 
                             
                                            काठमाडौँ- सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।’
मन्त्रालयका अनुसार अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध ३४ वटा राजमार्गमध्ये २९ वटा संचालनमा ल्याइएको छ। त्यस्तै ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७७४ स्थानको पहिरो हटाइएको जनाएको हो।
‘अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात संचालन गर्न अनवरत प्रयास जारी छ’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ। अरनिको राजमार्ग, बीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्णरुपमा बन्द छन्।
यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी यातायात संचालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको भन्दै मन्त्री देवेन्द्र दाहालले प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 