 
                             
                                            पोखरा– नेपाल समाजवादी पार्टी (नेसपा) संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहन नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन्।
पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको ‘समृद्धिको आधार : बाटो र विकास’ विषयक अन्तर संवादमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भ्रष्टाचार नियन्त्रण गर्न भारतकोजस्तै ‘जनलोकपाल विधेयक’ निर्माणसहित राज्यसत्ताको दोहन गर्ने आसेपासे पुँजीवादको अन्त्य हुनुपर्ने पनि बताए।
देशलाई आर्थिक रुपले समुन्नत बनाउन राजनीतिमा शुद्धीकरण र जनतामा चेतनास्तर बढ्नुपर्ने तर्क गर्दै उनले भने, ‘देशमा केही भएन भनेर हामी गनगन गरिरहेका छौँ। जनताको चेतनास्तर बढेन भने भगवान् आउनुभयो भन्यो त्यसकै पछि लाग्यो। यो भएन अर्को आयो भनेर पछि लाग्ने काम भइरहन्छ। हाम्रो चेतनास्तर अफ्रिकाको भन्दा पनि कम छ, यो प्रवृत्तिबाट मुक्तिका निम्ति जनताको चेतनास्तर बढाउनुप¥यो।’
आर्थिक समृद्धिका लागि बाटो, उद्योग र व्यापार आवश्यक रहेको बताउँदै उनले परनिर्भरता, व्यापार घाटा, ऋणको दुश्चक्र, असमान विनिमय र श्रम निर्यात, विप्रेषण आश्रित अर्थतन्त्र पनि नेपाली आर्थिक क्षेत्रका समस्या भएको बताए। बढ्दो क्षेत्रीय असमानता, गाउँ र सहरबीचको बढ्दो दूरी, निर्वाहमुखी कृषिको तीव्र बिघटन पनि नेपाली अर्थतन्त्रले नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो।
उनले आर्थिक क्रान्तिका लागि संरचनागत परिवर्तन जरुरी भएको तर्क गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद्, राष्ट्रिय विकास प्राधिकरण, विकासमुखी न्यायालय, कार्यगत इकाइमा आधारित कर्मचारीतन्त्र, लगानीमैत्री कानून निर्माणको पैरवी पनि गरे।
कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘भारत र चीनको मूल्य शृङ्खलासँग प्रतिस्पर्धा गर्नसक्ने मूल्य शृङ्खला निर्माण, सबै देशसँग बिप्पा सम्झौता, भूमिमाथि राज्य र समुदायको स्वामित्व पनि हाम्रो लागि आवश्यक छ। छाया अर्थतन्त्रको अन्त्य, अन्तर्राष्ट्रियस्तरका शैक्षिक केन्द्रको स्थापना, वित्तीय पुँजीलाई औद्योगिक पुँजीसँग जोड्ने नीति, साना तथा मझौला उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था पनि हुनैपर्छ।’
गैरआवासीय नेपाली र ब्रिटिस गोर्खाका तीन पुस्तासम्मका सन्तानलाई दोहोरो नागरिकता दिनुपर्ने र उनीहरुले आर्जन गरेको पुँजी देशमै राख्नुपर्ने पनि उनको भनाइ थियो। उनले सवल अर्थतन्त्रका लागि राष्ट्रिय गौरवका आयोजना छिटो निर्माण गरिनुपर्ने, कृषि पूर्वाधारमा लगानी र अनुदानमा वृद्धि गरिनुपर्ने पनि बताए।
नेपालको अर्थतन्त्र अहिले पनि कृषिमै आश्रित रहेकाले यान्त्रिकीकरण, बजार व्यवस्थापन तथा जैविक खेतीलाई प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो। बहुपक्षीय पर्यटनको प्रवद्र्धन, युवालाई निःशुल्क प्राविधिक तालिमको पैरवी गर्दै उनले निर्यातमूलक क्षेत्रमा बाह्य लगानी आकर्षित गर्नेखालका नीति बनाउनुपर्ने पनि बताए।
गण्डकी प्रदेशको आर्थिक सम्भाव्यताबारे लामो व्याख्या गर्दै उनले प्राकृतिक रुपले पनि गण्डकीको केन्द्र रहेको पोखरालाई पूर्वी एसिया र दक्षिण एसियाको सेतु बनाउनुपर्ने धारणा राखे। ‘नेपाललाई ३ वर्षभित्र विकाशील मुलुकमा, १० वर्षभित्र मध्यम आय भएको र २० वर्षमा पहिलो विश्वको अवस्थामा पु¥याउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि सर्पजस्तो घस्रने हैन, भ्यागुताजस्तो उफ्रने छलाङमय आर्थिक नीति निर्माण गरिनुपर्छ।’
संघीयताको सफल कार्यान्वयन र हिमाल, पहाड, तराइ÷मधेशका सबै जातिबीच सद्भाव र एकता, विधिको शासन र बलियो शान्तिसुरक्षा, देशलाई पूर्वी र पश्चिमा सभ्यताको केन्द्र बनाउनुपर्ने तथा नेपाललाई ज्ञानको, शान्तिको र हरित विकासको केन्द्रको रुपमा विकास गर्नुपर्ने उनले बताए।
कार्यपत्रमाथि टिप्पणी गर्दै गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले वित्तीय संघीयता कार्यान्वयनमा नआउँदा प्रदेशहरु बलियो हुन नसकेको धारणा राखे। उनले प्रदेशले निर्माण गरेको दोस्रो पञ्चवर्षीय योजनाले केही महत्वपूर्ण परियोजनाहरु निर्माणको लक्ष्य लिएको बताउँदै ती काम गर्न सके प्रदेश विकासले गति लिने धारणा राखे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको कर्मचारीतन्त्र पुरानै ढर्रामा चल्दा व्यवसायमैत्री कानून नबन्दा देशले सोचेजस्तो आर्थिक फड्को मार्न नसकेको बताए। जग्गा प्राप्तिजस्ता विषय जटिल हुँदा, मुआब्जा विवादले काम रोकिँदा लक्ष्यअनुसारको विकास प्राप्त नभएको पनि उनको जिकिर थियो।
मध्यपहाडी राजमार्गको कास्की खण्डमा ८ किमी सडकको ट्रयाक खोल्न सास्ती भएको सुनाउँदै उनले भने, ‘करिब ६ महिना भयो,समस्या सल्टिदैन। यो विषयमा पैरवी गर्ने समूह पनि भएनन्।’
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले १७ सय ६५ किमी लामो राष्ट्रिय गौरवको परियोजना मध्यपहाडी लोकमार्ग समयमै सम्पन्न नहुँदा, राजमार्गसँगै निर्माण गर्ने भनिएका स्याटेलाइट सिटीको काम अगाडि नबढ्दा बसाइँसराइ रोक्न नसकिएको तर्क गरे।
संघ महासचिव शोभा गौतमका अनुसार आर्थिक समृद्धिका लागि निजी क्षेत्रले पहलकदमी लिने सिलसिलामा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, अगुवा महिला उद्यमीहरु रामकली खड्का, सीता गुरुङ, पोखरा ३ का निवर्तमान अध्यक्ष रवीन्द्रबहादुर प्रजु, व्यवसायी यमनाथ अर्याल, अरुणोत्तम त्रिपाठीलगायतले बोलेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 