 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- दसैँका काठमाडौँ छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोंगबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ। दसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।
घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ। नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको संख्या पनि थपेका छौँ।’
यात्रुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए। यसैगरी दसैँ मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ।
काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौँ छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ।
दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने र घर जानेको संख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौँ–धनगढी रुटका बस चालक रमित ओलीले बताए। उनले भने, ‘वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन्। यात्रुका कारण निकै चहलपहल बढेको छ।’
दसैँका लागि यही असोज २३ गते सम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रुपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौँबाट दसैँका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताए। उनले भने, ‘टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन्,हामीले टिकट पाउन सकेका छैनौँ। कसरी घर जाने बाटोको अवस्था यस्तो छ। दुःख पाइने भयो।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 