बर्नमाउथसँग आर्सनल स्तब्ध, युनाइटेड र टोटनहमको जित

हिमाल प्रेस ४ कार्तिक २०८१ ९:०९ | Sunday, October 20, 2024
बर्नमाउथसँग आर्सनल स्तब्ध, युनाइटेड र टोटनहमको जित

काठमाडौँ- प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ। बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २–० ले पराजित गरेको हो।

बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे। राएन क्रिस्टिइले अर्को गोल गरे। खेलको ३० औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो। भिएआरको सहयोगमा सालिबालाई रातो कार्ड देखाइएको थियो।

त्यसको फाइदा उठाउदै बर्नमाउथले दोस्रो हाफमा दुई गोल गरेको हो। खेलको ७०औं मिनेटमा राएन क्रिस्टिइले क्लुइभर्टको पासमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। क्लुइऐर्टले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारेका थिए।

हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। ८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४-१ ले हरायो।

एस्टन भिल्लाले फुलहमलाई ३-१ ले, एभरटनले इप्स्विच टाउनलाई २-० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३-२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १-० ले हरायो ।

प्रकाशित: ४ कार्तिक २०८१ ९:०९ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast