालय कास्कीले बयान लिइसकेको छ। उनलाई पहिले पाँच दिन हिरातमा राखिएकोमा गत असोज ११ मा थप सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 