सरकार ढल्छ भन्ने सपना नहेर्न विपक्षीलाई नेता कोइरालाको सुझाव

हिमाल प्रेस ३ कार्तिक २०८१ २०:३८ | Saturday, October 19, 2024
सरकार ढल्छ भन्ने सपना नहेर्न विपक्षीलाई नेता कोइरालाको सुझाव कांग्रेस नेता डा.शेखर काेइराला। फाइल तस्बिर

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताएका छन्। उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे।

आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भने, ‘यो सरकार ढल्दैन, चल्छ, यद्यपी मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ। जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ।’

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे। उनले भने, ‘यो सरकार बनेको धेरै भएको छैन।’

सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले भने।

नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनबाट अधिवेशनले प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ २०:३८ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast