फोक्सिङटार पुलको निरीक्षण : बाँकी रहेको भाग सुरक्षित

हिमाल प्रेस ३ कार्तिक २०८१ ११:२८ | Saturday, October 19, 2024
फोक्सिङटार पुलको निरीक्षण : बाँकी रहेको भाग सुरक्षित

खोटाङ- सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन्।

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो। नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा प्रमुख ललिजन खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा राजन सुवाल र डा भरत मण्डलसहितको टोली फोक्सिङटार पुगेका थिए।

नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको निष्कर्ष निकालेको छ। बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटर लम्बाइको बेलिबृज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि एक सय २० मिटरको बेलिबृज हालेर यातायात सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिए।

सडक विभागले ८० मिटर बढी लम्बाइको बेलिबृज भारत सरकारसँग माग गरेको र आउने बित्तिकै जडान गरिने महाशाखा प्रमुख खनालले बताए। बाढीले फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले फोक्सिङटार पुल बगाएपछि जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गेपुलको मर्मत सम्बन्धित स्थानीय तहले तीव्रता दिएका छन्।

गत असोज ३० गते प्रतिनिधिसभा सदस्य रामकुमार राई नेतृत्वको जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचना तत्काल पुनः निर्माणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

बाढीपहिरोले अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन्। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने, पहिरो पन्छाएर सञ्चालन गरिएको छ। रासस

प्रकाशित: ३ कार्तिक २०८१ ११:२८ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast