तीन हजार एक सय ७५ गुम्बालाई मान्यता

हिमाल प्रेस १३ कार्तिक २०८१ १९:३२ | Tuesday, October 29, 2024
तीन हजार एक सय ७५ गुम्बालाई मान्यता फाइल तस्बिर।

काठमाडौँ- बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एक सय ७५ गुम्बालाई मान्यता दिएको छ। देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी एक सय पाँच गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो।

लामा धर्म गुरुको बौद्ध दर्शनसम्बन्धी अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दोङले जानकारी दिए। उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरूको संरक्षण, सम्वर्द्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना २०७१ समेत तयार गरी त्यसका आधारमा भौतिकरूपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ।

समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्द्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तीनको व्यवस्थित सञ्चालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ।

बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको सम्वर्द्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण सम्वर्द्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानवहितका लागि उपयोग गर्ने नीति समितिले लिएको छ।

बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्म निर्भर बनाउनका लागि विभिन्न प्रकारका सीपमूलक तालिम पनि यस समितिले सञ्चालन गरेको जनाएको छ।

समितिको तथ्यांक अनुसार भूकम्पबाट देशभरका एक हजार तीन सय १८ गुम्बा क्षतिग्रस्त भएका छन्। जसमध्ये एक हजार एक सय ३१ गुम्बा अनुदानको व्यवस्था गरिएको थियो।

भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको संरक्षण, जीर्णाेद्धार तथा पुनः निर्माणसम्बन्धी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वयमा समितिले क्षतिग्रस्त करिब एक हजार एक सय गुम्बा तथा बिहार पुनःनिर्माण गरेको जनाएको छ।

एक सय वर्ष पुगेका सम्पदा पुनःनिर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनःनिर्माण गर्ने प्रावधान छ।

समितिको तथ्यांकअनुसार अनुदान पाउने गुम्बाको सूचीमा सबैभन्दा बढी सिन्धुपाल्चोकका एक सय ५४ वटा थिए। त्यस्तै गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुंगाका १७, सिन्धुलीका ३९, चितवनका ३९, नवलपरासीका ९, कास्कीका ५, बाग्लुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बुका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौँका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा/बिहार अनुदानको सूचीमा राखिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८१ १९:३२ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast