लुक्लामा दुई दिनदेखि उडान ठप्प

हिमाल प्रेस २९ असोज २०८१ २०:३३ | Tuesday, October 15, 2024
लुक्लामा दुई दिनदेखि उडान ठप्प फाइल तस्बिर

सोलुखुम्बु– प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ। मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।

कार्यालयका ‘एटिसी अफिसर’ विवस दाहालका अनुसार आइतबार ९० वटा उडानमार्फत करिब आठ सय पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन।

निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटक समस्यामा परेका छन्। ‘रामेछापको मन्थलीमा पनि लुक्ला आउने पर्यटकहरू रोकिएका छन्, कतिपय काठमाडौँमा पनि रोकिएको खबर छ। मौसम प्रतिकूल हुनसाथ उडान प्रभावित हुँदा पर्यटक रोकिएका हुन्,’ उनले भने।

उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टर लुक्लाभन्दा केही तल सुर्केमा अवतरण भइरहेको बताइएको छ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले लुक्ला जान मन्थली पुगेका करिब एक हजार तीन सय जना विदेशी पर्यटक दुई दिनदेखि सोही स्थानमा रोकिएको जानकारी दिए।

उडान प्रभावित हुँदा रोकिएका पर्यटक सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि र केही भने हेलिकप्टरमार्फत सुर्के गइरहेको उनले बताए।

मन्थली विमानस्थलमा पर्यटकीययाममा दैनिक ५५ देखि ६० उडान हुने गरेको प्राधिकरणले जनाएको छ। शरद ऋतुमा सगरमाथा आधार शिविर पदयात्राका लागि पर्यटकले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थल हुँदै त्यहाँ जाने गरेका छन्।

प्रकाशित: २९ असोज २०८१ २०:३३ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast