सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

हिमाल प्रेस १५ कार्तिक २०८१ ८:३४ | Thursday, October 31, 2024
सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

पाल्पा- गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुन्।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ। बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिएको उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन्।

उनको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन्। उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेको छ। उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका छन्।

वार्षिक रूपमा छ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन्। बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए। ‘बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ’, उनले भने।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले जनाए। उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन्। टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले सुनाए।

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि आठ लाख रुपैयाँ रकम ब्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन्। सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्न उत्साहित हुन्।

प्रकाशित: १५ कार्तिक २०८१ ८:३४ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast