प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिएको छ : प्रधानन्यायाधीश राउत

हिमाल प्रेस ११ कार्तिक २०८१ १६:३९ | Sunday, October 27, 2024
प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आइतबार आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय’ विषयक कार्यशालामा प्रधानन्यायाधीश राउतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे।

उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याए।

न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताए।

संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै उनले यहाँ आयोजित कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धानका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरुको ध्यानाकर्षण गराए। कुनै पनि अपराधको अनुसन्धानमा बयानले मात्रै नपुग्नेमा जोड दिँदै उनले वस्तुनिष्ठ तथ्य, फिङ्गर प्रिन्ट वा त्यस्तै प्रमाण जरुरी हुने बताए।

लागुऔषधका आरोपीमाथिको अनुसन्धानको उदाहरण दिँदै उनले त्यस्ता व्यक्तिको अनुसन्धानका लागि शरीरमा लागुऔषधको तत्व देखिएको प्रमाण आवश्यक हुनेतर्फ अनुसन्धान अधिकारीको ध्यानाकर्षण गराए।

गृहसचिव गोकर्णमणि दुवाडीले कार्यशालाले फौजदारी न्यायप्रणाली सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको बताए। उनले राज्यका निकायप्रति नागरिकको विश्वास जगाउनु चुनौती खडा हुँदै गएको बताउँदै प्रविधिको विकाससँगै अपराधमा पनि नयाँ शैलीको प्रयोग हुन थालेकाले अनुसन्धानलाई थप प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुरको वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणले स्वच्छ र निष्पक्ष न्याय प्रथान गर्ने बताउँदै सफल अनुसन्धानले नेपाल प्रहरीको साख र गरिमा बढाउने उल्लेख गरे। उनले प्रमाणमुखी अनुसन्धानलाई प्रहरीले जोड दिएको पनि बताए।

अझै पनि परम्परागत अपराधको बाहुल्यता रहेको जानकारी गराउँदै प्रहरी महानिरीक्षक कुँवरले परम्परागत अपराध अनुसन्धानका साथै आधुनिक अनुसन्धान प्रणालीलाई पनि सँगसँगै लगिएको उल्लेख गरे।

प्रकाशित: ११ कार्तिक २०८१ १६:३९ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast