थारु बस्तीमा ‘सखिया नाच’को रौनक

हिमाल प्रेस २७ असोज २०८१ १६:०५ | Sunday, October 13, 2024
थारु बस्तीमा ‘सखिया नाच’को रौनक फाइल तस्बिर

बाँके– बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ। दसैँअघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो।

दसैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ। गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन्।

थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने टिटिहिरीयाका थारु अगुवा केवलसिंह थारुले बताए। दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैँभरी नाचिने उनले बताए।

उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन्। जति धेरै मादल बज्यो त्यति रौनक आउँछ। १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन्।

सखिया नाचमा विशेषतः थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए।

उनका अनुसार थारु पहिरनमा सजिएर नाच्ने युवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन।

प्रकाशित: २७ असोज २०८१ १६:०५ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast