 
                            
                                            काठमाडौँ– मलेसिया नेपाली कामदारको रोजगार गन्तव्य देश हो। सरकारी आँकडानुसार त्यहाँ साढे पाँच लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत छन्। रेमिट्यान्स भित्रिने पाँचौँ देशभित्र मलेसिया पर्छ।
त्यति धेरै नेपाली कामदार रहेको मलेसियामा अवैधरूपमा बसोबास गर्नेको संख्या एक लाखभन्दा धेरै रहेको श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।
मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरु पनि मलेसियामा एक लाखभन्दा बढी नेपाली कामदार अवैधरूपमा रोजगारदाता कम्पनीको शरण लिएर काम गर्दै बसेको बताउँछन्।
पछिल्लो समय नेपाली कामदारबीच विवाद हुँदा हत्याका घटना बढेपछि दुवै देशका सरकारका लागि टाउको दुखाइको विषय बनेको छ। मदिरा सेवन गरी विवाद गर्ने र अन्त्यमा हत्यासम्म हुन थालेपछि समस्या उत्पन्न भएको मन्त्रालयका अधिकारीहरु बताउँछन्।
गत साता मलेसियाको सेलांगर राज्यको पुचुङमा सिरहाका रुपेश यादवको हत्या भयो। यादव मलेसियाको सुपरमार्केटमा कार्यरत थिए। पोखराका मिलन गुरुङले चक्कु प्रहार गरी उनको हत्या गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
आर्थिक लेनदेनका विषयमा मदिरा सेवन गरी झगडामा उत्रिँदा गुरुङले चक्कु प्रहार गरी यादवको हत्या गरेको मलेसिया सरकारले दूतावासलाई जानकारी गराएको थियो।
गुरुङविरुद्ध स्थानीय प्रहरीले मलेसियन पेनल कोडको दफा ३०२ अन्तर्गत ज्यान मारेको अभियोगमा थप अनुसन्धान गरिरहेको छ। मलेसियामा नेपालीले नेपालीको हत्या गरेको यो नयाँ घटना भने होइन। विगत केही वर्षयता हत्याका घटना भइरहेका छन्।
मलेसियाको केलाङमा २०७७ साल कात्तिकमा आइतमाया मगर (आरती मगर) को हत्या भयो। नेपालीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टमा काम गर्ने युवतीलाई धनकुटाका गणेशबहादुर कार्कीले हत्या गरेका थिए।
हत्यापछि कार्की मलेसियामै लुकेर बसेका छन्। अहिलेसम्म उनलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। आरतीको घर दार्जिलिङ भए पनि उनी नेपाली राहदानी बनाएर मलेसिया पुगेकी थिइन्। उनका बारेमा अनुसन्धान गर्न समस्या भएको नेपाली दूतावासले जनाएको छ।
२०७९ मंसिरमा ठाकुरप्रसाद भण्डारीले सुरक्षा गार्डमा कार्यरत दुई नेपालीको हत्या गरेका थिए। मारिनेमा २०७९ साल सिरहाका ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियार थिए। भण्डारी अवैध रुपमा बसेका नेपाली कामदार हुन्। भण्डारी मलेसियामा अवैध रुपमा बसेका कारण उनको नेपालको पहिचान नखुलेको त्यति बेला मलेसियास्थित नेपाली दूतावासले जनाएको थियो। भण्डारी मलेसियाको जेलमा छन्।
२०८० मंसिर ३० गते मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर फरार भएका महोत्तरीका २४ वर्षीय अनिल शाह त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले पक्राउ ग¥यो। उनले आफनै कम्पनीमा कार्यरत झापाका धनबहादुर प्रधानको हत्या गरेका थिए।
शाह जेलमा छन्। प्रधानसँग आर्थिक लेनदेन, मदिरा सेवन र महिलाका विषयमा विवाद हुँदा शाहले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।
गत फागुनमा मलेसियाको जलान इपो लेबस सिटीस्थित एक कम्पनीमा कार्यरत बर्दिया सूर्यपटुवा ओराली बजारका रोशन थापाको हत्या भएको थियो। उनको पनि एउटै कम्पनीमा कार्यरत सोनाम मगरले घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका थिए।
दुवै जना गैरकानुनी रुपमा मलेसियामा बसेर काम गर्दै आएका थिए। उनीहरुबीच सोही कम्पनीमा कार्यरत एकजना भारतीय महिलाका विषयमा विवाद भएको थियो।
मुलुकी अपराध संहिता २०७४ मा बहुक्षेत्रीय प्रयोगको व्यवस्था छ जसमा नेपालबाहिर नेपाली वा कसैले नेपालीलाई तोकिएको कुनै अपराध गरेमा नेपालभित्रै त्यस्तो कसुर गरेसरह मानेर जेल सजायको व्यवस्था छ।
मलेसियामा नेपालीहरुबीच समस्या रहेको मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव खिमानन्द भुसालले बताए। उनका अनुसार नेपाली–नेपालीबीच झगडा हुँदा मलेसियामा कार्यरत केही नेपालीले ज्यान समेत गुमाएका छन्।
रोजगारीका लागि आएका कतिपय नेपाली कामदार मदिरा सेवन गरी झगडामा उत्रिँदा ज्यान जानेसम्मको घटना भइरहेको उनले बताए। ‘दूतावासले मलेसियामा कार्यरत कामदारलाई सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। घुम्ती सेवामार्फत नेपालीका समस्या समाधानका लागि पहल भइरहेको छ’, उनले भने।
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीले नेपाली ज्यान लिएको दूतावाससँग यकिन तथ्यांक छैन। सात वर्ष अवधिमा २० जनाभन्दा बढीले यही घटनाका कारण ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा छ।
बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगारीको डरलाग्दो पाटो भएको बताए। ‘मदिरा सेवन नियन्त्रण गर्न सकिँदैन। मलेसियामा अवैधरूपमा बसेका नेपाली कामदार सबैभन्दा धेरै मदिरा सेवनकै कारण कानुनी समस्यामा परेको पाइन्छ,’ उनले भने।
गत मार्चदेखि मलेसियाको रोजगारी बन्द छ। जसका कारण मलेसिया जाने कामदारको संख्या घटेको छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 